logo
२०८१ बैशाख १३ बिहीवार



राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै

मुख्य समाचार |


राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्धको मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै


काठमाडौं, असोज १ गते । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्धको मुद्दाको सुनुवाइ आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा तोकिएको छ । सरकारले दल विभाजनका लागि सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्चमा ६ वटा रिट निवेदन दर्ता भएको थियो ।

अध्यादेशविरुद्ध अधिवक्ता प्रवेश केसी, अधिवक्ता अर्जुनकुमार अर्याल र शकुन्तला भुसाल, दिनेशकुमार अर्याल र अनुपा अर्याल, सरोज बुढाथोकी र आशिष श्रेष्ठ, श्रीकान्त बराल र दलबहादुर धामीद्वारा पाँचवटा रिट परेको सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले शुक्रबार यसविरुद्ध परेका रिटको पेशी संवैधानिक इजलासमा तोकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । उक्त रिटको सुनुवाइ शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा हुँदैछ ।

रिटमा संविधानको धारा ११४ को उपधार १ बमोजिम पन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न आदेश माग गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २ मा मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ ।

राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गर्नुभएलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?