logo
२०८० चैत्र १५ बिहीवार



खोकनामा सिकाली जात्राको तयारी

खुला |


खोकनामा सिकाली जात्राको तयारी
फाईल तस्विर


यलु जोशी

ललितपुर, असोज २२ गते । देशभर दशैँको चहलपहल सुरु हुँदा खोकनावासीले सिकाली जात्रा तयारीमा जुटेका छन् । ललितपुरको सबभन्दा पुरानो बस्तीमध्ये एक खोकनामा प्रत्येक वर्ष यही समयमा सिकाली जात्रा (रुद्रायणी नाच) हर्षोल्लासका साथ मनाइन्छ ।
ललितपुर महानगरपालिका–२१ खोकनाका वडाध्यक्ष रवीन्द्र महर्जनले खोकनावासीका लागि इष्ट देवताका रूपमा मानिने रुद्रायणी भवानी देवी जात्रा महोत्सव अन्य समुदायका लागि दशैँजस्तै महìवपूर्ण रहेको बताउनुभयो ।
उहाँले कोरोना महामारीको समयमा पनि नरोकिएको जात्रा यो वर्ष झनै हर्षोल्लासका साथ मनाउने जानकारी दिनुभयो । रुद्रायणी गुठीका बैदार बेखनर महर्जनले नाच सांस्कृतिक बाजागाजासहित जात्रा गर्नुसँग मात्र सम्बन्धित नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो देश रक्षा गर्ने यहाँको परम्परा पनि हो ।”
जात्राको सुरुवात आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)को दिनदेखि नै हुन्छ भने घटस्थापनाको पर्सिपल्ट (आश्विन शुक्ल तृतीय तिथि)को दिनमा रुद्रायणी विद्यालयअघि राँगाको बलि दिएर जात्रा गर्ने गरिन्छ ।
हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री सङ्कलन गर्ने गर्छन् । त्यही पूजा सामग्रीबाट तृतीयाको दिन सिकाली चौरमा गएर पूजा गर्ने चलन रहेको गुठियार महर्जनले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चमीको दिन मूल जात्रा रूपमा खट जात्रा गरिन्छ । भोलि अर्थात् षष्ठीको दिन रुद्रायणी गुठियार सिकाली चौरमा मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा धार्मिक मान्यताअनुसार अश्वमेघ यज्ञमा सहभागी हुन्छन् यो नै मुख्य आकर्षणका रूपमा लिने गरिन्छ ।
उहाँले चौरमा नृत्यमार्फत देवगणहरूले यज्ञमा सेतीदेवी होमिँदा वीरभद्र र महाकाली जागी यज्ञ विध्वंस गरेको दृश्य देखाउने बताउनुभयो ।
सप्तमीका दिन खोकना तल्लो लाछी टोलको डबलीमा नाच देखाउने प्रचलन छ । उक्त नाचलाई महालक्ष्मीले महिषासुरलाई वध गरी खुसियाली मनाएको नाच (लसता प्याँख) का रूपमा लिइन्छ । जुन जात्राको मुख्य रौनकका रूपमा लिइन्छ ।
रुद्रायणी देवता मण्डलले खोकनामा तः गुठी, सालाः गुठी, जउँ गुठीसँग मिलेर सिकाली जात्रा निकाल्ने गर्छ । तृतीयादेखि सुरु हुने जात्रा षष्ठीका दिन देवताका विभिन्न स्वरूपमा मुकुन्डो लगाएका १६ जना र अरू वाद्यवाधकसहित ४६ जना मिलेर खोकना परिक्रमा गर्ने गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?