logo
२०८० चैत्र १५ बिहीवार



बागलुङका पर्यटकीयस्थलमा चहलपहल बढ्दै 

पर्यटन |


बागलुङका पर्यटकीयस्थलमा चहलपहल बढ्दै 


       
गलकोट, असोज ७ गते । गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीयस्थल मानिएको बागलुङ कालिका मन्दिर छ महिना अघिदेखि आन्तरिक पर्यटक बढ्न थालेका छन् ।    
कोरोना अघि दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने पञ्चकोटमा पनि तीन महिना अघिदेखि फाटफुट आन्तरिक पर्यटक आउन थालेका छन् ।    
    
विश्वकै चर्चित पर्यटकीयस्थल ढोरपाटनमा शिकार खेल्नका लागि विदेशी पर्यटले अनुमति पाइसेका छन् । गलकोटको सहस्रधारा झरना, टेउवाको खुला मूर्तिकला सङ्ग्रहालय, बागलुङ नगरपालिका–४ स्थित भूमिगत शालिग्राम सङ्ग्रहालयलमा पनि पर्यटकको चलहपहल सुरु भइसकेको छ ।    
    
जिल्लाका अधिकांश व्यवसायलाई समेत खोपको प्रबन्ध भएपछि व्यापार व्यवसायसमेत बढ्न थालेकोे जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो । “होटल तथा अन्य व्यवसायीलाई खोपको व्यवस्था गर्दै आएका छौँ । अहिले बागलुङ बजारमा चहलपहल व्यापक भइसकेको छ, कालिका मन्दिर, पञ्चकोटलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा समेत आन्तरिक पर्यटक देखिन थालेका छन्” उहाँले भन्नुभयो, “कोरोनाको दोस्रो लहरमा ठप्प रहेको व्यापार, होटल व्यवसाय, पर्यटन व्यवसाय चल्न थालेका छन् ।”    
    
 बागलुङ र पर्वत जिल्लाको बिचमा रहेको कालीगण्डकी नदीमाथि रहेको बञ्जी पुलमा आउने पर्यटकसमेत आउन थालेपछि यहाँका होटलमा चहलपहल बढ्न थालेकोे होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ जिल्ला अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।    
    
“थलिएको पर्यटन व्यवसाय विस्तारै उठ्न थालेको छ, होटलमा पाहुना आउन थालेका छन्, अब केही आशावादी भएका छौँ, खोपको व्यवस्थापन भइरहेकाले हामी व्यवसायीसमेत विस्तारै व्यवसायमा केन्द्रित भएका छौँ” उहाँले भन्नुभयो, “पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धन भएपछि निकै राम्रो भएको थियो तर कोरोनाले यहाँका व्यवसायलाई धरासायीनै बनायो, अहिले पुनः सुरु भएकाले केही राहत हुनेछ ।”    
पछिल्लो समय बेलढुङ्गा, हाँडीकोट, मूर्तिकला, चमेरे गुफा, गाईघाट झरना र सहस्रधारा झरना पुनः चहलपहल सुरु भइरहेको छ । विश्वकै लामो पुल ‘गण्डकी गोल्डेन वृज’मा अहिले आन्तरिक पर्यटकको भीड नै लाग्ने गरेको छ भने कालिका मन्दिरमा मङ्गलबार र शनिबार भक्तजनको चाप बढदै आएको छ ।    
    
दर्शनार्थीलाई सामाजिक दूरी कायम गरी मन्दिर अवलकोन तथा दर्शन गर्ने व्यवस्था मिलाएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?