logo
२०८० चैत्र १६ शुक्रवार



साढे तीन हजार प्रतिनिधि छानिए

राष्ट्रिय |


साढे तीन हजार प्रतिनिधि छानिए


शेषकान्त पण्डित

काठमाडौँ, मङ्सिर ९ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको टुङ्गो लागेको जानकारी दिनुभयो ।
काँग्रेसको विधानअनुसार, हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले आफूहरू मध्येबाट निर्वाचित गरेका २५ जना महाधिवेशन प्रतिनिधि र एक जना क्षेत्रीय सभापति गरेर २६ जना महाधिवेशनमा चुनिने प्रावधान छ । सचिव श्रेष्ठले अब ३० वटा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी रहेको जानकारी दिनुभयो । ती क्षेत्रबाट महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिमा २६ जनाको दरले ७८० जना महाधिवेशन प्रतिनिधि चयन हुन बाँकी छ ।

महाधिवेशनमा यस पटक १६५ वटा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले चार हजार २९० जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । हालका केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान छ । महाधिवेशन प्रतिनिधिले पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने प्रावधान विधानमा छ । यस अतिरिक्त पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट पनि महाधिवेशनमा प्रतिनिधित्व हुने व्यवस्था छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार, बर्दिया, बाँके, सप्तरी, सिरहामा बिहीबार क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका छ । सिन्धुपाल्चोक, धनुषा र महोत्तरीमा प्रदेश अधिवेशन प्रक्रिया सुरु गरिएको छ । रसुवा, दार्चुला, धनकुटामा अधिवेशन प्रक्रिया सुरु गरिएको छ ।
सर्लाहीमा महाधिवेशन प्रक्रिया अघि बढाउन पार्टीले बुधबार मात्रै निर्वाचन अधिकृत खटाएको छ । ढिलामा मङ्सिर १० गतेसम्म क्षेत्रीय अधिवेशन सक्न केन्द्रले निर्देश गरेको छ । पार्टीले आगामी मङ्सिर १६ र १७ गते सातवटै निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन राखेकाले त्यसअघि अधिवेशन नगर्ने जिल्लाले प्रदेश अधिवेशनमा सहभागिता जनाउन सक्ने छैनन् ।

पत्रकार महाधिवेशन प्रतिनिधि
काँग्रेसको महाधिवेशनमा क्रियाशील पत्रकारहरू महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्व प्रेस संयोजक गोविन्द परियार काठमाडौँ–६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ भने नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी दोलखाबाट निर्वाचित हुनुुभएको छ ।
यसैगरी लेखक तथा पत्रकार शङ्कर तिवारी नवलपुर–२ बाट, पत्रकार तारा थपलिया दोलखा, सिर्जना स्नेही बझाङ, हरि लम्साल र माया गौतम रुपन्देही, सरस्वती गुरुङ कास्की, माला पालुङ्गा ताप्लेजुङ, दिनेश सुनुवार गोरखा, दीपेन्द्र बान्तवा सङ्खुवासभा, जनकबहादुर शाही हुम्ला, गम्भीर विश्वकर्मा मनाङ, इन्द्र रिसाल स्याङ्जाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । यसका साथै बाजुराबाट रिता शाही, झापाबाट लोकराज ढकाल, बाग्लुङबाट सकुन्तला शर्मा, दैलेखबाट खगेन्द्र सुनार र भूपेन्द्र शाही पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?