logo
२०८० चैत्र १६ शुक्रवार



बालबालिकालाई तिहारपछि फाइजर खोप

स्वास्थ्य |
मुख्य समाचार |


बालबालिकालाई तिहारपछि फाइजर खोप


यलुु जोशी

काठमाडौँ, कात्तिक १२ गते । बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको छ । त्यस्तै कात्तिकको अन्त्यतिर दीर्घरोग भएकालाई समेत खोप दिने जनाइएको छ ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार फाइजर–बायोएनटेकको एक लाख ६२० डोज नेपाल भित्रिसकेको छ । प्राप्त खोपले १२ वर्षमाथिको उमेर समूहका सबैलाई पुग्दैन । त्यसैले हालका लागि २४ वटा अस्पतालबाट मात्र खोप दिइने जनाइएको छ ।
उहाँले खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियानलाई विस्तार गरिने बताउनुभयो । सरकारले सकेसम्म ४० लाख मात्रा मोडर्ना खोप एकै पटक ल्याउने गरी तयारी थालेको समेत सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो । मोडर्ना खोप तिहारपछि ल्याउने गरी प्रक्रिया अघि बढेको समेत जनाइएको छ ।
उहाँका अनुसार सम्भवतः सन् २०२१ को अन्त्यसम्ममा खोप ल्याइनेछ । केही ढिला भएमा सन् २०२२ को सुरुसम्ममा आउनेछ ।
अन्य खोपको दाँजोमा मोडर्ना र फाइजरजस्ता कोभिड खोपहरू लामो समय भण्डारणका लागि निकै कम तापक्रममा राख्नुपर्छ । मोडर्ना खोप छ महिनासम्म भण्डारण गर्न माइनस २० डिग्री सेल्सियस तापक्रम कायम गर्नुपर्छ तर एक महिनासम्म राख्नका लागि भने अन्य खोपसरह दुईदेखि आठ डिग्रीमै राख्न सकिने विज्ञहरूले जनाएका छन् ।
उहाँले भन्नुभयो, “हामीसँग दुईदेखि आठ डिग्री खोप भण्डारण गर्न सक्ने ठाउँहरू धेरै छन् । त्यसैले हाम्रो प्राथमिकता खोप ल्याएर लामो समय राख्नेभन्दा ल्याएपछि जतिसक्दो छिटो लगाउने भन्ने नै हो ।” उहाँका अनुसार ४० लाख मोडर्ना खोप एकै खेपमा ल्याउँदा पनि व्यवस्थापन गर्न सकिने क्षमता छ । बालबालिकालाई खोप लगाउन सरकारले निर्णय गरेसँगै अभिभावकमा कौतुहलता र खोप लगाएपछि हुनसक्ने ‘साइड इफेक्ट’ का बारेमा अभिभावकले चासो राख्ने गरेका छन् ।
सो सन्दर्भमा शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनले १२ देखि १५ वर्षका बालबालिकालाई खोप दिँदा शतप्रतिशत कोभिड–१९ प्रतिरोधी क्षमता विकास गरेको अनुसन्धानमा देखाएको बताउनुभयो ।
यसअघिका अनुभवमा खोप लगाएको ठाउँमा दुख्ने, थकान महसुस गर्ने, टाउको दुख्ने, जाडो लाग्नु÷काम्नु, मांसपेशी दुख्नु, ज्वरो आउनु, जोर्नी दुख्नुजस्ता समस्या बढी देखिएका छन् । यसमध्ये एउटा मुटुसम्बन्धी अति दुर्लभ समस्या पनि अनुसन्धानमा देखिएको डा. पुनले बताउनुभयो ।
उहाँका अनुसार दोस्रो डोज लगाएपछि देखिएको यो समस्यामा मुटुका मांसपेशी वा बाहिरी तह सुन्निएको थियो । यस्ता समस्या गम्भीर नभएका र उपचारपछि पूर्ण रूपमा निको भएका छन् । खोप लगाएपछि छाती दुख्ने, सास फेर्न गाह्रो हुने, छिटोछिटो मुटु चल्ने आदि समस्या देखिए तुरुन्त अस्पताल गई मुटुसँग सम्बन्धित जाँच गराइहाल्नुपर्ने उहाँको सुझाव छ । फाइजर खोपको दुई डोज तीन हप्ताको अन्तरालमा दिइने मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?