logo
२०८० चैत्र १६ शुक्रवार



कोसीपीडित ६० वर्षदेखि मुआब्जा माग्दै

कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार नेपाली किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन्

मुख्य समाचार |


कोसीपीडित ६० वर्षदेखि मुआब्जा माग्दै


ललिता साह

बोदेबर्साइन (सप्तरी), मङ्सिर १६ गते । बाउन्न वर्षअघि कोसी नदीले नेपालको सप्तरी, सुनसरी र उदयपुरका २५ हजार बढी किसानको ७० हजार बिघा जग्गा कटान गरेको थियो । नेपाल र भारतको अध्ययन तथ्याङ्कले समेत यही प्रतिवेदन दिएको छ ।
गत कात्तिकको बाढीले सप्तरीको मात्रै आठ हजार २६८ हेक्टरमा लगाइएको आठ करोड २६ लाख ८५ हजार मूल्य बराबरको धानबाली नष्ट गरेको तथ्याङ्क सप्तरी जिल्ला प्रशासन दैवी प्रकोप समितिको छ ।

कोसी बाँध निर्माणपछि हजारौँ नेपाली किसानका खेत बगरमा परिणत भएका छन् । कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार नेपाली किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । २०११ सालमा नेपाल–भारतबीच कोसी बाँध निर्माणसम्बन्धी सम्झौता भएको थियो । कोसी बाँध सम्झौतामा उल्लेख भएअनुसार कोसी बाढीपीडित किसानले वर्षौंदेखि नेपाल र भारत सरकारसँग क्षतिपूर्तिको माग गर्दै आएका छन् तर न राहत न क्षतिपूर्तिको अवस्थामा रहेका किसानले सङ्घर्षसमेत चलाउँदै आएका छन् ।
नापी कार्यालय सप्तरीका अनुसार, पटक पटक गरी सप्तरीको गोबरगाढा, योगिनिया, कमलपुर, भारदह, तिलाठीलगायत दुई दर्जन गाउँका दुई हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन कटान भएको छ ।

नापी प्रमुख शत्रुघन यादवका अनुसार, २०२८ सालकै नाप नक्साबाट ती किसानले पाएको जग्गाको लालपुर्जा छ तर जग्गा छैन । यसरी दशकौँदेखि सप्तरी, सुनसरी र उदयपुरको किसानको हजारौँ बिघा जग्गाको बीचबाट सप्तकोसी बगिरहेको छ । यी सबै बाढी र क्षति कोसी बाँधका ढोका भारतीय पक्षले समयमा नखोलिएका कारण भएका हुन् ।

कोसीपीडित सङ्घर्ष समितिका संयोजक महिदेव चौधरीको तीन हजार बिघा जमिन, नौलखा बगैँचा, भव्य दरबार कोसी बाढीले नै बगायो । २२ गाउँको लिल्जा बस्ती बगाउँदा तीन हजार घर परिवार सुकुम्बासी भए ।
कोसीको डरलाग्दो वितण्डा सम्झँदै संयोजक चौधरीले भन्नुभयो, “त्यतिबेलाको लिल्जा बस्ती अहिलेको हनुमानगर कङ्कालिनी हो ।

त्यो तीन हजार घरपरिवारको विशाल बस्ती नै उठीबास भएर २००८ सालतिरै राजविराजको ८० प्रतिशत मानिसले बसोबास सारेका हुन् ।”
सप्तरी महदेवा गाउँपालिका–४ का ७० वर्षीय महेन्द्र नारायण साहले ३८ वर्षअघिको कोसी बाढी सम्झनुभयो, बाढीले सात बिघा जमिन बगर बनायो । ढिलै भए पनि सरकारले क्षतिपूर्ति दिन्छ म मरेर गए पनि कागजपत्र राख्नु भनेर बुबाले भन्नुभएको थियो ।”

कोसीपीडित किसान झिनो आस बोकेर वर्षांैदेखि क्षतिपूर्ति माग गर्दै नेपाल र भारत सरकार गुहारिरहेका छन् । राजविराज नगरपालिकाका कासिम अन्सारीले भन्नुभयो, “वर्षौंदेखि दुवै देशको सरकारी कार्यालय धाइसक्यौँ । आश्वासन मात्र पाइन्छ, क्षतिपूर्ति अझसम्म पाइएन । ”

कोसीपीडित सङ्घर्ष समितिले पछिल्लो पटक कात्तिक २ गते पीडित किसानको मुआब्जा उपलब्ध गराइदिन नेपाल सरकारलाई पत्र पठाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत मुआब्जाको माग राख्दै पत्र पठाइएको संयोजक चौधरीले जानकारी दिनुभयो ।
नेपाल र भारत सरकारको मूल्याङ्कन प्राविधिक टोलीले २०६६ सालतिर प्रत्येक वर्ष प्रतिबिघाको एक लाख पाँच हजार रुपियाँ मुआब्जा मूल्याङ्कन गरेको थियो ।

भारत सरकारको जल संसाधन मन्त्रालयले त्यही मूूल्याङ्कनको आधारमा सात हजार पाँच सय बिघा जमिनको करिब ५० करोड रुपियाँ निकासा नेपाल सरकारलाई पठाउने बिलसहितको निर्देशनसमेत विहार सरकारको मन्त्रीलाई दिइसकेको थियो तर त्यहीबेला स्थानीय राजनीतिक दलका नेताहरूले छुट जग्गाको विषय उठाएपछि पीडित किसानलाई पुनः छुट फारम भर्न लगाइएको थियो ।

किसानका ४८ हजार बिघा जग्गा थप प्रमाणीकरण भए पनि त्यसपछि कुनै प्रक्रिया अगाडि नबढेको कोसीपीडित समाजका अध्यक्ष देवनारायण यादवले बताउनुभयो । सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढा बस्तीको शनिबार अवलोकन गर्नुभएको थियो । उहाँले कोसीले गोबरगाढाको पश्चिमी बाँध कटान गरेकाले त्यहाँका ८० घर परिवार डुबानको उच्च जोखिममा रहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?