logo
२०८० चैत्र १६ शुक्रवार



‘असंलग्न आन्दोलनको सान्दर्भिकता यथावत्’

मुख्य समाचार |


‘असंलग्न आन्दोलनको सान्दर्भिकता यथावत्’


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर १४ गते । सभामुख अग्निप्रसाद सापकोटाले असंलग्न आन्दोलनको सान्दर्भिकता अहिले पनि यथावत् रहेको बताउनुभएको छ ।

विश्वशान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरूका कारण आन्दोलनको सान्दर्भिकता यथावत् रहेको सभामुख सापकोटाले बताउनुभएको हो । स्पेनको मड्रिडमा आइतबार राति असंलग्न आन्दोलनको सञ्जाल (नाम)को बैठकलाई सम्बोधन गर्दै सापकोटाले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने सन्दर्भमा पनि नामको आवश्यकता छ भन्नुुभयो । सभामुख सापकोटाले सम्बोधनका क्रममा थप्नुुभयो, “संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्ने, राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्ने, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षण गर्ने र विश्वशान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहारका घटनाहरू देख्दा ‘नाम’को सान्दर्भिकता आज पनि यथावत् छ । विश्वका विकासशील देशहरू निरन्तर रूपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदानबाट वञ्चित छन् ।”

उहाँले विकासशील देशहरू निरन्तर रूपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदानबाट वञ्चित रहेको पनि सम्बोधनमा बताउनुभयो । चुनौती रहँदासम्म असंलग्न आन्दोलनका सदस्यराष्ट्रहरूले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहने सापकोटाको भनाइ छ ।
सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभव आदानप्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वाससमेत व्यक्त गर्न‘भयो । नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको र त्यो मान्यता शान्तिपूर्ण सहअस्तित्वमा रहेको पनि सापकोटाको भनाइ थियो । नेपालको संसद् नागरिकका ज्वलन्त मुद्दा सम्बोधन गर्न सक्षम र प्रतिबद्ध रहेको पनि उहाँको भनाइ छ ।

सम्बोधनमा उहाँले भन्नुभयो, “नेपालको सङ्घीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो । जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसद्मा आशा राखेका छन् । नेपालको संसद् समझदारी र सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न प्रतिबद्ध छ । ”
सापकोटाले आइतबार अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को बैठकलाई पनि सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा सापकोटाले लोकतन्त्र चुनौतीरहित नरहेकोतर्फ प्रतिनिधि देशहरूको ध्यानाकर्षण गराउनुभएको थियो ।
आईपीयू सम्मेलनमा सहभागी हुन मङ्सिर ८ गते स्पेन प्रस्थान गर्नुभएका सापकोटा १६ गते स्वदेश फर्कने कार्यक्रम छ । सापकोटासँगै सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीलगायत सम्मेलनमा सहभागी हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?