logo
२०८१ बैशाख ७ शुक्रवार



‘बहुमत हासिल गर्न एकताबद्ध बनौँ’

मुख्य समाचार |


‘बहुमत हासिल गर्न एकताबद्ध बनौँ’


अशोक अधिकारी

काठमाडौँ, मङ्सिर १५ गते । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमार्फत पार्टीलाई साङ्गठानिक रूपमा एकताबद्ध बनाएर आगामी निर्वाचनमा बहुमत हासिल गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
सुवर्णशमशेर अध्ययन प्रतिष्ठान प्रकाशन र रामचन्द्र घिमिरेद्वारा लिखित पुस्तक ‘राजनेता सुवर्णशमशेर’को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आगामी चुनावमा काँग्रेस पार्टीलाई विजयी बनाउन सबै एकताबद्ध हुनुपर्ने बताउनुभएको हो ।

नेपाली काँग्रेसका संस्थापकदेखि देशमा विभिन्न चरणमा भएका आन्दोलनमा आफ्नो प्राणको आहुति दिने शहीदको योगदान रहेको बताउनुहुँदै प्रधानमन्त्री एवं काँग्रेस सभापति देउवाले पार्टीका नेता–कार्यकर्तालाई पार्टीभित्र हुने अन्तर्घात अन्त्य गर्न निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो, “हाम्रो पार्टीमा सुवर्णशमशेर, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहदेखि लिएर धेरै शहीदको योगदान छ, यो पार्टी जोगाऔँ, आउने निर्वाचनमा यो पार्टीलाई विजयी बनाउनु छ ।”

देउवाले काँग्रेसभित्रको अन्तर्घात रोक्न निर्देशन दिनुहुँदै अब पार्टी सामूहिक प्रयासमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एक अर्कामाथिको अन्तर्घात अन्त्य गरी पार्टीलाई सबैले एकताबद्ध बनाऔँ, अरूको पार्टीमा के भइरहेको छ, आँखा लगाउन पर्दैन, पहिले आफ्नो पार्टी बनाऔँ ।” 
सभापति देउवाले सुवर्णशमशेरसँग विद्यार्थीकालमै भेट भएको स्मरण गर्दै राणा अत्यन्तै सौम्य व्यक्तित्व, अरूको कुरा पनि सुन्ने र दिलदार व्यक्तिका रूपमा भेटेको हुँ भन्नुुभयो । सुवर्ण काँग्रेसका संस्थापक नेता तथा पूर्वसभापतिसमेत हुनुहुुन्थ्यो ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासदेखि ललिता निवाससम्मको सबै जमिन सुवर्णशमशेरकै रहेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले सुवर्णशमशेर आर्थिक रूपमा सम्पन्न व्यक्ति भए पनि देश र प्रजातन्त्रका लागि लड्ने राजनेता भएको धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “सुवर्णशमशेरले आफू अर्थमन्त्री भएका बेला हजारौँ बिघा जग्गा राष्ट्रियकरण गर्नुभयो । यस कारण उहाँ समाजवादी नेता हो भन्ने लाग्छ मलाई । प्रजातन्त्रप्रतिको निष्ठा कहिल्यै पनि कम भएन । यो सत्य कुरा हो ।”

अर्को प्रसङ्गमा देउवाले कुनै पनि निर्णय गर्दा विचार पु¥याउनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सोच विचार गरेर निर्णय गर्नुपर्छ । निर्णय गरेर पछुताउनुभन्दा ढिलो निर्णय गर्नु बेस हुन्छ । बूढापाकालाई अर्ती दिने होइन, बूढापाकाबाट अर्ती लिने हो ।”
काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नका लागि काँग्रेसलाई आधुनिक पार्टीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १४औँ महाधिवेशनबाट पार्टीलाई रूपान्तरण गरी सशक्त र बलियो काँग्रेस बनाएर लगातार तीनवटा निर्वाचन जित्ने आधार तयार गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सुवर्णशमशेरलाई सम्झिएर अगाडि बढ्दै गर्दा समग्रतामा राजनीतिको रूपान्तरण हो । १४औँ महाधिवेशनबाट बलियो काँग्रेस बनाएर आगामी निर्वाचन मात्रै होइन, लगातार तीनवटा निर्वाचन जित्ने काँग्रेस बनाउनुपर्छ ।”

काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले मुलुकलाई समुन्नत बनाउन सुवर्णशमशेरहरूले देखेको सपना पूरा गर्न १४औँ महाधिवेशनलाई अवसरका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

सुवर्णशमशेर अध्ययन प्रतिष्ठानका अध्यक्ष ध्रुव खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, काँग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले, बागमती प्रदेश सांसद न्हुंछेनारायण श्रेष्ठ, ‘राजनेता सुवर्णशमशेर’का लेखक रामचन्द्र घिमिरेलगायतले लोकतन्त्रका लागि सुवर्णशमशेरको योगदानबारे चर्चा गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ काँग्रेसका नवनिर्वाचित क्षेत्रीय सभापति प्रकाशविक्रम राणा, कवीर शर्मा, सन्तोष चालिसे, श्यामकृष्ण सङ्गत, श्याम खड्का, मुकुन्द रिजाल, राजेशकुमार श्रेष्ठ, जयकृष्ण महर्जन र पुकार महर्जनलाई सम्मान गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?