logo
२०८१ बैशाख ११ मंगलवार

   राष्ट्रिय जनगणना सुरु   



पहिलो दिनमै १५ लाखको गणना

जनगणनामा सबैले गणकले सोधेका प्रश्नको उत्तर दिएर सहयोग गर्न आग्रह

मुख्य समाचार |


पहिलो दिनमै १५ लाखको गणना


नगेन्द्र सापकोटा

काठमाडौँ, कात्तिक २६ गते । राष्ट्रिय जनगणना–२०७८ बिहीबारबाट सुरु गरिएको छ । जनगणनाको पहिलो दिन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीको विवरण सङ्कलन गरेर जनगणना शुभारम्भ गरिएको छ ।
पहिलो दिन बिहीबार बिनाअवरोध देशैभर जनगणना गरिएको छ । केही स्थानीय तहमा चिसो मौसमका कारण केही ढिलो गरी जनगणाना सुरु गरिए पनि देशैभर जनगणना प्रारम्भ गरिएको छ । सुरुकै दिन करिब १५ लाख व्यक्तिको गणना गरिएको जानकारी केन्द्रीय तथ्याङ्क विभागले दिएको छ ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोलीले राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपति कार्यालयमा पुगेर जनगणनाको विवरण सङ्कलन गर्नुभएको थियो । विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई बताउनुुभयो । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिक रूपमा सन्देश दिन तथ्याङ्क लिइएको हो । जनगणना लिएको सबै तथ्याङ्क गोप्य राखिनेछ ।
राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराउनुभएको थियो । यसैगरी गणकले सोध्नुभएको प्रश्नअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपति पुनले राष्ट्रिय जनगणना–२०७८ को सफलताको शुभकामना दिनुभयो । उहाँले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशस्तरमा खटिएका गणक र सुपरिवेक्षकले पनि सम्बन्धित प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पालिकाका प्रमुखको विवरण सङ्कलन गरेर जनगणना सुरु गरिएको विभागले जनाएको छ । जनगणनालाई राष्ट्रिय अभियानका रूपमा शुभारम्भ भएको सकारात्मक सन्देश प्रवाह गर्न विभागले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका प्रदेश र स्थानीय तहका प्रमुखहरूको विवरण सङ्कलन गरिएको जानकारी विभागका उपमहानिर्देशक डा. हेमराज रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीले राष्ट्रिय जनगणना–२०७८ को भिडियो सन्देश जारी गर्दै देश विकासका लागि अत्यावश्यक पर्ने जनगणनामा सबैले गणकले सोधेका प्रश्नको उत्तर दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।
जनगणनाका लागि देशैभर ७५३ वटा स्थानीय तहका छ हजार ७४२ वटै वडामा गरी ३९ हजार जना गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक कार्य क्षेत्रमा खटिएका छन् । पाँच जना गणकलाई एक जना सुपरिवेक्षकले यस अगाडि गरिएको घर तथा घरपरिवारको सूचीकरणको फारम र नक्सा प्रदान गरेर अनुगमन, समन्वय र सहजीकरण गरिरहेका छन् ।
त्यस्तै गणकलाई सुपरिवेक्षक, सुपरिवेक्षकलाई स्थानीय जनगणना अधिकारी र स्थानीय जनगणना अधिकारीलाई जिल्ला तथा प्रदेश जनगणना अधिकारी र जिल्ला र प्रदेश जनगणना अधिकारीलाई तथ्याङ्क विभागले आवश्यक सहयोग र समन्वय गरिरहेको जनाइएको छ ।जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । यस वर्ष जनगणनाका लागि काठमाडौँ महानगरपालिकासहित काठमाडौँका छवटा स्थानीय तहमा प्रविधियुक्त (ट्याबलेट)को प्रयोग गरिएको विभागले जनाएको छ ।
उहाँका अनुसार सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालनमा ल्याइएको छ । गत भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको थियो । त्यसकै आधारमा हाल जनगणना गरिएको छ । यस वर्षको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने तय गरिएको छ । राष्ट्रिय जनगणना–२०७८ नेपालमा १२औँ जनगणना हो । पहिलो पटक १९६८ सालमा चन्द्रशमशेरको पालमा पहिलो जनगणना भएको थियो ।
२०७८ सालमा जारी जनगणनामा तीन करोडभन्दा बढी जनसङ्ख्या पुग्ने अनुमान गरिएको छ । कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म गरी १५ दिनसम्म गरिएको जनगणनाको प्रारम्भिक विवरण आउन कम्तीमा तीन महिना र पूरै विवरण आउन छदेखि नौ महिना लाग्ने जनाइएको छ । नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरिएको छ ।
जनगणनामा कोही नछुटुन् भनेर विभागले प्रविधिको प्रयोग गरेको छ । विदेशमा कूटनीतिक नियोगमार्फत गणना गरिनेछ । दार्च‘लाको लिम्पियाधुरामा कूटनीतिक पहलबाट समन्वय गरेर वा वैकल्पिक विधिबाट भए पनि जनगणना गरिने विभागले जनाएको छ ।
यसैबीच विभिन्न राजनीतिक दलका नेताहरूले अलग अलग वक्तव्य जारी गरेर जनगणनालाई सफल बनाउन देशवासीसँग आग्रह गर्नुुभएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार नै छुुट्टाछुुट्टै वक्तव्य जारी गरेर सही विवरण उपलब्ध गराउन सबै देशवासीसँग आग्रह गर्नुभएको छ ।
यस्तै नेपाल आदिवासी जनजाति महासङ्घले विज्ञप्ति जारी गर्दै सही तथ्याङ्क बनाउन सक्रिय हुनु आवश्यक रहेको जनाएको छ । महासङ्घले यस पटकको जनगणनालाई आदिवासी जनजातिहरूले सही तरिकारले प्रयोग गर्दै हाम्रो सामाजिक संरचनाको वस्तुगत विशेषता र बहुलताअनुसारको जनगणना बनाऔँ, यसका लागि अबको १५ दिन जागरूक रहौँ भन्ने आग्रह पनि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?