logo
२०८० चैत्र १६ शुक्रवार



नदीको बहाव घट्न थालेपछि भारतबाट विद्युत किन्ने तयारी

विद्युत् आयात गर्नुपर्ने अवस्था

अर्थ |


नदीको बहाव घट्न थालेपछि भारतबाट विद्युत किन्ने तयारी


गोपालचन्द्र सुवेदी

काठमाडौँ, मङ्सिर १२ गते । हिउँद लागेसँगै नदीमा पानीको बहाव घट्ने र जाडोका कारण माग बढ्दै गर्दा नेपाल विद्युत् प्राधिकरण अब भारतबाट विद्युत् खरिद गर्नुपर्ने अवस्थामा पुगेको छ । चाडपर्व सकिएर तथा कोरोना महामारीको अवस्था सहज भएकाले उद्योग व्यवसाय कलकारखाना सञ्चालनमा आउने क्रम बढ्न थालेकाले माग बढेको छ । त्यस्तै चिसो पनि बढ्न थालेकाले घरायसी माग पनि बढ्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नयाँ आयोजना थपिएपछि यो वर्ष वर्षायाममा पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा ५०० मेगावाटसम्म विद्युत् खेर फाल्नुपरेको थियो तर पछिल्ला दिनमा अवस्था फेरिएको छ । खोलानालामा जलप्रवाह घटेसँगै बहावमा आधारित विद्युत् आयोजनाबाट उत्पादन घट्न थालेको छ ।
प्राधिकरण प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईका अनुसार पछिल्लो समय निजीक्षेत्रका आयोजनाबाट विद्युत् आपूर्ति घटिसकेको छ । अहिले यस्ता आयोजनाबाट ५०० मेगावाटको हाराहारीमा आपूर्ति सीमित हुन थालेको छ ।

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले पनि नियमित रूपमा १७० मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । साँझ बिहान उच्च माग व्यवस्थापन गर्न यो आयोजनाको सञ्चित जलशयमार्पmत थप विद्युत् पनि आपूर्ति गर्ने गरिएको छ । प्राधिकरणका आफ्ना आयोजनाबाट अहिलेसम्म पूर्ण क्षमतामै विद्युत् आपूर्ति गरिरहेको भट्टराईले जानकारी दिनुभयो ।
प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनालाई जगेडामा राख्दै आएकामा आपूर्ति व्यवस्थापनका लागि मङ्सिर पहिलो साताबाटै उच्च माग समयमा सञ्चालनमा ल्याउन थालिसकेको छ ।
“हाम्रो प्रणालीमा आपूर्ति कम हुने र माग बढ्दो हुने क्रम सुरु भएको छ”, भट्टराईले भन्नुभयो, “अब १०÷१५ दिनभित्र स्वेदशकै बिजुलीले पुग्छ होला, त्यसपछि भारतबाट नियमित आयात गर्नुपर्ने हुन्छ । ”
यस पटक नेपाल भारत विद्युत् व्यापारअन्तर्गत गत महिनादेखि सुरु भएको ३९ मेगावाटको निर्यात भने अहिले पनि नियमित छ ।

गत वर्ष भारतबाट नेपालले सात सय मेगावाटसम्म विद्युत् आयात गर्नुपरेको थियो । यो वर्ष माथिल्लो तामाकोसीलगायत निजी क्षेत्रका जलविद्युत् आयोजना थपिए पनि आयात भने खासै नघटने देखिएको छ ।
अघिल्लो वर्ष कोरोना महामारीका कारण उद्यम व्यवसाय खासै सञ्चालनमा आउन सकेका थिएनन् । यस वर्ष भने सबै उद्योग व्यवसाय सुचारु भइसकेकाले माग पनि थप बढ्ने अनुमान प्राधिकरणको छ ।
माथिल्लो तामाकोसी, लिखुखोला, सिँगटी, लोअर मोदीजस्ता आयोजना यो वर्ष थपिएका छन् । ती आयोजनाबाट सामान्य अवस्थामा २०० मेगावाट आपूर्ति थप हुनसक्छ । “स्वदेशी उत्पादन त थपिएको छ, त्यसले हाम्रो आयातमाथिको चाप कम गर्ला भन्ने अपेक्षा छ,” भट्टराईले भन्नुभयो, “तर गत वर्षको भन्दा यो हिउँदमा मागको चाप बढी हुन सक्छ । ”

प्राधिकरणले यस वर्ष राति भने सकभर भारतबाट विद्युत् नकिन्ने सोच बनाएको छ । भारतको बिजुली तुलनात्मक रूपमा राति महँगो पर्छ । यसर्थ दिउँसो १२÷१३ घण्टा सस्तो पर्ने बिजुली किन्ने र राति आवश्यक पर्ने बिजुली उत्पादन गर्न कुलेखानी र माथिल्लो तामाकोसीलाई रूपले प्रयोग गर्ने सोच बनाएको छ ।
कुलेखानीमा यस वर्ष पानी सञ्चय पनि उच्चतम बिन्दुसम्म भएकाले पनि प्राधिकरणलाई उच्च भार व्यवस्थापन गर्न केही सहज हुने देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?