logo
२०८० चैत्र १६ शुक्रवार



पूर्वअध्यक्ष रेग्मीद्वारा विजयादशमीको शुभकामना व्यक्त

राष्ट्रिय |


पूर्वअध्यक्ष रेग्मीद्वारा विजयादशमीको शुभकामना व्यक्त


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २८ गते । मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालीबीचको एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजयादशमीले राष्ट्रनिर्माणमा एकजुट हुन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

विजया दशमीको अवसरमा विहिबार शुभकामना व्यक्त गर्नुहुँदै पूर्व प्रधान न्यायाधीश समेत रहनुभएका रेग्मीले सो कामना गर्नुभएको हो । “सांस्कृतिक रुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमा मनाइँदै आएको महान् पर्व विजया दशमीको सुखद उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु” उहाँले भन्नुभएको छ ।

संविधान सभाबाट संविधान निर्माण भए पश्चात्को साझा एजेन्डा विकास र समृद्धि भएको उहाँले चर्चा गर्नुभएको छ । कोभिडका कारणले विकास निर्माणको काममा बाधा पुगेको उहाँले बताउनुभएको छ । “कोरोनाकैबीच राजनीतिले स्थिरतामा अस्थिरता थप्यो र मुलुकको एजेन्डा कता पुग्यो कता” उहाँले भन्नुभएको छ, “जस्तोसुकै अवस्थामा पनि व्यवस्थापकीय कौशल राज्यव्यवस्थामा देखाउनुपर्ने हुन्छ । चुनौतीभित्र अवसर खोज्न सकिएन भने उद्देश्य र लक्ष्यले सार्थकता पाउन कहाँ पो सक्छ र ?”

सामाजिक रुपान्तरण र समृद्धि त्यसै टुप्लुक्क आइपुग्ने चिन नभएको चर्चा गर्नुहुँदै पूर्व अधयक्ष रेग्मीले विकास निर्माणको काम आकाशबाट खस्ने र भाग्योदय चिट्ठा नभएको चर्चा गर्नुभएको छ । अहिलेको राजनीतिक अवस्था र संवैधानिक अभ्यासले कामचलाउ प्रकृतिको झल्को दिइरहेको चर्चा गर्नुहुँदै उहाँले थप्नुभएको छ, “नेपालमा लामो समयदेखि राजनीतिक व्यवस्थापनमै समय बित्यो । हाल पनि राजनीतिमै अल्झी रही अन्य कुरा गौण हुन पुग्दा संविधानतः केही भएर पनि केही भएजस्तो नदेखिनु सुखद पक्ष होइन ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?