logo
२०८१ बैशाख १३ बिहीवार



‘अरुण तेस्रोको काम सन्तोषजनक

मुख्य समाचार |


‘अरुण तेस्रोको काम सन्तोषजनक


ध्यान कुलुङ

सङ्खुवासभा, असोज ७ गते । जलस्रोत तथा ऊर्जामन्त्री पम्फा भुसालले अरुण तेस्रोको कामबाट सरकार सन्तुष्ट रहेको बताउनुभएको छ ।
अरुण तेस्रो जलविद्युत् परियोजनाको अनुगमन गर्न बुधबार हेलिकप्टरबाट यहाँ आउनुभएका मन्त्री भुसालले अनुगमनपश्चात् यस्तो बताउनुभएको हो । मन्त्री भुसालले अरुण तेस्रो आयोजनाको बाँध निर्माण क्षेत्र र त्यस क्षेत्रको सुरुङको अनुगमन गर्नुभएको थियो ।
मन्त्री भुसालको टोलीलाई विद्युत् विकास कम्पनी सतलज जलविद्युत् निगमका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले हालसम्मको प्रगतिबारे जानकारी गराउनुभयो । धिमानले कोरोना महामारीमा पनि कामको गति नघटेको जानकारी दिनुभयो ।
उहाँले विकट क्षेत्र, सडकको असुविधा भए पनि हालसम्म ४० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको जानकारी गराउनुभयो ।
धिमानले आयोजनाबारे विवरण पेस गरेपछि मन्त्री भुसालले अरुण तेस्रोको कामबाट आफूहरू सन्तुष्ट रहेको प्रतिक्रिया दिनुभयो । तोकिएको समयभित्र काम सम्पन्न गर्न सरकारको तर्फबाट सहयोग गर्नेसमेत मन्त्री भुसालले बताउनुभयो । कुल उत्पादन क्षमता नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना सन् २०२२ मा सम्पन्न हुने आयोजना विकास सम्झौता (पीडीए)मा उल्लेख गरिएको छ । एक खर्ब ४४ अर्ब रुपियाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत विद्युत् निःशुल्क प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपियाँ आर्थिक लाभ नेपालले लिनेछ ।
आयोजनाबाट स्थानीय प्रभावितहरूले एक अर्ब ६० करोड रुपियाँको सेयर पाउनुका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्ने बताइएको छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ ।
मन्त्री भुसालको टोलीले नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनाको समेत अनुगमन गरेको छ । टोलीले माथिल्लो अरुणको बाँध निर्माण क्षेत्र र विद्युत्गृह निर्माण क्षेत्रको अनुगमन गरेको हो । त्यस्तै टोलीले २२० केभीको कोसी करिडोर प्रसारण लाइनको पनि स्थलगत अनुगमन गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?