logo
२०८० चैत्र १५ बिहीवार



जातीय भेदभाव कायमै

खुला |
समाज |


जातीय भेदभाव कायमै


लक्ष्मण दर्नाल

काठमाडौँ, मङ्सिर ९ गते । भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माले स्थानीय दुर्गा मन्दिरमा दलितले पनि पूूजा गर्न पाउनुपर्छ भन्दा गैरदलितको कुटपिटबाट मृत्यु भयो । २०७८ असोज २८ गते विकको हत्याको घटना अदालती प्रक्रियामा छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका–७, पोखरियाकी ज्योति पासवानले अन्तरजातीय प्रेमका कारण २०७८ साउन २३ मा आत्महत्या गर्नुभयो । पीडित परिवारले आत्महत्या दुरुत्साहनसम्बन्धी जाहेरी दर्ता गराएको छ ।

झापाको कनकाई नगरपालिकाका बलबहादुर विश्वकर्माको स्थानीय गैरदलितको कुटाइबाट २०७७ चैत २७ गते मुत्युु भयो । अन्तरजातीय प्रेमविवाह गरेका काभ्रेका अजित मिजारको शव पाँच वर्षदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ । विवाहको तीन दिनपछि बेपत्ता भएका मिजारको शव २०७३ असार २९ गते धादिङको फुर्केखोला नजिकै भेटिएको थियो ।
यी प्रतिनिधिमूलक हत्याका घटना जातीय भेदभाव तथा छुवाछूतका कारण भएको दलित अधिकारकर्मी गणेश विश्वकर्माको भनाइ छ । जातीय भेदभाव तथा छुवाछूतका कारण २०७७ सालमा मात्रै १८ जनाको हत्या भएको छ । दलित समुदायमाथि जातीय भेदभावका ११७ वटा घटना भएका छन् ।

कुल ११७ घटनामध्ये जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी घटना २६ प्रतिशत छन् । दलितमाथि कुटपिटका घटना २० प्रतिशत छन् ।
समता फाउन्डेसनको उक्त अध्ययनअनुसार जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी ३१ वटा घटनामध्ये १२ वटा घटना कानुनी पहलबिनै टुङ्गिएका छन् । १४ घटना मिलापत्रबाट कानुनी प्रक्रियामा नगई टुङ्गिएका छन् । पाँचवटा घटना जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ अनुसार कानुनी कारबाहीका लागि प्रक्रियामा गएका छन् ।

धेरै मुद्दा मिलापत्रबाट टुङ्गिनु र पाँचवटा घटना मात्रै कानुनी प्रक्रियामा जानु न्याय प्रक्रियाकै विडम्बना भएको समता फाउन्डेसनका अनुसन्धानकर्ता एवं अधिवक्ता प्रकाश नेपालीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?