logo
२०८० चैत्र १५ बिहीवार



सरकारको खर्च केही दिन रोकिन सक्छ : अर्थमन्त्री

मुख्य समाचार |


सरकारको खर्च केही दिन रोकिन सक्छ : अर्थमन्त्री


काठमाडौं, भदौ २९ गते । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री जनार्दन शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिनुभयो ।

नेपालमा सरकारको खर्च नै रोकिन लागेको सम्भवतः यो पहिलो पटक हो । अर्थशास्त्रीय भाषामा यसलाई ‘बजेट होलिडे’का रुपमा लिइन्छ । अघिल्लो सरकारले अध्यादेशबाट गत जेठ १५ गते चालू आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गत साउन ४ गते सङ्घीय संसद्मा पेश भएको थियो ।

अध्यादेश ६० दिनभित्र पारित गर्नुपर्ने प्रावधान छ । त्यस आधारमा बुधबारसम्म विनियोजन विधेयक पारित गरिसक्नुपर्ने थियो । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले निरन्तर अवरोध गरिरहेको छ । आज विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मात्रै स्वीकृत भएको छ । अर्थमन्त्री शर्माले केही दिन सरकारको खर्च रोकिन सक्ने जानकारी दिँदै नियमित प्रक्रियाबाटै बजेट पारित गरिने बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज ४ गतेका लागि राखिएको छ । अर्थमन्त्रीले राजस्व उठाउने विषयमा कुनै अवरोध नहुने र नियमित नै हुने बताउनुभयो । “पाँच/सात दिन खर्च गर्न नहुन सक्छ । राजस्व सङ्कलनमा भने कुनै अवरोध हुँदैन”, अर्थमन्त्री शर्माले भन्नुभयो ।

पेश्की विधेयक ल्याउन लाग्नुभएको हो र भन्ने सञ्चारकर्मीको जिज्ञासमा अर्थमन्त्रीले त्यसतर्फ सरकारको कुनै सोच नरहेको बताउनुभयो । उहाँले एकाध दिन खर्च गर्न नपाए पनि नियमित प्रक्रियाबाटै विनियोजन विधेयक पारित गरिने उल्लेख गर्नुभयो ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश गत साउन ३ गते संसद्मा पेश गरिएको थियो । विपक्षी एमालेको चर्को नाराबाजीका बीच अर्थमन्त्री शर्माले यही भदौ २५ गते संसद्मा प्रतिस्थापन विधेयक पेश गर्नुभएको थियो । अर्थमन्त्रीले नियमित प्रक्रियाबाटै बजेट पारित हुने बताउनुभए पनि सदनमा एमालेको अवरोध जारी छ । सोमबार सभामुखले आयोजना गरेको सर्वदलीय बैठकमा एमाले सहभागी भएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?