logo
२०७८ मंसिर १५ बुधवार



गहना बनाउन कालिगडको अभाव

अर्थ |


गहना बनाउन कालिगडको अभाव


सीता शर्मा

काठमाडौँ, असोज १० गते। “सुनका गहनाको अर्डर धेरै छ, कालिगड नभएर झन्डै डेढ वर्षदेखि ग्राहकको अर्डरअनुसारका गहना बनाउन सकिएको छैन,” कलङ्कीस्थित शाक्य सुनचाँदी पसलका सञ्चालक विमल शाक्यले भन्नुुभयो। कोरोनाको त्रासले गहनाको अर्डर पनि बन्द भएपछि गत वर्षै घर (भारतको बङ्गाल) गएका कालिगड अहिलेसम्म नफर्किएको उहाँको भनाइ छ।
“कालिगड त नेपाली पनि छन्,” उहाँले भन्नुुभयो, तर बङ्गालका कालिगडले जस्तो राम्रो डिजाइनका गहना बनाउनै सक्दैनन्। नेपाली कालिगडले बनाएका गहना परम्परागत डिजाइनका हुने भएकाले अचेल ग्राहकले मन नै पराउँदैनन्। ” त्यसैले पनि व्यवसायीले स्वदेशीभन्दा विदेशी कालिगडलाई रुचाउने गरेको अनुुभव विमल शाक्यको छ। कोरोना भाइरसको त्रास बढ्दै गएपछि डेढ वर्षअघि आफ्नो देश गएका धेरैजसो दक्ष कालिगड नफर्किएपछि कालिगडको अभाव भएको हो। सङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कोरोनका कारण आआफ्नो देश गएका धेरै भारत तथा बङ्गलादेशका कालिगड फर्किनसकेको बताउनुहुन्छ।
नेपालको सुनचाँदी व्यवसाय मात्रै होइन, इँटाभट्टा, तयारी पोसाकदेखि फर्निचर फर्निसिङलगायतमा भारतीय तथा बङ्गलादेशी श्रमिकमा आश्रित छ। उनीहरू नफर्केपछि दक्ष ती क्षेत्रमा श्रमिकको अभाव बढ्न थालेको छ। कोभिडको असर कहिलेसम्म रहने भन्ने कुनै यकिन नभएकाले धैरै कालिगड पुनः श्रम बजारमा फर्किनेमा रोजगारदाता विश्वस्त छैनन्। घरेलु तथा साना उद्योग महासङ्घका अनुसार घरेलु तथा साना उद्योगमा दक्ष तथा अर्धदक्ष गरी १३ लाख कालिगड भारतबाट मात्रै आउने गरेको र सिजनमा तीन÷चार लाख अझ बढ्ने गरेका थिए। कालिगडको अभावमा अहिले गुणस्तरीय सामान उत्पादन गर्न नसक्दा बजारमा आफ्नो अस्तित्व जोगाउन उद्योगलाई कठिन भएको छ।
नेपाली युवा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै जाँदा स्वदेशी बजारमा दक्ष श्रमिक अभाव पनि बढ्दै छ। नेपालमा कालिगड अभाव नहोस् भनेर सरोकारवालाले सरकारसँग ‘अन द जब ट्रेनिङ’ माग गरी अहिले कार्यविधि निर्माणको चरणमा छ। जसले उद्योगमा काम गर्न चाहन्छ, उसलाई उद्योगमा छ महिनादेखि एक वर्षसम्म काममा लगाई सीप सिकाउने ‘अन द जब ट्रेनिङ’को मुख्य आशय हो। सरकारले यस्ता कालिगडलाई आफैँले व्यवसाय गर्न चाहेमा २५ लाख रुपियाँसम्मको सहज कर्जाको व्यवस्था छ।
सुनचाँदी व्यवसायी सङ्घका अनुसार नेपालमा भारत र बङ्गलादेशका गरी एक लाख ५० हजार कालिगड सुुनचाँदी क्षेत्रमा मात्रै कार्यरत रहेका छन्। पूर्वअध्यक्ष शाक्यका भन्नुहुन्छ, “बिहे तथा चाडपर्वको समयमा सामानको अर्डर धेरै हुन्छ। त्यस्तो बेला कालिगड भएन भने ग्राहक आफ्नो हुँदैन,” उहाँले भन्नुुभयो, “बढी पैसा दिएर भए पनि कालिगड ल्याउनुपर्ने अवस्था अहिले सिर्जना भएको छ। ”
पछिल्लो समय व्यवसाय सुचारु भएसँगै सुनको माग तथा कालिगडको काम पनि बढ्न थालेको छ तर कालिगड नेपाल नफर्केपछि पुरानो अवस्थामा व्यवसाय फर्काउन कठिन भएको पूर्वअध्यक्ष शाक्यले बताउनुुभयो। उहाँले नेपालका कालिगडले आधुनिक वा फेन्सी गहना बनाउन नसक्ने हुुनाले सुनका गहनामा भारत वा बङ्गालादेशकै कालिगडले बढी काम पाउने गरेको जानकारी दिनुुभयो। भारत र बङ्गालादेशी कालिगडले नेपालीमा सुनमा काम गरेर मासिक न्यूनतम ३० हजारदेखि बढीमा ८० हजार रुपियाँसम्म कमाउने गरेको भन्दै पूर्वअध्यक्ष शाक्यले दक्ष कालिगड स्वदेशमा नहुँदा ठूलो धनराशि बाहिरिएको बताउनुुभयो। स्वदेशी कालिगडलाई यस क्षेत्रमा टिकाउन नसक्दा ठूलो धनराशि बाहिरिएको उहाँको बुुझाइ छ।
यता घरेलु तथा साना उद्योग महासङ्घका अनुसार दर्ता भएका चार लाख १८ हजार उद्योगमा २६ लाखलाई रोजगारी दिएको जनाएको छ। दर्ता नभएका उद्योगमा पनि श्रमिकको सङ्ख्या सोही बराबरको हुनसक्ने अनुमान महासङ्घको छ। आकर्षक झ्यालढोका, तोरण र टुँडालहरूमा आफ्नो कला खोप्नेहरूदेखि घरको झ्यालढोका हुँदै इन्टेरियर डिजाइन गर्नेहरू भारत तथा बङ्गालदेशबाट आउने गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?