logo
२०८० चैत्र १६ शुक्रवार



सर्वोच्चमा बिहीबार पनि सुनुवाइ प्रभावित

मुख्य समाचार |


सर्वोच्चमा बिहीबार पनि सुनुवाइ प्रभावित



काठमाडौं, मङ्सिर १६ गते । सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ प्रभावित भएको छ । कानुन व्यवसायीले कायम मुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठाएपछि सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित भएको हो । बुधबारबाट सर्वोच्चमा गोला प्रथाबाट मुद्दाको पेशी तोकिएको थियो । तर, कायममुकायम प्रधानन्यायाधीश कसलाई दिइएको छ भन्ने प्रश्न उठेपछि बुधबारको इजलास पनि प्रभावित भएको थियो ।

यही विषयबारे बिहीबार पनि न्यायाधीशहरुबीच छलफल भएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो । उहाँले अब केही बेरमा इजलास बस्ने समेत जानकारी दिनुभयो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना हुनुभएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशको काम गर्न नसकेको अवस्थामा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधनिक व्यवस्था रहेको भन्दै प्रश्न उठाएपछि बुधबार र बिहीबारको इजलास गठन नै प्रभावित बनेको छ ।

बुधबार इजलास गठन भएको केही घण्टामा नै बारका पदाधिकारीहरुले प्रश्न उठाएपछि कुनै पनि इजलासमा मुद्दाको सुनुवाइ हुन सकेन । बिहीबार कानुन व्यवसायीहरुसँगको छलफलका कारण सर्वोच्चमा मध्याह्नसम्म पेशी सूची प्रकाशित भएको थिएन । यद्यपि, साढे १ बजे इजलास गठन भएको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । उहाँले एक एकल, दुई पूर्ण र सात संयुक्त इजलास गठन भएको जानकारी दिनुभयो । शनिबारबाहेक हरेक दिन सर्वोच्चमा १० देखि ११ बजेभित्र मुद्दाको पेशी तोक्ने गरिन्छ । तर, बिहीबार १ बजेसम्म पनि मुद्दाको पेशी प्रकाशित भएको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?