logo
२०८१ बैशाख ८ शनिवार



विद्यार्थी खोज्दै विद्यालय

उपत्यकाका सार्वजनिक विद्यालयमा ३० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा अनुपस्थित

शिक्षा |
मुख्य समाचार |


विद्यार्थी खोज्दै विद्यालय


शेषकान्त पण्डित

काठमाडौँ, कात्तिक ८ गते । कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि कमै मात्र विद्यार्थी कक्षामा उपस्थित भएका छन् ।
उपत्यकाका धेरै सार्वजनिक विद्यालयमा ३० प्रतिशतको हाराहारीमा विद्यार्थी अनलाइन कक्षामा अनुपस्थित रहेपछि आफ्ना विद्यार्थीको खोजी कसरी गर्ने भन्नेमा अहिले धेरैलाई चिन्ताको विषय बन्न पुगेको छ । कक्षामा विशेष गरी छात्राहरू बढी नियमित पठनपाठनमा छुटेका कारण उनीहरूलाई कसरी पुनः कक्षाकोठामा भित्र्याउने भन्नेमा विद्यालयले चासो देखाउन थालेका छन् ।
राजधानीको जनकल्याण माध्यमिक विद्यालय बौद्धले आफ्ना पुराना विद्यार्थीमध्ये ७० प्रतिशत विद्यार्थी मात्र हाल अनलाइन कक्षामा आएपछि बाँकी विद्यार्थीलाई खोज्न शिक्षकलाई रिचार्ज कार्ड उपलब्ध गराएर फोन सम्पर्क गर्न थालेको छ । फोन सम्पर्क गरेपछि २०७७ सालमा कक्षाकोठाभन्दा बाहिर भएका कमजोर आर्थिक अवस्थाका विद्यार्थी २०७८ सालको नयाँ शैक्षिक सत्रमा भर्ना भएर पुस्तक लिएर गएको विद्यालयका प्रधानाध्यापक कुमारीकमला राई बताउनुहुन्छ ।
कोरोनाका कारण कति विद्यार्थी छुटे भन्ने यकिन विवरण भने भौतिक रूपमा कक्षा लाग्न थालेपछि मात्र थाहा हुने उहाँ बताउनुहुन्छ । विद्यालय खुलेपछि मात्र विद्यालयमा नआएका विद्यार्थीले कक्षा छोडेको, अन्य विद्यालयमा भर्ना भएको वा के कस्तो अवस्थामा छन् भन्ने कुरा पत्ता लाग्ने उहाँ बताउनुहन्छ । ललितपुरस्थित आदर्शशौउल माध्यमिक विद्यालयको प्राथमिक तहमा झन्डै २० प्रतिशतको हाराहारीमा विद्यार्थी अझै कक्षामा आउन सकेका छैनन् । विद्यालयले विद्यार्थीलाई पुरानो नम्बरमा फोन गरेर सम्पर्क प्रयास गरे पनि उनीहरूसँग सम्पर्क कायम हुन नसकेको विद्यालयका प्रअ सरोजभक्त आचार्य बताउनुहुन्छ ।

अब विद्यालय भौतिक रूपमा कक्षा सञ्चालन भइसकेका कारण तिहारसम्ममा सबै विद्यार्थी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । ती विद्यार्थीसँग सम्पर्क कायम नभएका कारण उनीहरूको शैक्षिक अवस्था के छ भन्ने कुरा भने यकिन भन्न नसकिने प्रअ आचार्य बताउनुहुन्छ ।

विद्यालय नै मुख्य जिम्मेवार
आफ्ना पुराना विद्यार्थी कहाँ पुगेका छन् भनेर खोजी गर्ने मुख्य जिम्मेवारी सम्बद्ध विद्यालयकै भएको सरोकारवाला व्यक्ति बताउँछन् । भर्नाका बेला विद्यार्थीको सबै अभिलेख विद्यालयमा राखिने भएकाले उनीहरू कक्षामा अनुपस्थित हुँदा त्यसको खोजी गर्ने मुख्य नैतिक जिम्मेवार निकाय नै विद्यालय भएको सम्बद्ध क्षेत्रका व्यक्तिको भनाइ छ ।

छात्रा धेरै प्रभावित
कोरोनाका कारण विद्यालयमा नियमित रूपमा पठनपाठनबाट प्रभावित हुनेमा गरिब तथा विपन्न वर्गका विद्यार्थी तथा छात्रा बढी रहेको जनाइएको छ । धेरैजसो सार्वजनिक विद्यालयमा कमजोर आर्थिक अवस्थाका विद्यार्थी अध्ययन गर्ने, अरूका घरमा बसेर अध्ययन गर्ने छात्रा बढी हुने र नियमित पठनपाठन अवरुद्ध भएपछि विवाह गरिदिने प्रवृत्तिका कारण छात्रा यसबाट बढी प्रभावित भएको हुन सक्ने नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी बताउनुहुन्छ ।
सरकारले कक्षा आठसम्म अनिवार्य शिक्षाको प्रतिबद्धता संविधानमार्फत नै जनाएको छ । यो अवस्थामा विद्यालय बाहिर गएका विद्यार्थीको खोजी गरेर कक्षाकोठामा ल्याउनुपर्ने उहाँ बताउनुहुन्छ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. भगवान अर्याल सामाजिक सांस्कृतिक प्रचलन, छिटो बिहे गर्ने चलनका कारण पनि छात्रा कक्षाबाट बाहिर हुने अवस्था आएको बताउनुहुन्छ । नियमित पठनपाठन अवरुद्ध भएपछि विपन्न वर्गका छात्रछात्राको पठनपाठनमा नियमित गर्न समस्या देखिने उहाँ बताउनुहुन्छ ।

घरदैलो अभियान गराँै
छुटेका विद्यार्थीको खोजीका लागि सम्बद्ध विद्यालयले शिक्षक परिचालन गरेर घरदैलो अभियान सञ्चालन गर्नुपर्ने सुझाव शिक्षा क्षेत्रका जानकारको छ । सहप्राध्यापक डा. अर्याल कोरोनाको बेला पूरै विद्यालयको पठनपाठन ठप्प गरेर शिक्षकलाई कामविहीन बनाएका कारण अहिले विद्यार्थी कक्षाकोठा बाहिर रहने समस्या विकराल रूपमा आएको बताउनुहुन्छ ।
यो राज्यका लागि ठूलो समस्याको विषय बन्ने उहाँ बताउनुहुन्छ । नियमित कक्षा हुन नसकेको समयमा पनि शिक्षकलाई परिचालन गरेर आफ्ना विद्यार्थीको खोजी गर्न सकेको भए त्यसबाट विद्यार्थीको कक्षा छोड्ने दरमा धेरै कमी आउने विश्लेषण उहाँको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?