logo
२०८० चैत्र १६ शुक्रवार



नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै

मुख्य समाचार |


नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै


अशोक अधिकारी

काठमाडौँ, मङ्सिर १४ गते । ‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’को नाराका साथ नेपाली काँग्रेस पार्टीले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने गरी गृहकार्य गरिरहेको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको- संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकतामा राखेर तयारी अगाडि बढाएको हो ।


गृहमन्त्री एवं महाधिवेशन तयारी मूल समितिका सदस्य बालकृष्ण खाणले नेपाली काँग्रेसलाई समयानुकूल रूपान्तरण गर्ने गृहकार्य पहिल्यै सुरु भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस पटक क्रियाशील सदस्यता भर्ने र नवीकरण गर्न पनि प्रविधिको प्रयोग गरेका छौँ । पार्टीको आधिकारिक वेबसाइटमै क्रियाशील सदस्यको नामावली हेर्ने व्यवस्था गरिएको छ, महाधिवेशनलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित छ ।”

केन्द्रीय सदस्य खाणले प्रविधिको प्रयोग गर्ने पार्टीका रूपमा नेपाली काँग्रेस अग्रसर भएको बताउनुभयो । यसअघि क्रियाशील सदस्यता भर्न पनि फाराम भरेपछि तहगत रूपमा सिफारिस गर्ने र केन्द्रीय समितिले स्वीकृत गरेर नामावली जिल्लामा पठाउने गरिएको थियो ।
नेपाली काँग्रेसका प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित प्रचारप्रसार समितिले १४औँ महाधिवेशनको लोगो सार्वजनिक गर्ने बताउनुभयो । शर्माले महाधिवेशनका लागि ‘उत्साह, एकता र रूपान्तरण; सफल बनाऔँ १४औँ महाधिवेशन’ भन्ने मूल नारा तय गरिसकिएको जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, “जिल्ला अधिवेशन र सातै प्रदेशको अधिवेशन सकिएपछि १४औँ महाधिवेशन सुरु हुन एक हप्ता बाँकी रहन्छ । सामाजिक सञ्जालसँगै विविध तरिकाले प्रचारप्रसारको काम व्यवस्थित रूपमा हुन्छ । हामी डिजिटल्ली जान्छौँ । ”
प्रवक्ता शर्माले अहिले डिजिटल सामग्री उत्पादनको काम भइरहेको जानकारी दिनुभयो । सामग्री तयार भएपछि टेलिभिजन तथा सामाजिक सञ्जालबाट प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।

काँग्रेस प्रचारप्रसार विभागका सचिव दिनेश थापामगरले १४औँ महाधिवेशनलाई प्रविधिमैत्री बनाउने र काठमाडौँदेखि दूरदराजका नागरिकसम्म महाधिवेशनबारे जानकारी पु¥याउने गरी तयारी भइरहेको बताउनुभयो ।
सचिव थापामगरले भन्नुभयो, “काँग्रेस पार्टीका नीति तथा कार्यक्रम नागरिकले बुझ्नुपर्छ । प्रचारप्रसार विभाग र १४औँ महाधिवेशनका लागि गठित प्रचारप्रसार समितिले पार्टीका नीति तथा कार्यक्रमलाई व्यापक जनमानसमा पु-याउने गरी तयारी गरिरहेको छ । ”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?