logo
२०८१ बैशाख १३ बिहीवार



स्मार्ट लाइसेन्स अब छापिने

खुला |


स्मार्ट लाइसेन्स अब छापिने


लक्ष्मण दर्नाल

काठमाडौ, मङ्सिर १२ गते । करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ ।
फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले कार्ड अभाव भएपछि अति आवश्यक सवारी चालक अनुमतिपत्र मात्र छपाइ गर्दै आएको थियो ।
विभागले १४ लाखप्रति कार्ड आएपछि छपाइ कार्य तीव्र बनाइने जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले भन्नुभयो, “कार्ड आइपुग्यो, छपाइको नमुना परीक्षण गर्छौं । अर्को हप्ताबाट छपाइ सुरु हुनेछ । ”

करिब दुई वर्षदेखि छाप्न बाँकी रहेका सात लाखप्रति सवारी चालक अनुमतिपत्रलाई प्राथमिकता दिइने बताइएको छ । उहाँकाअनुसार दैनिक रूपमा आउने मागलाई दैनिक कार्यतालिका अनुसार नै छपाइ गर्न सकिने छ ।
छपाइ सुरु भए पनि सेवाग्राहीले तुरुन्तै सवारी चालक अनुमतिपत्र पाउने अवस्था छैन । विभागले डेढ वर्षअघि ल्याएको नयाँ मेसिनले प्रतिघण्टा ४५० वटासम्म सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्छ । तीन चरणमा दैनिक २१ घण्टा चलाए नौ हजार सवारी चालक अनुमतिपत्र छापिन्छ । जसअनुसार
महिनामा साढे दुई लाखप्रति छापिन्छ । सात लाखप्रति छाप्न करिब तीन महिना लाग्ने छ । तीन सिफ्टमा छाप्ने योजना रहेको विभागले जनाएको छ ।

दैनिक रूपमा करिब पाँच हजारप्रति सवारी चालक अनुमतिपत्रको नयाँ माग छ । २०७२ सालमा स्मार्ट सवारी चालक अनुमतिपत्र लागूू भएपछि छपाइ काम निकै सुस्त हुँदै आएको छ । ग्लोबल टेण्डर प्रक्रिया नै ढिला गरी खुला गरिएकाले कार्डको अभाव हुन गएको विभागले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?