logo
२०८० चैत्र १६ शुक्रवार



एमाले १०औँ महाधिवेशन आजदेखि

मुख्य समाचार |


एमाले १०औँ महाधिवेशन आजदेखि


शालिग्राम नेपाल/चितवन

चितवन, मङ्सिर १० गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमालेले पर्यटकीय नगरी चितवनमा पहिलो पटक पार्टी महाधिवेशन गर्न लागेको हो ।
महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । शुक्रबार मङ्सिर १० गते नारायणी नदी किनारमा महाधिवेशन उद्घाटन तथा ११ र १२ गते सौराहामा बन्दसत्र एवं नेतृत्व चयन गर्ने कार्यक्रम छ ।
नारायणी नदी किनारमा बनाइएको भव्य सजावटसहितको मञ्चमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख तथा महाधिवेशन प्रचार संयोजक योगेश भट्टराईले भन्नुभयो, “महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएका छन् । उद्घाटनस्थलको सजावट, मञ्च निर्माण, बन्दशत्र हल, प्रतिनिधिको आवास, स्वास्थ्य, सुरक्षालगायत व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भइसकेका छन् ।”

उहाँले उद्घाटन सभामा चितवनलगायत देशका विभिन्न भागबाट पाँच लाखभन्दा बढीको मानवसागर उर्लने दाबी गर्नुभयो । पश्चिमतर्फबाट हुने सहभागीलाई लक्षित गरी नारायणी नदीको गैँडाकोटतर्फ पनि डिजिटल बोर्ड राखी कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ । त्यस्तै नारायणगढका विभिन्न ठाउँमा प्रत्यक्ष प्रसारण अवलोकनका लागि ठूलाठूला डिजिटल बोर्ड राखिएको संयोजक भट्टराईले जानकारी दिनुभयो ।
प्रचार संयोजक भट्टराईका अनुसार महाधिवेशनमा भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट प्रतिनिधि सहभागी हुनेछन् । चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो । महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुनेछन् । भूगोल, जनसङ्गठन विभाग, सम्पर्क कमिटी र प्रवासबाट र पाँच प्रतिशत मनोनीत (१०६ जना) गरी दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् । एमालेका सल्लाहकार १५ जना र पाका पुराना नेतासमेत पर्यवेक्षकका रूपमा सहभागी हुने जनाइएको छ ।

कुल प्रतिनिधिमा ६२७ जना महिला र २०९ दलित प्रतिनिधि रहेका छन् । महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा बढी र दलित प्रतिनिधित्व १० प्रतिशतभन्दा बढी भएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
एमाले १०औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा जनताका झुपडीदेखि सहरका भव्य पे्रक्षालयसम्म आफ्नो महाधिवेशन गरिसकेको छ । २००६ साल वैशाख १० गते पुष्पलाल श्रेष्ठले स्थापना गर्नुभएको पार्टीको मूलधारका रूपमा एमालेले आफूलाई व्याख्या गर्दै आएको छ । २०१० साल माघ १० देखि २० गतेसम्म पाटनको ललितपुर र काठमाडौँमा नेकपाको प्रथम महाधिवेशन भएको थियो । जुन महाधिवेशनले मनमोहन अधिकारीलाई महामन्त्रीमा चुनेको थियो ।

त्यस्तै २०१४ साल जेठ १५ देखि २५ गतेसम्म दरबारमार्गस्थित फोहरा दरबारमा नेकपाको दोस्रो महाधिवेशन भयो । त्यस्तै २०१९ साल वैशाख ४ देखि १५ गतेसम्म तेस्रो, २०४६ भदौ ९ देखि १४ गतेसम्म, सिरहाको विष्णुपुरकट्टी र सर्रे अम्बासमा तत्कालीन मालेको चौथो महाधिवेशन भयो । जुन सम्मेलनबाट मदनकुमार भण्डारी महासचिवका रूपमा उदाउनुभयो । त्यस्तै २०४९ माघ १४ देखि २० गतेसम्म काठमाडौँमा पाँचौँ, २०५४ माघ १२ देखि १८ गतेसम्म नेपालगञ्जमा छैटौँ, २०५९ माघ १८ देखि २२ गतेसम्म जनकपुरमा सातौँ, २०६५ फागुन ५ देखि १४ गतेसम्म बुटवलमा आठौँ र २०७१ असार १९ देखि साउन १ गतेसम्म भृकुटीमण्डपमा नवौँ महाधिवेशन भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?