logo
२०८० चैत्र १६ शुक्रवार

   राष्ट्रिय जनगणना–२०७८   



स्थानीय तहबाट पर्याप्त सहयोग भएन

मुख्य समाचार |


स्थानीय तहबाट पर्याप्त सहयोग भएन


नगेन्द्र सापकोटा

काठमाडौँ, कात्तिक ३० गते । राष्ट्रिय जनगणना–२०७८ मा खटिएका गणकले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका छन् ।
कतिपय नागरिकलाई जनगणनाबारे जानकारी नै नभएको गणकहरूले बताएका छन् । कतिपयले पर्याप्त जानकारी दिन आनाकानी गरेको बताइएको छ । थाहा नपाउनेहरूसँग जनगणनाका क्रममा सूचना लिन कठिन भएको गणकहरू बताउँछन् । देश विकासका लागि तथ्याङ्क सङ्कलनको महत्त्वपूर्ण आधारका रूपमा रहेको राष्ट्रिय जनगणनामा खटिएका अधिकांश गणकले स्थानीय तहबाट आफूहरूलाई पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गरेका हुन् ।
काठमाडौँ महानगरपालिका–२६, लैनचौर क्षेत्रमा खटिनुभएका गणक शरद डाँगीले स्थानीय तहबाट पर्याप्त मात्रामा सहयोग नभएको गुनासो गर्नुभयो । “काठमाडौँ सहरजस्तो ठाउँमा त कतिपय नागरिकलाई सूचना दिन अनुरोध नै गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “कतिपय नागरिकले जनगणनाबारे जानकारी नभएर पनि सूचना दिन गाह्रो मानेका हुन् ।

त्यसका लागि स्थानीय तहले नियमित रूपमा जनगणनाका लागि माइकिङ गर्ने, समुदाय सचेतना कार्यक्रम गर्दा जनगणना सफल बनाउन सहज हुन्थ्यो ।”
देशभरका ७५३ स्थानीय तहका छ हजार ७४२ वडाले जनगणना अवधिभर नियमित रूपमा माइकिङ गरी समुदाय सचेतना गर्नुपर्ने सुझाव उहाँको छ । सबैको मोबाइलमा बजेको जनगणनाको रिङटोनले भने केही सहज भएको उनीहरूको भनाइ छ । काठमाडौँमा नजिकै घर भएकाले सरदर दैनिक १२ घर गणना गर्नुपर्ने भए पनि आफूले भने २० देखि २५ घरपरिवारको गणना गर्ने गरेको डाँगीले बताउनुभयो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ मा खटिनुभएका गणक गायत्री बस्नेतले कतिपय नागरिकले आफूहरूले सोधेका सबै प्रश्नको सजिलै उत्तर दिएर सहयोेग गर्ने गरेको बताउनुभयो । टोल र समुदायमा जानसमेत सहयोग गर्ने गरिएको पाइएको छ । “सबै नागरिकले जनगणनाबारे सजिलै बुझ्ने हो भने यो राष्ट्रिय महाअभियान सफल बनाउन थप सहयोग हुने थियो”, उहाँले भन्नुभयो, “कतिपय नागरिकचाहिँ बुझेर पनि उत्तर दिन गाह्रो मान्ने गर्छन् ।”
झापाको मेचीनगर नगरपालिका–१३ मा खटिनुभएका गणक मञ्जु रिजालले कतिपय व्यक्तिको घरमा जाँदा मद्यपान र धूमपान गरेर बस्ने मानिसहरू भेटिएको बताउँदै त्यस्ता व्यक्तिलाई जत्ति बुझाउँदा पनि सूचना लिन कठिन हुने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जनगणना सफल पार्ने जिम्मेवारी गणकको जत्ति हुन्छ, त्यत्तिकै जिम्मेवारी सर्वसाधारण नागरिक र जनप्रतिनिधिको पनि हुन्छ तर त्यस्तो सहयोग पर्याप्त पाइएको छैन ।”
देशभर करिब ३५ हजार स्थानीय तहका जनप्रतिनिधि, समुदायका शिक्षक, बुद्धिजीवी, नागरिक समाजका अगुवा, स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ताले देशभर खटिएका गणकलाई सहजीकरण गर्नुपर्ने गणकहरूको भनाइ छ । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जनगणना स्थानीय सरकारको सक्रिय सहभागिताबिना सम्भव नहुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?