logo
२०८० चैत्र १५ बिहीवार



रेडपान्डा संरक्षण गर्न जग्गा खरिद

खुला |


रेडपान्डा संरक्षण गर्न जग्गा खरिद


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, असोज १७ गते । संसारमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को संरक्षणमा चुनौती थपिन थालेपछि निजी जग्गा खरिद गरी बासस्थान निर्माण गर्न थालिएको छ । बासस्थान निर्माण गर्न व्यक्तिको नाउँमा रहेको जग्गा खरिद गरी सरकारी निकायलाई हस्तान्तरण गरिएको छ ।
लजालु स्वभावका रेडपान्डाको चोरीसिकार बढ्दै जाँदा संसारमै यसको सङ्ख्या दिनप्रतिदिन घट्दो छ । नेपालमा पनि यो वन्यजन्तु चोरीसिकारको निशानामा पर्न थालेपछि रेडपान्डा पाउने नेपालको पूर्वी क्लस्टरमा यो अभियान सुरु गरिएको छ । रेडपान्डा नेटवर्क काठमाडौँले इलामको जौबारी क्षेत्रमा व्यक्तिको नाममा रहेको जग्गा जमिन खरिद गरेर डिभिजन वन कार्यालय इलामलाई हस्तान्तरण गरेको छ ।
इलामको सन्दकपुर गाउँपालिका–५ मा रहेको ६१० रोपनी जग्गा खरिद गरी डिभिजन वन कार्यालय इलामलाई प्रदान गरिएको नेटवर्कका निर्देशक आङफुरी शेर्पाले जानकारी दिनुभयो । करिब एक करोड रुपियाँमा सो जग्गा खरिद गरिएको हो । उहाँका अनुसार सन्दकपुर गाउँपालिका–५ को जौबारी, कोप्चे तथा मुर्चुलडाँडा क्षेत्रको खरिद गरिएको जग्गामा वृक्षरोपण गरी तारबार गरिएको छ । सो क्षेत्रमा रेडपान्डाको आहार मानिने मालिङ्गो, भालुचिन्डे, लौठसल्लालगायतका एक लाख बिरुवा रोपिएको छ । यो क्षेत्रमा थप १२ हजार रोपनी व्यक्तिको जग्गा खरिद गर्ने योजना नेटवर्कले बनाएको छ । नेटवर्कका निर्देशक शेर्पाले भन्नुभयो, “त्यहाँको सबै जग्गामा वृक्षरोपण गरेर बासस्थान पुनर्निर्माण गर्न आवश्यक छ । यति ठूलो क्षेत्रफल एकैपटक खरिद गर्न सकिँदैन । सहयोग जुटाउँदै खरिद गर्दै गर्ने योजना बनाएका छौँ । ”
नेटवर्कका कार्यक्रम संयोजक सोनाम टासी लामाले भन्नुभयो, “यो जग्गासँग जोडिएको पारिपट्टि भारतीय क्षेत्रमा सिङ्गलिला राष्ट्रिय निकुञ्ज छ । ”
यो निकुञ्ज रेडपान्डा पाउने प्रमुख स्थान मानिन्छ । यता, नेपालतर्फ भने खाली नाङ्गा डाँडाकाँडामात्र भएकाले नेपालको क्षेत्रमा बासस्थान सुधार तथा निर्माण गर्न यो अभियान सञ्चालन गरिएको हो । यो क्षेत्रका व्यक्तिका जग्गा भारतको सो निकुञ्ज र नेपालका सामुदायिक वनको बीच भागमा रहेका छन् ।
सीमाक्षेत्रमा रहेको सिङ्गलिला राष्ट्रिय निकुञ्ज र नेपालतर्फ रहेको चिथ्रे, हिले, चोयाटार र कालीखोला सामुदायिक वनको बीचको जैविक मार्ग निर्माण गर्न यो क्षेत्रमा रहेको व्यक्तिको जग्गा खरिद गरेर भए पनि बासस्थान तयार गर्नुपरेको उहाँको भनाइ छ । नेपालका यी सबै सामुदायिक वन रेडपान्डाका राम्रो बासस्थान भएका क्षेत्र हुन् । यो क्षेत्रमा रहेको सबै व्यक्तिको जग्गालाई खरिद गर्ने योजना रेडपान्डा नेटवर्कले बनाएको छ । नेटवर्कका निर्देशक शेर्पाले भन्नुभयो, “यो संस्थाको आर्थिक अवस्था अहिले कमजोर छ । विदेशबाट आउने सहयोग पनि कोभिडका कारणले आउन सकेको छैन । परिस्थिति सहज भएपछि इलाम, पाँचथर र ताप्लेजुङमा बासस्थान सुधार र निर्माणका लागि जग्गा खरिद गर्ने योजना अघि बढाइनेछ । ”
नेपालमा सङ्कटमा रहेको रेडपान्डाको संरक्षणका लागि विदेशी वैज्ञानिक, संरक्षण अध्येता, राजनीतिक व्यक्तिले व्यक्तिगत रूपमा र संरक्षण साझेदार संस्थाले संस्थागत रूपमा रेडापान्डा नेटवर्कमार्फत सहयोग पु¥याउँदै आएका छन् ।
इलामको चोयाटार सामुदायिक वनले पहिलो पटक रेडपान्डाको दृश्यावलोकन गरी पर्यापर्यटन प्रवद्र्धन अभियान सुरु गरेको थियो । वासस्थान बिग्रँदै गएपछि बिस्तारै रेडपान्डा हराउँदा सो योजना तुहिन थाल्दा सबैतिर चिन्ता बढेको थियो । हाल रेडपान्डा नेटवर्कले बासस्थान सुधारको योजनासहित सातवटा रेडपान्डामा जीपीएस कलर गरेपछि यस विषयमा अध्ययन गर्न सहज भएको छ । स्थानीय समुदायको रेडपान्डा क्षेत्रमा घाँस, दाउरा तथा अन्य वनस्रोतमा पर्ने दबाब कम गर्न हाल खरिद गरिएका क्षेत्रमा डालेघाँसका बिरुवा रोपिएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?