logo
२०७८ माघ १३ बिहीवार



चम्किँदै जुत्ता चप्पल व्यापार

अर्थ |


चम्किँदै जुत्ता चप्पल व्यापार


सीता शर्मा

काठमाडौँ, असोज १९ गते । कोरोनाले शिथिल बनेको अर्थतन्त्रमा दशैँको बजारले केही राहत दिएको छ । त्यसमा जुत्ता चप्पलको व्यवसाय पनि अहिले फस्टाएको छ ।
अन्य समयको तुलनामा चाडपर्वमा नयाँ जुत्ता चप्पलको कारोबार पनि धेरै हुने नै हो । सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दशैँलाई लक्षित गरेर जुत्ता चप्पल बिक्रीका लागि राखिएका छन्, किन्नेको भीड छ ।
नेपालमा नै जुत्ता चप्पलको उत्पादन बढ्दै गए पनि अझै आत्मनिर्भर भने हुनसकेको छैन । फुटवेयर मेनुुफेक्चरर्स एसोसिएसन अफ नेपालका अनुसार देशमा वार्षिक नौ करोड जोर जुत्ता खपत हुने गरेकामा ६५ प्रतिशत स्वदेशी उत्पादन र बाँकी आयातित जुत्ताले बजारको माग धान्ने गरेको छ । आयात पनि १५ प्रतिशत भारत, १५ प्रतिशत चीन र ५ प्रतिशत अन्य मुलुकबाट हुने गर्छ ।
एसोसिएसनका अनुसार वार्षिक ३० अर्ब रुपियाँ बराबरको जुत्ता चप्पलको कारोबार हुने गरेको छ । नेपाली बजारमा झन्डै १८ अर्ब रुपियाँ स्वदेशी र १२ अर्ब रुपियाँ बराबरको आयातित जुत्ताले बजार ओगट्ने गरेको छ ।

स्वदेशी उत्पादनमा बढ्दो आकर्षण
पछिल्लो समय स्वदेशी उत्पादनमा उपभोक्ताको आकर्षण बढ्दै गएको छ । नेपाली उपभोक्ताले स्वदेशी जुत्ताका विभिन्न डिजाइन खोज्न थालेका छन् । एसोसिएसनका अध्यक्ष कृष्ण फुयालले स्वदेशी जुत्ता व्यवसायको बजार क्रमिक रूपमा सुधारोन्मुख अवस्थामा रहेको बताउनुुभयो । स्वदेशमै गुणस्तरीय र आकर्षक डिजाइनका जुत्ता–चप्पल उत्पादन हुन थालेपछि बजार बढ्नुका साथै उद्योग पनि क्रमशः बढ्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार हाल नेपालमा साना ठूला गरेर १५ हजार जुत्ता चप्पल उद्योग सञ्चालनमा छन् भने जसमा न्यूनतम १०० रुपियाँदेखि १० हजार रुपियाँसम्मका जुत्ता बिक्री भइरहेका छन् ।
टाकुरा सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले नेपालमा उच्च गुणस्तरीय जुत्ता उत्पादन हुन थालेपछि आयातित जुत्ताभन्दा पनि उपभोक्ताको रोजाइमा स्वदेशी जुत्ता चप्पल नै पर्ने गरेको बताउनुुभयो । पछिल्लो समय देशमै आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न थालेपछि यसले व्यवसाय विस्तारमा सघाउ पु-याएको उहाँको भनाइ छ ।

दक्ष कालिगडको अभाव
देशमा अहिले पनि जुत्ता चप्पल निर्माण गर्ने दक्ष कालिगडको अभाव छ । एसोसिएसनका अनुसार जुत्ता उद्योगमा काम गर्ने ३० प्रतिशत कालिगड छिमेकी मुलुक भारतबाट आएका छन् ।
स्थानीय स्तरमा काम गर्ने दक्ष जनशक्ति नहुँदा स्वदेशी रकम बाहिरिने गरेको छ । देशमा रोजगारी नपाएर वैदेशिक रोजगारीका लागि जाने तर छाला जुत्ता व्यवसाय जनशक्ति अभावले भारतबाट कालिगड ल्याउनुपरेको उद्योगी न्यौपानेले बताउनुुभयो ।

