logo
२०८१ बैशाख १३ बिहीवार



विद्युत् आयोजना निर्माण अन्तिम चरणमा

मुख्य समाचार |


विद्युत् आयोजना निर्माण अन्तिम चरणमा


एकिन्द्र तिमिल्सेना

टीकापुर (कैलाली), भदौ २७ गते । सुदूरपश्चिमको कैलालीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा बन्न लागेको ४.७१ मेगावाट विद्युत् आयोजना निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
जानकी गाउँपालिका–९ कटाँसेमा विद्युत् गृह बनाई रानी जमरा कुलरियाको नहरमा आउने पानीबाट विद्युत् उत्पादन गर्न लागिएको हो । सात मिटर हेडबाट पानी खसालेर तीनवटा टर्बाइन जडान गरेर विद्युत् निकालिने रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विदुरमान श्रेष्ठले जानकारी दिनुभयो । कर्णालीबाट नहरमा आउने सय क्युमेक्स पानीमध्ये २० क्युमेक्स पानी छ किलोमिटर पश्चिम पुगेपछि बालुवा छान्न कर्णालीमा खसालिनेछ । ८० क्युमेक्स पानी विद्यु्त् उत्पादनमा प्रयोग हुनेछ । विद्युत् गृह पार भइसकेपछि ४० क्युमेक्स पानी पुनः कर्णालीमा खसालिने र ४० क्युमेक्स पानी रानी जमरा कुरिया सिँचाइ प्रणालीमार्फत सिँचाइमा प्रयोग हुने सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठको भनाइ छ । यहाँ उत्पादन भएको विद्युत् साढे पाँच किलोमिटरको दूरीमा रहेको लम्कीमा सबस्टेसन बनाई राष्ट्रिय प्रसारण ग्रिडमा जोडिनेछ ।
निर्माण कम्पनी एसईडब्लु–टुन्डी जेभीका इन्जिनियर अजय बस्नेतले विद्युत् गृह निर्माणको काम पाँच प्रतिशतजति मात्रै बाँकी रहेको, विद्युत् उत्पादनका लागि चाहिने सबै उपकरण खरिद भइसकेको, विद्युत् गृहदेखि लम्की सबस्टेसनसम्म प्रसारण लाइनका पोल गाडेर तार तान्ने तयारीमा रहेको बताउनुभयो । इन्जिनियर बस्नेतले लम्कीमा बन्ने सबस्टेसनको सामान आइसकेकाले एक महिनाभित्र जडान भइसक्ने र प्रसारण लाइनमा १५ वटा जति रूख परेकाले छ सय मिटरभित्र पोल गाड्न बाँकी रहेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाका शाखा प्रमुख रेवन्त चौधरीले सबस्टेसनका लागि लम्कीमा ठाउँ खाली रहेको बताउनुभयो । जलविद्युत् आयोजना निर्माणकार्य एसईडब्लु–टुन्डी जेभीले र मेकानिकल कार्य भारतको मेकामिडीले गरेको छ । मेकानिकल कार्य गरिरहेको मेकामिडिका १५ जना प्राविधिक र स्थानीय कामदारले दैनिक काम गरिरहेका छन् ।
मेकामिडिका मेकानिकल इन्जिनियर सुनीलकुमारले आफ्नो काम फिटिङको मात्रै भएकाले तोकेको समयभन्दा पहिल्यै सक्ने गरेर काम भइरहेको बताउनुभयो । विद्युत् आयोजना निर्माण गरिसक्नुपर्ने अवधि २०७८ चैतसम्म भए पनि माघभित्रै विद्युत् उत्पादन सुरु गर्नेगरी काम भइरहेको छ ।
विद्युत् आयोजनाको लागत दुई अर्ब रुपियाँ छ । त्यसमध्ये एक अर्ब पाँच करोड रुपियाँ विद्युत् गृह र उपकरणमा लगानी भएको छ भने ९५ करोड रुपियाँ यसवरपर नदी नियन्त्रण, नहर निर्माण र अन्य काममा लगानी भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?