logo
२०८० चैत्र १५ बिहीवार



आयातीत सामानबाटै तिहारको रमझम

अर्थ |


आयातीत सामानबाटै तिहारको रमझम


सीता शर्मा

काठमाडौँ, कात्तिक १८ गते । तिहार सुरु भएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौँको इन्द्रचोक, भोटाहिटी, असन, महाबौद्ध, नयाँ सडक, बानेश्वर, ललितपुरको लगनखेल, जाउलाखेललगायतका व्यापारिक केन्द्रमा भाइटीकामा चाहिने सामान बेच्ने र किन्नेको चहलपहल ह्वात्तै बढेको हो । तिहारका सामान किन्नेको भीड बढेसँगै सामानको मूल्य पनि मनलाग्दी छ । तिहारमा विशेषगरी लक्ष्मी पूजा गर्दा चाहिने दियो तथा पाला, दाजुभाइ पुज्नका लागि भाइमसला, ओखर तथा ढाका टोपी, दीपावली गर्न मैनबत्ती र झिलिमिली बत्तीको कारोबार हुन्छ ।

भाइमसला
भाइमसला नरिवल, काजु, किसमिस, बदाम, ओखर आदि मिसाएर बनाइएको हुन्छ । भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइका लागि भाइमसला दिने गरिन्छ । दाजुभाइलाई दिने भाइमसला नरिवल, बदाम, ओखर नेपालमै फलाउन सकिने भए पनि भारतमै भर पर्नुपरेको छ । देशी बदाम, काजु, पेस्ता, छोकडा, किसमिस, सप्तरङ्गी टीका र सयपत्री फूल पनि भारतबाट आयात हुँदै आएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार भाइमसलाको भाउ गत वर्षको तुलनामा यो वर्ष काजुु, छोकडा, खुुर्पानीको भाउ बढे पनि किसमिस, पेस्ता, छोकडा, देशी बदाम, ओखर, सुुकमेल भने घटेको देखिएको छ ।

दियो तथा पाला
लक्ष्मीपूजाका दिन लहरै बालिने दियो तथा पाला काठमाडौँ उपत्यकामै बन्थ्यो र यसको माग पनि यहीँकोले धान्दै आएको थियो तर विगतका केही वर्षदेखि दिगो पालाको बजार पनि चिनियाँ व्यापारीले लिन थालेका छन् । हेर्दै आकर्षण देखिने दियो बजारमा ल्याएर नेपाली दियो तथा पालालाई नै ओझेलमा परेको असनका पुराना व्यापारी दिलबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार पाँच÷छ वर्षअघिसम्म तिहारमा चाहिने सामग्रीमध्ये दियो तथा पाला मात्रै भए पनि स्वदेशी उत्पादनले धानिरहेको थियो तर अहिले नेपाली उत्पादनभन्दा पनि चिनियाँ उत्पादनले बजार लिन थालेको छ ।

फूलको माला
दाजुभाइलाई लगाइदिने र घरमा समेत माला बनाएर सजाइने भएकाले अरू समयको तुलनामा तिहारमा फूलको माला धेरै खपत हुन्छ । स्वदेशी उत्पादनले मात्र धान्न नसकेपछि तिहारमा भारतबाट तीन लाखभन्दा बढी सयपत्री फूलको माला आयात हुँदै आएको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन
(फ्यान)का अध्यक्ष मीनबहादुर तामाङले यो वर्ष भारतबाट साढे दुुई लाख मात्रै सयपत्री फूूल ल्याउने भनिएकामा तीन लाखभन्दा बढी पहिले नै भिœयाइएको बुधबारको बजारको अवस्थाले देखाएको जानकारी दिनुुभयो । हरेक वर्ष फूलको माग १० देखि १५ प्रतिशत बढ्ने भए पनि यो वर्ष भने अनुुमान गरेभन्दा बढी फूलको खपत हुने देखिएको फ्यानका अध्यक्ष तामाङले बताउनुुभयो । उहाँले भन्नुुभयो, “बुधबार बजारको अवस्था बुुझ्दा फूूलको भाउ घटेको र भाउ घटेसँगै यसअघि हामीले अनुुमान गरेभन्दा डेढ लाख बढी सयपत्री फूलका माला खपत हुने देखिएको छ । ” फ्यानले यसअघि यो पटक सयपत्री साढे १५ लाख र साढे दुुई लाख मखमली र गोदावरी माला खपत हुने अनुुमान गरेको थियो । यो वर्ष दुई अर्ब ५० करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ भने झन्डै १८ करोड रुपियाँ बराबरको फूलको कारोबार तिहारमा मात्रै हुने अनुुमान फ्यानले गरेको छ ।

ढाकाटोपी
तिहारमा ढाकाटोपीको बिक्री पनि फस्टाउँदो छ । बजारमा पाल्पाली र पूर्वेली ढाकाटोपी प्रख्यात छन् । यी ढाकाका लागि पनि भारतको गोरखपुरबाट कच्चा पदार्थ आयात गर्नुपरेको टोपी व्यापारी रामहरि घिमिरेले बताउनुभयो । “भारतको गोरखपुरबाट कच्चा पदार्थ ल्याएर पाल्पामा बुनिन्छ, त्यहाँ बुनेको ढाका बालाजुमा रहेको कारखानामा सिलाएपछि बजारमा आउँछ,” घिमिरेले बताउनुभयो । उहाँका अनुसार प्रतिपिस ५० रुपियाँँदेखि एक हजार ५०० रुपियाँसम्ममा टोपी बेच्न राखिए पनि तिहारमा २५० रुपियाँ पर्ने टोपी धेरै बिक्री भइरहेको छ ।

इलेक्ट्रिक बत्ती र दियो
बजारमा इलेक्ट्रिक बत्ती र दियो पनि बेच्न राखिएका छन् । ती झिलिमिली बत्ती र इलेक्ट्रिक दियो चीनबाट आयात हुन्छ । बिजुलीमा जडान गर्नसाथ झिलिमिली बल्ने बत्ती र कागज तथा प्लास्टिकका फूल पनि उतैका हुन् तर बिजुली हुँदा मात्र बल्ने भएकाले धेरैले माटाका दियो र पाला नै खोज्ने गरेका असनका व्यापारी रामेश्वर महर्जनले बताउनुभयो ।

मैनबत्ती
लक्ष्मी पूजाका दिन कतिले घरको चारैतिर मैनबत्ती बालेर दीपावली गर्छन् । मैनबत्ती देशभित्रै बनाए पनि कच्चा पदार्थ भने भारतबाटै आयात हुने गरेको व्यापारी श्याम बोहोरा बताउनुुहुन्छ । चाडपर्वका बेला नेपाली बजार चम्किएको देखिए पनि सरसामानका लागि अर्बौं रुपियाँ देशबाहिर गइरहेको हुन्छ । हामीलाई आवश्यक पर्ने स–साना सामानसमेत नेपालमा उत्पादन नहुँदा चाडपर्वकै बेला सबैभन्दा बढी रकम देशबाहिर जाने गरेको जानकारहरू बताउँछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?