logo
२०८० चैत्र १६ शुक्रवार

  ताप्लेजुङ जिप दुर्घटना अपडेट  



सात जना गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला बाहिर 'रेफर'

प्रदेश |


सात जना गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला बाहिर 'रेफर'


चन्द्र पन्दाक
ताप्लेजुङ, असोज २८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा भएको जिप दुर्घटनामा परी घाइते भएका १८ जनामध्ये गम्भीर सात जनालाई उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङकाअनुसार दुर्घटनाका गम्भीर सात जनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राकेश यादवले बाँकी सबै घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । सामान्य अवस्थाका घाइते केही जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किनुभएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

सदरमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको मे १ ज २०५६ नम्बरको बोलेरो जिप मेची राजमार्गअन्तर्गत दोखुको ल्याङ्बामा बिहीबार दिउँसो ब्रेकफेल भई जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गर्भवती महिलासहित नौ जना गम्भीर घाइते भएका थिए । गम्भीर घाइते हुनेमा सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेकी २५ वर्षीया बिमला लिम्बू, मामाङ्खेकै ३० वर्षीय सन्त लिम्बू, २६ वर्षीया प्रमिला लिम्बू, २७ वर्षीय सञ्जीव लिम्बू रहनुभएको छ ।

यस्तै फुङ्लिङ नगरपालिका–४ का १४ वर्षीय अब्दुल अलि, फुनपा ४ कै ३१ वर्षीया नम्रता बस्नेत, ३८ वर्षीय चन्द्र बस्नेत, १३ वर्षीय रिपब्लिक बस्नेत र सात वर्षीय रोशन बस्नेत गम्भीर घाइते हुनुभएको छ ।

जिप चालक फुङ्लिङ नगरपालिका–८ का ३८ वर्षीय डिल्लीबिक्रम सुनुवार सामान्य घाइते हुनुभएको छ । क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेकफेल भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?