logo
२०८१ बैशाख १३ बिहीवार



मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा

लोकमार्गको काम जतिसक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन

मुख्य समाचार |


मध्यपहाडी लोकमार्गको काम द्रुत गतिमा


सचिन पोख्रेल

इटहरी, मङ्सिर १४ गते । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको काम प्रदेश १ मा द्रुत रूपमा अगाडि बढेको छ । विशेष गरी तेह्रथुम क्षेत्रमा लोकमार्ग निर्माणको कामले गति लिएको छ । यस खण्डमा जिम्मेवार प्रशासनिक क्षेत्रबाट हुने निर्देशन र अनुगमनले निरन्तरता पाएसँगै यो आयोजनाको निर्माणले गति लिएको हो । तेह्रथुममा लोकमार्गको ११९ किलोमिटर क्षेत्रफल पर्छ । त्यसमध्ये यो सडकखण्ड २५ दशमलव पाँच किलोमिटर क्षेत्रफलमा रहेको छ ।
तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले जिल्लाको वसन्तपुर–म्याङ्लुङ खण्डमा भइरहेको लोकमार्गको काम जतिसक्दो चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताउनुुभयो । उहाँले यो सडक निर्माणपछि बहुआयामिक फाइदा हुने भएकाले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

सम्झौतामा उल्लेख भएको मितिमै निर्माण सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गरिने उहाँको चेतावनी छ । उहाँले तोकिएकै समयमा तोकिएकै गुणस्तरमा काम सम्पन्न गर्न र त्यसको प्रगति प्रतिवेदन महिनाको दुई पटक जिल्ला प्रशासनलाई बुझाउन निर्देशन दिनुभयो ।
“प्रत्येक हप्ता सडक अनुगमन हुन्छ”, घिमिरेले भन्नुभयो, “काम सुस्त भए कारबाहीको प्रक्रिया अगाडि बढ्नेछ ।” उहाँले प्रमुख जिल्ला अधिकारीका रूपमा तेह्रथुमको कमान्ड सम्हाल्दा जुन सडकको दुर्दशा छ र त्यसले जनतालाई जुन सास्ती मिलेको छ, त्यसलाई आफ्नो कार्यकालमा समाधान गर्ने बताउनुभयो । गोरखापत्रसँग कुरा गर्दै उहाँले आफूले पटक–पटक छलफल तथा टेलिफोनबाट पनि लोकमार्गको काम समयमै सम्पन्न गर्न निर्देशन गरेको जानकारी दिनुभयो ।

म्याङ्लुङ नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले आयोजना निर्माणका क्रममा स्थानीय तहबाट गर्न सक्ने समस्या समाधान गर्न र माथिल्लो सरकारसँग समस्या समाधान गर्न आफूले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
यो खण्डको काम समयमै नसकिँदा तेह्रथुमवासी वर्षायाममा हिलो र हिउँदमा धुलोको मारमा पर्ने गरेका छन् । वर्षामा यहाँको यातायात ठप्प हुने गर्छ । मध्यपहाडी लोकमार्गका इन्जिनियर मनिषमान शाक्यले म्याङ्लुङ–वसन्तपुर सडकखण्ड आगामी चैत मसान्तसम्ममा कालोपत्रे भइसक्ने बताउनुभएको छ ।

उपयुक्त निर्माण सामग्रीको अभावका कारण जिल्लामा सडक निर्माणको काम सुस्ताएकाले अब त्यो समस्या समाधान हुने उहाँले बताउनुभयो ।
जिल्लाका अन्य खण्डभन्दा आफूले यही खण्डलाई विशेष प्राथमिकता दिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । यो सडकखण्डमा तीनवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । तीनवटै निर्माण कम्पनीले अवरोध नभएमा तोकिएकै समयमा सडक निर्माणको काम सम्पन्न गर्ने जनाएका छन् ।

वसन्तपुर–म्याङ्लुङ खण्ड दुई लेनमा स्तरोन्नति गर्न र कालोपत्रे गर्न अर्थ मन्त्रालयले दुई अर्ब सात करोड रुपियाँ बजेट विनियोजन गरेको छ । एक लेनको बाटो हुँदा यो खण्ड पहाडी इलाकाकै उत्कृष्ट सडकखण्डमध्ये एक मानिन्थ्यो । तर, दुई लेन बनाउन उक्त सडक उत्खनन भएर स्तरोन्नतिको काम सुस्ताउँदा सुविधाको सट्टा तेह्रथुमवासीले सास्ती भोग्नु परिरहेको छ ।

यो सडकखण्डको पहिलो खण्ड वसन्तपुर–लसुनेमा कालिका भभेश्वर जेबी कन्स्ट्रक्सनले कालोपत्रेको काम अगाडि बढाएको छ । यो सडकखण्डको लम्बाइ १० किलोमिटर छ । लसुने–जिरिखिम्ती–बगाले खण्डको १० दशमलव चार किलोमिटरमा आशिष आश्रय जेभी निर्माण सेवाले सडक विस्तार तथा बेस बिछ्याउने कामलाई तीव्रता दिएको छ । तर जिरिखिम्तीदेखि बगाले–म्याङ्लुङ खण्डको पाँच किलोमिटर लामो सडकखण्डमा भने अझै पनि ट्र्याक खोल्ने काम सकिएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?