logo
२०८० चैत्र १६ शुक्रवार



गोला प्रणालीबाट इजलास

मुख्य समाचार |


गोला प्रणालीबाट इजलास


नारायण काफ्ले

काठमाडौँ, मङ्सिर १५ गते । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रणालीबाट पेसी तोकिँदैछ । गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नेबारे संशोधित सर्वोच्च अदालत नियमावली बुधबारदेखि कार्यान्वयनमा आउन लागेको हो ।
नियमावली कार्यान्वयन गर्नेबारेको सूचना सोमबार नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ । गोला प्रणाली सुरु भएसँगै सर्वोच्चमा पछिल्लो एक महिनाभन्दा लामो समयदेखि भइरहेको न्याय सम्पादनको अवरुद्धता समेत हट्नेछ । अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक निष्ठामा प्रश्न उठेको भन्दै न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कार गरिरहेका छन् । पहिलो पटक गोला प्रणालीबाट पेसी तोकिन लागेको हो । अहिले सर्वोच्च अदालतको दैनिक पेसी सूची प्रधानन्यायाधीशले तोक्ने अभ्यास छ । गोला प्रणाली लागू भएसँगै पेसी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती हुनेछ । ‘अटोमेसन’मा नजाँदासम्म गोला प्रणालीबाट पेसी व्यवस्थापन हुनेछ ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले गोला प्रणालीका लागि सम्पूर्ण तयारी पूरा भएको जनाउनुभयो । ढकालले भन्नुभयो, “गोला प्रणाली लागूबारे सबै तयारी भइसकेको छ । अहिले साप्ताहिक पेसी सूची प्रकाशन भइसकेको छ । जसबाट भोलिका लागि पेसी तय भएका मुद्दामा गोला हालिनेछ । कार्यविधिलगायतका सबै तयारी भइसकेको छ ।”
गोला प्रणालीमा जानेबारे मङ्सिर ८ गते सर्वोच्चमा न्यायाधीशहरूले निर्णय गरेका थिए । न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेस गरेको ‘न्यायपालिकामा हुन सक्ने विकृति, विसङ्गति, अनियमितता वा भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलाप र त्यसको रोकथामका लागि चाल्नुपर्ने उपायसम्बन्धी प्रतिवेदन’का सुझावअनुसार गोला प्रणालीमा जान लागिएको हो ।
प्रधानन्यायाधीश प्रकरणमा इजलासबाट बाहिर रहेका न्यायाधीशको अगुवाइमा नियमावली संशोधन भएपछि गोला प्रणाली लागू हुन लागेको हो । गोला प्रणालीसँगै न्यायाधीशहरू पनि काममा फर्कने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?