आयातितमै आकर्षण
एसोसिएसनका अनुसार नेपाली जुत्ताको इतिहास पाँच दशक लामो भए पनि उद्योगहरू फस्टाउन थालेको डेढ दशक मात्रै भयो । स्कुल, पार्टी सुज, सुरक्षाकर्मीका लागि आवश्यक पर्ने, महिलाका जुत्ता, क्याजुअललगायतका सबै वर्गलाई लक्षित गरेर जुत्ता बनाउने गरिन्छ तर पनि देशमा गुणस्तरीय जुत्ता चप्पल उत्पादन भए पनि बजार उपभोक्ताको रोजाइमा भने आयातित सस्तो मूल्यका जुत्ता चप्पल पर्ने गरेको उद्योगी बताउँछन् ।
बजारमा चीनबाट ब्रान्डेड लोगोमा भित्रिने सस्तो मूल्यका स्यान्डलको बिगबिगी छ । नेपाली उद्यमीले पनि विदेशी ब्रान्डको लोगो लगाएर लेडिज जुत्ता र स्यान्डल बिक्री गरिरहेका छन् । स्पोट्र्स सुज चिनियाँ र तेस्रो मुलुकबाट बढी भित्रिन्छन् । नेपालमा उत्पादित स्पोट्र्स सुजले अझै उपभोक्ताको विश्वास जित्न सकेको छैन ।
स्पोट्र्स सुजको एउटा बजार गोल्डस्टार ब्रान्डले लिएको छ । अरू उद्योगले पनि स्पोट्र्स सुज उत्पादन गरिरहेका छन् तर पनि नेपालमा महँगो मूल्यका स्पोट्र्स सुज विदेशबाटै भित्रिन्छन् । गोल्डस्टारको सबैभन्दा ठूलो बजार भारत हो ।
नेपाली गोल्डस्टारले भारतमा ठूलो परिमाण जुत्ता निर्यात गर्दै आएको थियो तर पछिल्लो समय भारत सरकारले लगाएको गुड्स एन्ड सर्भिस टयाक्स (जीएसटी)का कारण पनि निर्यात बढ्न नसकेको व्यवसायी बताउँछन् । गोल्डस्टारसँगै मखमलका जुत्ता चप्पल पनि नेपालबाट निर्यात हुने गरेको एसोसिएसनका अध्यक्ष फुयालले बताउनुुभयो ।

लेडिज स्यान्डल चीनकै बढी
अझै पनि स्वदेशी लेडिज जुत्ता तथा स्यान्डलले उपभोक्ताको विश्वास जितेको देखिँदैन । चीनबाट ब्रान्डेड लोगोमा भित्रिने सस्तो मूल्यका स्यान्डलको बिगबिगी छ । नेपाली उद्यमीले पनि विदेशी ब्रान्डको लोगो लगाएर लेडिज जुत्ता र स्यान्डल बिक्री गरिरहेका छन् । मुलुकमा गुणस्तरीय उत्पादन भए पनि विदेशबाट जुत्ता चप्पलको आयात कम हुन सकेको छैन ।
स्वदेशी जुत्ता र विदेशी जुत्ताको खपत बढिरहेको देखिन्छ । जुत्तामा पूर्ण आत्मनिर्भर बन्न नसकिने तर दुई/तीन वर्षमा ८० प्रतिशतसम्म आत्मनिर्भर बन्न सकिने व्यवसायी बताउँछन् । सरकारले कच्चा पदार्थमा सहुलियत, न्यून बिजकीकरण नियन्त्रण गर्नु, लगानी बढाउनका लागि सहुलियत दरमा ऋण उपलब्ध भए व्यवसायमा चार/पाँच वर्षमा आत्मनिर्भर बनी निर्यात गर्नसक्ने अवस्था आउने व्यवसायीको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

khwopo-college