logo
२०८० चैत्र १५ बिहीवार



सूचना लिने र दिने दुवै जागरुक हुनुपर्छ – अध्यक्ष तिमिल्सिना   

मुख्य समाचार |


सूचना लिने र दिने दुवै जागरुक हुनुपर्छ – अध्यक्ष तिमिल्सिना   
फाइल फाेटाे



काठमाडौँ, असोज १२ गते । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउन सुझाव दिनुभएको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचनाको हक कार्यान्वयनको विषय लोकतन्त्र र सुशासनसँग जोडिएकाले लिने र दिने दुवै जागरुक हुन आवश्यक रहेको बताउनुभयो ।    
    
 उहाँले भन्नुभयो, “राज्यबाट सम्पादन हुने काम कारबाहीलाई पारदर्शी तुल्याउन जनता र सबै तहका सरकार सचेत हुनुपर्छ, भ्रष्टाचार न्यूनीकरण, सुशासन कायम र लोकतन्त्रलाई सुदृढ तुल्याउन सूचनाको हक कार्यान्वयनले ठूलो योगदान पु¥याउँछ ।”    
    
 राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले जनताले सही सूचना प्राप्त गर्न नसकेमा राज्यद्वारा प्रदान गरिने सेवासुविधा दुरुपयोग हुन सक्छ भन्नुभयो ।    
    
 उहाँले भन्नुभयो, “सूचनाको हक सुशासनका लागि चाहिने आवश्यक तत्व हो । राज्यको स्रोत साधनको सही सदुपयोग भए÷नभएको विषय जनताले सूचनाको हक कार्यान्वयनबाटै थाहा पाउने हुँदा यसको भूमिका र महत्व धेरै छ ।”    
    
 राष्ट्रिय सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार घटाउन र नागरिकलाई बलियो तुल्याउन राज्यका निकायले जनतालाई सूचना प्रवाह गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहका कामकारबाहीसँग जोडिएको थुप्रै उजुरीको सङ्ख्या बढ्ने क्रमले लोकतान्त्रिक पद्धति सुदृढ मात्र होइन, नागरिक पनि सचेत भइसकेको सङ्केत गरेको छ । सूचनाको हक कार्यान्वयनले राज्यलाई जिम्मेवार र उत्तरदायी बनाउँछ ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले सूचनाको हक सम्पूर्ण रुपमा स्थापित गराउन आयोगले अझ बढी घनिभूत र क्रियाशीलरुपमा लाग्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।    
    
 उहाँले भन्नुभयो, “सूचनाको हकलाई कार्यान्वयन गर्न र प्रत्येक सूचना सरोकालवालासँग छिटोछरितो र सरल ढङ्गबाट पु¥याउन मन्त्रालयले केही गृहकार्य गरिरहेको छ ।     
    
 नेपाल पत्रकार महासङ्घका सभापति विपुल पोख्रेलले लोकतन्त्रसँग अन्योन्याश्रित सम्बन्ध रहेको सूचनाको हक कार्यान्वयन गर्ने सन्दर्भमा सूचना लिने र दिने संस्कृतिलाई व्यवस्थित तुल्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।    
    
 उहाँले भन्नुभयो, “सूचनाले पारदर्शी समाज निर्माण गर्छ, पारदर्शी समाजले मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्छ । सूचना लिने र दिने प्रक्रिया लोकतन्त्रलाई बलियो बनाउने आयामसँग जोडिएको विषय हो ।”    
    
 आयोगका सचिव भगीरथ पाण्डेले सबै जनतामा सूचनाको पहुँच विस्तार गर्ने सिलसिलामा आयोगद्वारा भइरहेको प्रयासको जानकारी गराउनुभयो ।    
    
 सूचना प्रविधिका क्षेत्रमा भइरहेको तीव्र विकासलाई दृष्टिगत गरी सरकारले पूर्वाधार, पहुँचको विस्तार, डिजिटल साक्षरतालाई अघि बढाइरहेको जानकारी दिइयो ।    
    
 सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने सूचना अधिकारी दयाराम तिवारी (मुस्लिम आयोग), सुरजकुमार भुजेल (थाहा नगरपालिका), राजेश चौधरी (जिल्ला हुलाक कार्यालय ताप्लेजुङ) र सरोज खतिवडा जिल्ला हुलाक कार्यालय खोटाङलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।    
    
 सूचना हकका अभियन्ता अजयकुमार साह (उदयपुर), डा. मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार पर्सालाई आयोग स्थापना दिवसका अवसरमा गत वैशाख २२ गते घोषणा गरिएको ‘विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार’ प्रदान गरियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?