logo
२०८१ बैशाख ७ शुक्रवार



राप्रपा परिवर्तन विरोधी होइन : कमल थापा

‘राजादेखि विप्लवसम्म अट्ने मौलिक लोकतन्त्र आवश्यक छ’

मुख्य समाचार |
राजनीति |


राप्रपा परिवर्तन विरोधी होइन : कमल थापा


काठमाडौँ, मङ्सिर १५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आफूहरु परिवर्तन विरोधी नभएको दाबी गर्नुभएको छ । बुधबार पार्टीको एकता महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दाबी गर्नुभएको हो ।

थापाले राप्रपा परिवर्तन विरोधी नभएर मौलिक लोकतन्त्रको खोजीमा लागेको उल्लेख गर्नुभयो । राप्रपा पुरानो व्यवस्थातर्फ फर्किन नखोजेकोसमेत उहाँले प्रष्ट पार्नुभएको छ ।

‘राप्रपा परिवर्तन विरोधी होइन । राप्रपा पुरानो व्यवस्थामा फर्किन खोजेको पनि होइन । राप्रपाले सबै नेपाली अट्ने मौलिक लोकतन्त्र खोजेको हो’, अध्यक्ष थापाले भन्नुभयो, ‘हामीले राजादेखि विप्लव माओवादीसम्म अट्ने मौलिक लोकतन्त्र खोजेको हो ।’

थापाले अन्य राजनीतिक दलको विचार र राप्रपाको मौलिक मान्यतालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । ‘तपाईंहरुको परिवर्तनशील विचार र हाम्रो मौलिक मान्यतालाई राखौँ’, थापाले भन्नुभयो ।

अध्यक्ष थापाले राप्रपा २०६३ सालको आन्दोलन अगाडि फर्किन नखोजेकोसमेत उल्लेख गर्नुभयो । पार्टी प्रतिगामी नभएर अग्रगामी र मध्यमार्गी भएको उहाँको भनाइ छ । ‘राप्रपा २०६३ अगाडि फर्किन खोजेको होइन । राप्रपाको विचार प्रतिगामी होइन’, थापाले भन्नुभयो, ‘हाम्रो मान्यता अग्रगामी र मध्यमार्गी हो ।’

परम्परागत मूल्य मान्यतालाई सम्मान गर्दै राजसंस्थालाई स्थान दिनुपर्ने उहाँको भनाइ छ । नेपालको भूराजनीतिक बाध्यता राजसंस्था भएको उहाँको भनाइ छ । राजसंस्थालाई बिर्सिएको अवस्थामा देशको अस्तित्व नै अप्ठेरोमा पर्ने दाबी थापाले गर्नुभयो ।

अध्यक्ष थापाले राप्रपाका मान्यता संविधान विरोधी नभएको उल्लेख गर्नुभभएको छ । थापाले अब राप्रपाले नभएर जनताले राजा ल्याउने बताउनुभयो । राप्रपाको सफलता र असफलताको कथा एउटा चुनावबाट नलेखिने उहाँले प्रष्ट पार्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?