logo
२०८१ बैशाख ११ मंगलवार



निगरानीका लागि टोल विकास संस्था

राष्ट्रिय |


निगरानीका लागि टोल विकास संस्था


नगेन्द्र सापकोटा

काठमाडौँ, कात्तिक १६ गते । स्थानीय तहका जनप्रतिनिधिले गरेका कामको प्रत्यक्ष निगरानी र समन्वय गर्नेगरी सबै स्थानीय तहमा टोल विकास संस्था गठन गरिने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको विकास निर्माणका काममा प्रत्यक्ष अनुगमन, समन्वय, सहयोगी र साझेदारी गर्नेगरी प्रत्येक टोलमा टोल विकास संस्था गठन गर्न नमुना कार्यविधि निर्माण
गरी सबै स्थानीय तहमा पठाइएको छ ।

मन्त्रालयका उपसचिव रेशुम कँडेलले भन्नुभयो, “स्थानीय तहमा टोल विकास संस्था गठन गर्ने क्रम धमाधम बढ्दै गएको छ । ” उहाँका अनुसार टोल विकास संस्थाले स्थानीय तहका टोलको सरसफाइ, छाडा पशु चौपाया व्यवस्थापन, सडक–बत्ती सामुदायिक पार्क, सार्वजनिक शौचालयजस्ता सार्वजनिक सम्पत्तिको सञ्चालन र व्यवस्थापनमा टोल विकास संस्थाले सहयोग गर्नुपर्ने गरी कार्यविधि निर्माण गरिएको छ ।
टोल विकास संस्थाले काननुबमोजिम तिर्नुपर्ने कर, दस्तुर सेवा शुल्क बुझाउने कार्यमा सहयोग गर्ने, टोलमा रहेका शैक्षिक तथा स्वास्थ्य संस्थाको व्यवस्थापनमा र गुणस्तर सुधारका लागि सहयोग गर्ने, सामाजिक सुरक्षा भत्ता वितरणमा सहजीकरण गर्ने, टोलमा खाद्यान्न, माछा–मासु, तरकारी, फलफूल र पेय पदार्थलगायतका दैनिक उपभोग्य सामग्रीको गुणस्तर मूल्य–सूचीबारेमा जानकारी राख्नुपर्नेछ ।

टोल विकास संस्थामा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष सचिव एक÷एक जना र सदस्य तीनदेखि सात जनासम्म रहन सक्नेगरी कार्यविधि निर्माण गरिएको छ । संस्था गठन गर्दा टोल तथा बस्तीभित्रका एक घरधुरीबाट एक जनाभन्दा बढी नपर्नेगरी भौगोलिक सन्तुलन तथा सामाजिक समावेशी आधारमा सभा वा वडा कार्यालयले तोकेको चार किल्लाभित्रका नागरिकको आमभेलाबाट सर्वसम्मत रूपमा संस्थाको कार्यसमिति गठन गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त संस्थाको कार्यकाल दुई वर्षको हुनेछ । सम्भव भएसम्म टोलका सबै घरधुरीलाई टोल विकास संस्थामा समावेश गराउनुपर्ने र सो हुन नसके कम्तीमा ८० प्रतिशत घरधुरी संस्थामा समावेश हुनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।
उहाँले भन्नुभयो, “समाजमा विकास निर्माण र सुशासन स्थापित गर्ने कार्यमा टोल विकास संस्थाको महŒवपूर्ण भूमिका हुने भएकाले टोल तथा बस्तीस्तरदेखि नै विकासमा नागरिकको सहभागिता सुनिश्चित गर्नका लागि यसखालको अवधारणा ल्याइएको होे । ”
स्थानीय तहका जनप्रतिनिधिलाई सहयोग गर्ने, स्थानीयस्तरमा भएका विकासमा नागरिकको सहभागिता सुनिश्चित गर्ने कार्यमा टोल विकास संस्था सहयोगी बन्ने बताउँदै उहाँले भन्नुभयो, “टोल विकास संस्थाले नागरिक र जनप्रतिनिधिबीच पुलको काम गर्छन् । ” समाजको आर्थिक, सामाजिक, साँस्कृतिक विकासमा सबै पक्षमा दिगोपन र अपनत्व सिर्जना गर्न टोल विकास संस्था वडा कार्यालयको सहयोगी संस्थाका रूपमा काम गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले स्थानीय तहमा जनप्रतिनिधि हुँदासम्म टोल विकास संस्थाको आवश्यक नभएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?