logo
२०८१ बैशाख ७ शुक्रवार



उजुरी नै पर्दैनन् लिमीको प्रहरी चौकीमा

मुख्य समाचार |


उजुरी नै पर्दैनन् लिमीको प्रहरी चौकीमा


राजन रावत

हुम्ला, कात्तिक १ गते । सहरी क्षेत्रमा प्रहरीलाई अपराध नियन्त्रण गर्न हम्मेहम्मे परिरहेका बेला हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–६ मा भने कुनै पनि उजुरी परेको छैन । हिमालपारिको गाउँसमेत भनेर चिनिने लिमीको प्रहरी चौकीमा अहिलेसम्म कुनै उजुरी परेको अभिलेख छैन ।

तामाङ समुदायको बसोबास रहेको यो क्षेत्रमा झैझगडा, अपराध र चोरीका घटना हुँदैन । लिमी हल्जी गाउँकी टसिडोमा तामाङले हालसम्म उजुरी लिएर चौकी सुनखानीमा जानु नपरेको बताउनुभयो । उहाँले गाउँमा उच्छृङ्खल कार्य नहुने भएपछि स्थानीयवासीले उजुरी दिनु परेको छैन । वर्षौं पुरानो प्रहरी चौकी गाउँले अर्को गाउँमा जाँदा मात्र हेर्ने गर्छन् ।

वडाध्यक्ष पाल्जोर तामाङले लिमीका तीन गाउँमा कुनै आपराधिक घटना नहुने भएकोले हाइसन्चो भएको बताउनुभयो । उहाँले गाउँ–गाउँकाबीच सामान्य विवाद आए गाउँलेसँग वडामै बसेर मिलाउने गरिएकाले पनि प्रहरी चौकीसम्म पुग्नु नपर्ने बताउनुभयो । उहाँले चौकीका प्रहरी गाउँमा आएको देखिए रासन पानीको समस्या, उपाचार वा कार्यालय र आफन्तसँग फोन सम्पर्क गर्न आएको बुझ्नुपर्ने बताउनुभयो । लिमीका स्थानीयवासीको असल व्यवहारकै कारण हालसम्म गाउँमा कुनै अपराध वा झैझगडा नभएकै कारण मुद्दा खेप्नु नपरेको उहाँले बताउनुभयो ।

गत जेठमा जिल्लाबाट प्रहरी चौकी सुनखानी पुग्नुभएका चौकी इन्चार्ज कृष्णजङ्ग शाहले तीन गाउँ तिल, हल्जी र जाङबाट कुनै मुद्दा मामिला र उजुरी नपरेको बताउनुभयो । उहाँले यस वर्ष मात्र नभएर अघिल्ला वर्षहरू पनि उजुरी परेको तथ्याङ्क नदेखिएको बताउनुभयो । लिमीवासीमा निकै शालीन, अनुशासित, अपराध गर्नै हुन्न भन्ने मानसिकता पाइएकाले प्रहरीले चौकी कुर्ने काम मात्र गरिरहनु परेको बताउनुभयो । धेरै जङ्गली जनावर र पक्षी हुने लिमीमा मारकाट र शिकार खेल्नसमेत स्थानीयवासीले बन्देज लगाएका छन् । उहाँले चौकीका प्रहरीको कामै गस्ती जाने, खाद्यान्नको व्यवस्था गर्ने र चौकीको सुरक्षा गर्ने रहेको बताउनुभयो ।

यस वर्ष सीमा प्रहरी चौकीले लुकिछिपी जडीबुटी सङ्कलन गर्न आएका एक जना गाउँ बाहिरका मानिसबारे गाउँलेसँगै छलफल गरेर मिलापत्र गरेको उहाँले बताउनुभयो । त्योबाहेक चौकीमा कुनै उजुरी आएको तथ्याङ्क छैन । कुनै आपराधिक घटना नहुने र हिउँदमा हिउँ पनि धेरै पर्ने भएका कारण प्रहरी जेठदेखि कात्तिक महिनासम्म मात्र चौकीमा बस्ने गर्छ । कात्तिकपछि वैशाखसम्म लिमी चौकीको प्रहरी जिल्लामा फिर्ता हुने गर्छ । २३ जना दरबन्दी भएको लिमीको प्रहरी चौकीका लागि हाल नौ जना मात्र कार्यरत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?