logo
२०८१ बैशाख ११ मंगलवार



जनसङ्ख्या करिब तीन करोड पुग्ने

मुख्य समाचार |


जनसङ्ख्या करिब तीन करोड पुग्ने


नगेन्द्र सापकोटा

काठमाडौँ, मङ्सिर १० गते । नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्याङ्कको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।
विभागका निर्देशक ढुण्डिराज लामिछानेले भन्नुभयो, “जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसङ्ख्या दुई करोड ८५ लाखदेखि तीन करोडको हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।” उहाँका अनुसार जनगणनाबाट सोधिएका प्रश्नको पूर्ण विवरण आउन एक वर्ष लाग्नेछ । गणकले सोधिएका प्रश्नको तथ्याङ्क कम्प्युटरमा अपलोड गर्न छदेखि नौ महिना लाग्ने र त्यसको तीन महिनामा पूर्ण विवरण आउने गरी विभागले काम अगाडि बढाउनेछ ।

नेपालको कुल जनसङ्ख्या, महिला र पुरुषको कुल सङ्ख्या भने दुईदेखि तीन महिनामा आइसक्नेछ । केही दिनभित्रमै गणकले भरेको फारामलाई जिल्ला र प्रदेश जनगणना कार्यालयमा ल्याउने र त्यहाँबाट फाराम केन्द्रीय तथ्याङ्क विभाग ल्याउने प्रक्रिया अगाडि बढ्ने छ । विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले विभागले पुसदेखि करिब तीन सय जना तथ्याङ्क अभिलेखीकरण गर्न करारमा कर्मचारी भर्ना गरिने बताउनुभयो । उहाँका अनुसार मङ्सिरभित्र सबै जिल्ला तथा प्रदेश कार्यालय बन्द गरी फाराम केन्द्रीय तथ्याङ्क विभागमा ल्याइनेछ । सरकारले जनगणना–२०७८ का लागि ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा तय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?