logo
२०८१ बैशाख ७ शुक्रवार



साँस्कृतिक कूूटनीतिमा राजदूत

मुख्य समाचार |


साँस्कृतिक कूूटनीतिमा राजदूत


चाँदनी हमाल

काठमाडौँ, कात्तिक २३ गते । फरक देश, धर्म र संस्कार भए पनि नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक व्यक्तित्वले यहाँका प्रमुख चाडपर्वमा आफैँ रमेर अनुभव सँगाल्ने गर्नुभएको छ । पछिल्लो समय विशेषतः दशैँ, तिहारजस्ता नेपालीका महत्त्वपूर्ण चाडमा नेपालस्थित विभिन्न देशका राजदूतले विविध कार्य गरेर नेपालीको ध्यानाकर्षण गर्ने प्रयास गर्दै आउनुभएको छ ।

चाडकै अवसर पारेर कपितय राजदूतले नेपाली भाकाको गीत गाउँदै शुभकामना दिने त कतिपयले नेपाली सङ्गीतमा नृत्यसहितको सन्देश पस्कँदै आएको पाइएको छ ।
घरपरिवारबाट टाढा विदेशी भूमिमा रहँदा त्यहाँको सामाजिक संस्कार, संस्कृति तथा धर्मसँग जोडिएका चाडपर्वसँग साक्षात्कार गर्न उहाँहरूले भुुल्नुभएको छैन । असोज र कात्तिक महिनामा पर्ने नेपालको मुख्य पर्व वडादशैँ र तिहारको अवसरमा नेपाली नागरिक र सरकारलाई शुभकामना दिनेमात्र हैन, नेपाली कला, संस्कार र संस्कृतिमा साथै रमाउने भूमिका पनि कूटनीतिक व्यक्तित्वले गर्नुभयो ।

नेपालस्थित अमेरिकी राजदूत ¥यान्डी बेरी पछिल्लो समय सबैभन्दा बढी नेपाली समाज र संस्कृतिसँग नजिक रहन मन पराउनुहुन्छ । उहाँले सामाजिक सञ्जालमार्फत व्यक्त गर्नुभएका अभिव्यक्ति र गतिविधिका तस्बिरले पनि त्यो झल्काउँछ । दशैँमा आफ्ना परिवारसँगै बसेर निधारमा रातो टीका लगाउन उहाँले चुक्नुभएन । उहाँको आफ्नो देशको धर्म र संस्कार फरक छ । तर, नेपालको धर्म संस्कारको मान्यतालाई निकै सम्मान दिनुभयो । त्यतिमात्र हैन, तिहारको भाइटीका होस् वा लक्ष्मीपूजाको दीपावली त्यसमा पनि उहाँ र उहाँको परिवार नेपाली परिवारले जस्तै उमङ्गमा रम्नुभयो । दीपावलीमा दियो बाल्दै खिचाउनुभएको उहाँको तस्बिरले नेपाली संस्कृतिप्रति सम्मान झल्कन्छ ।

यसैगरी, युरोपियन युनियनका नेपालस्थित राजदूत नोना डेप्रेजले पनि लक्ष्मीपूजाको दिन आफ्नो निवासस्थलमा रङ्गोली बनाएर दियो बाल्नुभयो । ढोकाभरि सयपत्री फूलका मालाले सिँगारिएको उहाँको निवास निकै सुन्दर देखिन्थ्यो । दियो बालेपछि भिडियो सन्देशमार्फत उहाँले तिहारका लागि शुभकामना पनि दिनुभयो । नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले पनि नेपाली संस्कारको तिहारको भिलिमिलीलाई आफ्नो कर्तव्यसँगै रमाउने पाटोका रूपमा प्रस्तुत गर्नुभयो ।
नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी पनि आफ्नो र नेपाली मुलुकको चाडपर्वप्रति उत्तिकै चासो राख्ने कूटनीतिक व्यक्तिका रूपमा चिनिनुहुन्छ । आफ्नो दूतावासका कर्मचारीसँग पर्वको खुसी साट्दै उहाँले शुभकामना सन्देश सामाजिक सञ्जालमार्फत साझा गर्नुभयो । उहाँले सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई एउटा उज्यालो, शान्त र गौरवशाली शुभ तिहारका लागि मङ्गलमय शुभकामना भनेर सन्देश दिनुभयो ।

साथै उहाँले सप्तरङ्गी टीका तथा मखमली फूलको माला लगाई दिदीबहिनीले दाजुभाइको पूजा गर्ने दिन भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई पनि उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
आफ्नो देशको सरकारको प्रतिनिधित्व गर्दै नेपालस्थित २७ वटा मुलुुकका आवासीय प्रतिनिधि तथा ८१ वटा मुलुकका गैरआवासीय प्रतिनिधित्व गर्ने कूटनीतिज्ञ रहँदै आउनुभएको छ । साथै विभिन्न मुलुकका तर्फबाट महावाणिज्यदूतका रूपमा कार्यरत व्यक्तित्व पनि आफ्नो र छिमेकीसँगको सम्बन्ध बलियो बनाउन सक्रिय रहनुभएको छ ।

उहाँहरूले जस्तै नेपालस्थित जर्मन, जापानलगायत विभिन्न मुलुकका दूतावासले पनि नेपालको चाडपर्वको सम्मान गर्दै शुभकामना प्रकट गर्नुभएको थियो ।
कुनै पनि मुलुकबीच सद्भाव र भाइचाराको सम्बन्ध बलियो बनाउनका लागि यस्ता सामाजिक रूपमा मनाइने पर्वोत्सवले मुख्य सेतुका रूपमा काम गर्छ । सफ्ट पावरका रूपमा विश्वमञ्चको कूटनीतिक वृत्तमा जनसम्बन्धलाई मानिन्छ । जनसम्बन्धको जग बसाउन विभिन्न मुलुकका कला, संस्कृति, चाडपर्व र जनस्तरमा हुने स–साना सामाजिक गतिविधिले मुख्य भूमिका खेल्ने पूर्वराजदूत मदनकुमार भट्टराई उल्लेख गर्नुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?