logo
२०८० चैत्र १५ बिहीवार

  विश्व श्वासप्रश्वास रोग दिवस  



दम रोगका कारण नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु

स्वास्थ्य |


दम रोगका कारण नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु


काठमाडौ,मङ्सिर १ गते । नेपालमा श्वासप्रश्वास तथा दम रोगका बिरामीको संख्या बढ्दो छ । सूर्तिजन्य पदार्थ सेवनकर्तामा मात्र श्वासप्रश्वास सम्बन्धि रोग लाग्ने होइन कि सूर्ति सेवन नगर्नेहरुलाई पनि श्वासप्रश्वास (दम) सम्बन्धि रोग )को रोग होइन सूर्ति सेवन नगरेका व्यक्तिहरुमा समेत दम रोग देखापर्ने गरेको छ ।
चुरोट तथा सूर्तिजन्य वस्तु सेवन बाहेक आन्तरिक तथा बाह्य वायु प्रदुषणले गर्दा मानिसमा श्वासप्रश्वास तथा दम सम्बन्धि रोग लाग्ने गरेको छ । वरिष्ठ श्वासप्रश्वास रोग विशेषज्ञ डा. राजु पंगेनीले नेपालमा आन्तरिक तथा बाह्य प्रदूषणकै कारण वर्सेनि दम रोगका बिरामी बढेको बताउनुभयो ।
अगरवत्तिको धूवाँ,घरबाट निस्कने धूलो,दाउरा बालेर हुने प्रदूषणले पनि दमरोगका बिरामी बढेको बताउनुभयो । डा. पंगेनीका अनुसार कलकारखाना,डढेलो बाट निस्कने धुवाँले गर्दा मानिसमा श्वासप्रश्वास तथा दमका बिरामी थपिदै गएको बताउनुभयो ।
प्रदुषणले उपत्यकामा दमरोगका बिरामीको संख्यामा वृद्धि हुंदै गएको जानकारी दिदै डा. पगेनीले शहरी क्षेत्रका १५ प्रतिशत जनसंँख्यामा दम सम्बन्धी समस्या रहेको बताउनुभयो ।
काठमाडौँका मुख्य अस्पतालमा दैनिक २५ देखि ३० जना व्यक्ति दमको समस्या लिएर आउने गरेका छन् । शिक्षण अस्पतालमा दैनिक ९० जनासम्म बिरामी आउने गरेकाछन् ।
तथ्याङ्क अनुसार विश्वमा २५ करोड मानिसलाई दमरोगी रहेको पाइएको छ । ती मध्ये प्रतिवर्ष ३० लाख मानिसहरूको दम तथा खोकीकै कारण मृत्यु भएको छ ।
दम रोगीमा महिला बढी
श्वासप्रश्वास तथा दमरोगीमध्ये ९० प्रतिसत नेपाल जस्तो अल्पविकसित वा विकासशील मुलकका नागरिकहरू रहेकाछन् । नेपालमा प्रतिवर्ष १६ हजार व्यक्तिको मृत्यु दम तथा श्वासप्रश्वास सम्बन्धी रोगको कारणले हुने गरेको छ । डा. पंगेनीले दमखोकीका कारण मृत्यु हुनेको संख्यामा महिलाको संख्या बढी रहेको बताउनुभयो । दमरोगी महिलाको संख्या पनि बढी रहेको छ । श्वासप्रश्वास रोग लागिसके पछि निको नहुने हुँदा अस्वस्थ मानिसहरूको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । डा. पंगेनीले ४५ वर्ष माथिका व्यक्तिलाइ श्वासप्रश्वास तथा दम रोग लाग्न सुरु गर्ने बताउनुभयो ।
४५ वर्ष नाघेपछि दमको समस्या
नेपालमा ४५ वर्ष पछि दमको समस्या हुने गरेको छ । डा. पंगेनीले ४५ वर्ष उमेर कटेपछि दम तथा श्वासप्रश्वास को समस्या देखा पर्ने जानकारी दिदै ५५ वर्ष माथिका वृद्धवृद्धामा श्वासप्रश्वास को समस्या बढी रहेको बताउनुभयो । उहाँले दम तथा श्वासप्रश्वास रोगको प्रमुख कारकतत्व धुमपान र वायुप्रदुषण मुख्य रहेको बताउनुभयो । धुमपानले गर्ने असरमध्ये दमखोकी प्रमुख समस्या रहेको जानकारी दिदै उहाँले २७ प्रतिशत पुरुष र ६ प्रतिशत महिलाले धुमपान गर्ने गरेको जानकारी दिनुभयो ।
