logo
२०८० चैत्र १६ शुक्रवार



प्रदेश सभा क्षेत्रमा निर्वाचन आज

मुख्य समाचार |


प्रदेश सभा क्षेत्रमा निर्वाचन आज


शेषकान्त पण्डित

काठमाडौँ, मङ्सिर ३ गते । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन क्षेत्रमा शुक्रबार प्रदेश तहको अधिवेशन हुँदैछ । देशभरका तीन सयभन्दा बढी प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ अधिवेशन गर्ने काँग्रेसको कार्यतालिका छ । कुल ३३० प्रदेश निर्वाचन क्षेत्रमध्ये १४ जिल्लामा प्रदेश तथा जिल्ला अधिवेशन भइसकेको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले देशभर अधिवेशनका लागि आवश्यक तयारी पूरा गरिएको जानकारी दिनुभयो । निर्वाचनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको निर्वाचन समितिले जनाएको छ । प्राविधिक कारणवश कुनै प्रदेशले अधिवेशन गर्न नसकेको अवस्थामा पनि मङ्सिर ४ वा ५ गतेभित्र अधिवेशन गर्नुपर्नेछ । मङ्सिर ६ गते निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन हुँदैछ ।

यस्तो बन्छ प्रदेश क्षेत्र समिति

पार्टीका गाउँ तथा नगरपालिकाका वडास्तरबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाको एकाइ अध्यक्षले प्रदेशको निर्वाचनमा सहभागिता जनाउने छन् । क्षेत्रीय प्रतिनिधिहरूले आफूहरूमध्येबाट अध्यक्षसहित १६ सदस्यीय कार्यसमितिको निर्वाचन गर्नेछ । यसका साथै क्षेत्रीय प्रतिनिधिहरूले आफूहरूमध्येबाट १६ जना प्रदेश निर्वाचनका लागि क्षेत्रीय प्रतिनिधिको चयन गर्नेछ । प्रदेशको निर्वाचन क्षेत्रबाट छानिएका क्षेत्रीय प्रतिनिधिले प्रदेशको सभापतिलगायतका पदाधिकारी चयन गर्नेछन् । सबै प्रदेशमा गरेर पाँच हजारभन्दा बढी प्रदेश क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । पदाधिकारीका पनि त्यतिकै हाराहारीमा निर्वाचित हुने निर्वाचन समितिले जनाएको छ । काँग्रेसले १४औँ महाधिवेशनबाट सातवटै प्रदेशमा पार्टीको नयाँ संरचनासमेत निर्माण गर्दैछ । काँग्रेसले आगामी मङ्सिर १६ र १७ गते सातवटै प्रदेशका एकैसाथ प्रदेश अधिवेशन गर्दैछ ।

प्रदेश तहमा पहिलो अभ्यास
काँग्रेसले पार्टीको संरचनामा पहिलो पटक प्रदेश तहको नयाँ संरचनाको अभ्यास गर्दैछ । यसअघि वडा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको संरचना पार्टीमा भए पनि प्रदेश तहको संरचना भने थिएन । मुलुक प्रदेश संरचना गएपछि काँग्रेसले आफ्नो विधानलाई सोहीअनुसार बनाएर पहिलो पटक निर्वाचन गर्न लागेको हो ।
शुक्रबार प्रदेश तहको निर्वाचन हुने भएपछि सबै जिल्लाको अधिवेशनमा एकरूपता कायम भएको छ । अब कुनै जिल्लामा वडा अधिवेशन, कुनै जिल्लामा पालिकास्तरको नहुने अवस्था अन्त्य भएको र सबै जिल्लाको अधिवेशनमा अब एकरूपता कायम भएको निर्वाचन समितिका सचिव श्रेष्ठले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?