logo
२०८१ बैशाख ७ शुक्रवार



सरकारको आलोचना जति सकिन्छ गर्नुहाेस् तर सत्य, तथ्यमा आधारित भएर गर्नुहोस् : प्रम देउवा

मुख्य समाचार |


सरकारको आलोचना जति सकिन्छ गर्नुहाेस् तर सत्य, तथ्यमा आधारित भएर गर्नुहोस् : प्रम देउवा
तस्बिर: सुजन गुरूङ्ग


लक्ष्मीप्रसाद उपाध्याय
काठमाडौँ, असोज ७ गते । प्रधाममन्त्री शेरबहादुर देउवाले आफू जहिले पनि स्वतन्त्रताको लागि संघर्ष गरेकोले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन गर्न निरन्तर लागि रहने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्धारा आयोजित हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रता प्रवद्र्धन गर्न र पत्रकारिता पेशाको हकहितका लागि वर्तमान सरकार जहिले पनि सकारात्मक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बिभिन्न संघर्षबाट प्राप्त वर्तमान संविधानले व्यवस्था गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कार्यान्वयन गर्न सरकार सधैँ लाग्नेछ । यसमा कसैले शङ्का लिनु पर्दैन ।’
पत्रकारिता पेशालाई थप विकसित र व्यावसायिक बनाउन सरकार जहिले पनि तयार रहेकाले पत्रकारितासँग सम्बन्धित संस्थाहरुसँग सरकार सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘ सरकारको आलोचना जति सकिन्छ गर्नुहाेस् तर सत्य, तथ्यमा आधारित भएर गर्नुहोस् । सत्य, तथ्य र सिर्जनात्मक आलोचना सरकारलाई नै फाइदा पुग्छ । सरकारका काम कारवाही सही र पारदर्शी हुन मद्धत पुग्छ ।”
प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा आफू जहिले पनि समावेशीताको पक्षधर रहेको बताउनुहुँदै सञ्चारमाध्यम पनि समावेशी चरित्रको हुनु पर्नेमा जोड दिनुभयो ।
प्राकृतिक विपत्ती तथा महामारीको अग्रपंक्तिमा काम गर्ने सञ्चारकर्मीहरुले निकै जोखिममा रहेर काम गर्ने गरेको धारणा राख्नु भएका प्रधानमन्त्री देउवाले पत्रकारिता पेशाको जोखिमलाई न्यूनीकरण गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा कपिलवस्तु जिल्लामा कोरोना संक्रमण अझै यथावत रहेको र अक्सिजन ग्यासको अभाव रहेको समाचार प्रसारण गरिएको थियो । जुन समाचार पुरस्कृत भएको हो । सो समाचार हेरपछि कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘कपिलवस्तुमा अझै त्यस्तो समस्या रहेको छ भन्ने मैले यहाँ थाहा पाए । म आजै त्यहाँको अवस्था बुझेर तत्काल अक्सिन ग्यासको व्यवस्था मिलाउने र उपचारलाई थप प्रभावकारी बनाउने व्यवस्था मिलाउने छु । मैले बारम्बार खोपको कुरा गर्दै आएको छु, आगामी बैशाखसम्म सबै नेपालीलाई खोप लगाइसक्ने योजनाका साथ सरकारले काम गरिरहेको छ ।”
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले पत्रकारिता क्षेत्र जोखिमपूर्ण पेशा भएकोले यसलाई न्यूनीकरण गर्ने उपायका अवलम्बन गर्नका लागि सरकार काम गर्न तयार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, नीतिगत कुराहरुलाई कसरी सहजीकरण गर्न सकिन्छ । त्यसका लागि मन्त्रालय जहिले पनि सकारात्मक ढंगले समन्वयकारी भूमिका खेल्न तयार छ ।
पत्रकारिता क्षेत्रलाई निष्पक्ष तथा मर्यादित बनाउन आवश्यक भएको बताउँदै सचिव डा. अर्यालले भन्नुभयो, ‘सरकारी सञ्चारमाध्यमबाट सही, सत्य समाचार छिटो छरितो तरिकाले आम नागरिकको पहुँचमा पुगोस् भन्ने सरकारले चाहेको हुन्छ । यस तर्फ सरकारी सञ्चारमाध्यमले लाग्न जरुरी छ ।’
नेपाल टेलिभिजनका महाप्रवन्धक फूलमान बल तामाङले नेपालको पत्रकारितासँग जोखिमको घनिष्ठ सम्बन्ध जोडिएर आउने भएकाले आगामी दिनमा पत्रकारिता पेशालाई कम जोखिमयुक्त बनाउनुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले पछिल्लो दिनमा नेपाल टेलिभिजनले आफ्ना च्यानल मार्फत समाचार छिटो र सही रुपमा आम नागरिकसम्म पु¥याउने कार्य गरिरहेको बताउँदै टेलिभिजनको आर्थिक कारोवारमा पनि वृद्धि भएको जानकारी दिनुभयो ।
कार्यक्रममा हेम सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार प्राप्त गर्नुहुने नेपाल टेलिभिजनका कपिलवस्तु समाचारदाता बासुदेव बर्मालाई नगद ५१ हजार सहित दोसल्ला र कदरपत्र प्रदान गरियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, पत्रकार शालिकराम सुवेदी, दीपक समिर, सुरेन्द्र पौडेल, दिपकजङ्ग हमालले बिभिन्न राजनीतिक आन्दोलनमा राजनीतिक दलसँग सहकार्य गर्दै आएका नेपालका पत्रकारको अभिव्यक्ति स्वतन्त्रतामाथि कुण्ठित हुने खालका विधेयक अघिल्लो सरकारले ल्याएकोले वर्तमान सरकारले तत्काल खारेज गर्न माग गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?