सास बिना गाँस, बास र कपासको के अर्थ अभियान
सास विना गाँस र बासको समेत अर्थ नरहेकोले सासलाई बचाउने र जोगाउने काम गर्नुपर्दछ । स्वस्थ फोक्सो राखेमा मात्र सहज रुपमा सास फेर्न सकिने डा. पंगेनीको भनाई छ । सास स्वस्थ राख्न नेप्लिज रेस्पिरेटरी सोसाइटीले गाँस, बास, कपास र सास अभियान सञ्चालनमा ल्याएका छन् । श्वासप्रस्वासका रोग तथा समस्याबाट जोगाउन र फोक्सो स्वस्थ राख्न चेतना फैलाउने उद्देश्यले ’सास बिना गाँस, बास र कपास’ नारासहितको अभियान सुरु गरिएको हो । यो अभियान अन्तरगत फोक्सो स्वस्थ राख्ने चेतनामुलक कार्यक्रमहरु सञ्चालन हुनेछ । सचेतना अभियानसँगै दम, दीर्घकालीन श्वासप्रश्वास, एलर्जिक राइनाइटिस जस्ता रोगबारे जानकारी, समाधान र बिरामीहरुको लागि सहयोग प्रदान गर्न पनि यो अभियान सुरु गरिएको हो।
वंशाणुगत कारणले पनि दम रोग
वरिष्ठ छातीरोग विशेषज्ञ डा. अशेष ढुंगानाले वंशाणुगत कारणले पनि दमरोगका बिरामीहरु बढ्ने गरेको बताउनुभयो । उहाँले मिल, मैदा , कलकारखाना,उद्योग, धूलोधूवाँमा काम गर्ने मानिसमा पनि दमको समस्या देखिनसक्ने जानकारी दिनुभयो । चुरोट खानेलाई मात्र होइन, मन्दिरमा रहेका पुजारी, घरमा धुप बालेर पूजा गर्ने महिलामा समेत दमरोग देखापर्ने डा. ढुंगानाको भनाई रहेको छ ।
दमरोगका लक्षण
दम (सिओपीडी)का लक्षणमा नियमित खोकी लाग्नु, भ¥याङ चढ्दा स्याँस्याँ हुनु , सास फेर्न गाह्रो हुनु,अक्सिजनको कमी हुनु,खकार आइरहनु दमरोगका लक्षण हुन् । खोकीसँगैे खकार आउने, छाती घ्यार–घ्यार कराउने, औंला वा जिब्रो निलो हुने, दुवै खुट्टा सुन्निने, पटकपटक छातीको संक्रमण हुनु पनि दमरोगका लक्षण हुन् ।
उपचार
श्वासप्रश्वास रोग लागिसकेपछि पूर्ण रुपमा निको हुन गाहे हुन्छ । डा. ढुंगानाले एक पटक दमरोग भइसकेपछि श्वासप्रश्वास बाट तान्ने औषधि लिनुपर्दछ । यसबाहेक नियमित सेवन गर्ने औषधि पनि हुन्छ । डा. ढुंगानाले धुमपान नगर्ने, धूलो धुँवाबाट बच्ने, निरन्तर औषधिको सेवन गर्ने, चिकित्सकको सल्लाहमा खानपान र जीवनशैली अपनाउने गर्दा दमरोगबाट बच्न सकिने बताउनुभयो । यसैबीच नेपालमा दम तथा श्वासप्रश्वास रोगसम्बन्धि जनचेतना जगाउने उद्देस्यले विश्व श्वासप्रश्वास ( सिओपिडी) दिवस मनाइयो । दम रोगबाट जोगिने उपाय तथा यसका बारेमा सचेतना फैलाउन उद्देस्यले विश्व श्वासप्रश्वास तथा दम दिवस मनाउने गरिन्छ । ‘स्वस्थ फोक्सो आवस्यकता’ भन्ने नाराकासाथ विश्व स्वासप्रस्वास तथा दमरोग दिवस मनाइयो । हरेक वर्ष नोभेम्बर महिनाको तेस्रो बुधबार विश्व श्वासप्रश्वास तथा दमरोग दिवस मनाउने गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?