logo
२०८१ बैशाख १२ बुधवार



एमसीसी उपाध्यक्षद्वारा भेटवार्ता

मुख्य समाचार |


एमसीसी उपाध्यक्षद्वारा भेटवार्ता


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २५ गते । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुग्नुभएको छ । उहाँ कर्पोरेसनका नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको अमेरिकी प्रतिनिधिमण्डलका साथमा नेपाल आउनुभएको हो । एमसीसीका विषयमा नेपालमा बहुपक्षीय बहस जारी रहेकै बेला सुमारसहितको अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण भएको हो ।
आफ्नो चारदिने नेपाल भ्रमणका क्रममा उपाध्यक्ष सुमारसहितको टोलीले एमसीसीको नेपालमा बुझाइ र आगामी पहलकदमीका बारेमा विभिन्न उच्च नेतृत्वसँग छलफल गर्नुहुने कार्यक्रम छ ।
सो क्रममा एमसीसी उपाध्यक्ष सुमारले बिहीबार साँझ सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । सो भेटमा उहाँले एमसीसी अनुमोदनका लागि आग्रह गर्नुभएकोमा नेता नेपालले एमसीसीका विषयमा थप छलफल गरेर अघि बढ्ने जवाफ दिनुभएको जनाइएको छ । सुमारले थप छलफल र जिज्ञासा समाधानका लागि अमेरिका खुला संवाद गर्न पनि तयार रहेको स्पष्ट पार्नुभयो ।
नेता नेपालले एमसीसीको विषय सबै राजनीतिक दलसँगको सहमतिमा गर्नुपर्ने भएकाले त्यहीअनुसार साझा अवधारणा बनाएर मात्र अघि बढ्न सकिने औँल्याउनुभएको थियो । नेता नेपालले भने एमसीसीका विविध प्रावधानका बारेमा जिज्ञासा व्यक्त गर्नुभएको थियो । यसअघि सुमारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो ।
सुमारले नेपालमा रहनुहुँदा शुक्रबार अन्य विभिन्न उच्च नेतृत्वसँग थप संवाद गर्नुहुने कार्यक्रम छ । नेपालमा एमसीसी सैन्य सहयोगको हिस्सा रहेकोसहित अन्य विषयमा नेपाल सरकारले उहाँको भ्रमणअघि नै स्पष्ट पार्न नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकालाई सोधनी भएको थियो । सो जिज्ञासाको जवाफमा एमसीसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको जनाएको थियो ।
यसैगरी टोलीले सङ्घीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि भेट गरेको छ ।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ दलको निर्णयपछि मात्रै आफ्नो धारणा तय गर्ने भएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शिष्टाचार भेटका लागि बिहीबार आउनुभएकी अमेरिकी सहयोग परियोजना एमसीसीका उपाध्यक्ष फातेमा जेङ सुमारलगायत टोलीलाई एमसीसीका विषयमा यस्तो जवाफ दिनुभएको हो ।
नेकपा (एमाले) विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार भेटघाटका क्रममा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले लोकतान्त्रिक प्रणालीमा सत्तारूढ अवस्था र प्रमुख प्रतिपक्षी दलका रूपमा भूमिका फरक हुनेसमेत स्पष्ट पार्नुभयो । अघिल्लो सरकारले गरेको सम्झौता भए पनि आफूहरू सरकारमा रहँदा एमसीसीको प्रस्ताव संसदमा टेबुल गरेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “दुई मुलुकका बीचमा भएका सम्झौताले निरन्तरता पाउनुपर्छ भन्ने जिम्मेवार सरकारका नाताले पार्टीभित्र कतिपय रिजर्भेसन रहँदारहँदै पनि संसदमा टेबुल गरेका हौँ ।” उहाँले एमसीसीका विषयमा सत्तारूढ दलले अहिलेसम्म प्रतिपक्षीसँग छलफलसमेत नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो विषयमा सत्तारूढ दलको कुनै निर्णय नआएको र हामीसँग कुनै एप्रोच पनि नआएको अवस्था हो । त्यस्तो अवस्थामा हामीले बोल्नु भनेको हतार हुन्छ । यो अवस्थालाई यही रूपमा बुझिदिनुस् ।”एमसीसी उपाध्यक्ष सुमार बिहीबारै नेपाल आइपुग्नुभएको हो । अध्यक्ष ओलीसँगको करिब डेढ घण्टा लामो भेटघाटमा एमसीसी उपाध्यक्ष सुमारले एमसीसी परियोजना अगाडि लाने वा नलाने भन्ने विषयमा छलफल गर्नुभएको जनाइएको छ ।
विदेश विभाग प्रमुख भट्टराईका अनुसार छलफलमा उपाध्यक्ष सुमारले लामो छलफलपछि एमसीसी सम्झौता भएको बताउनुभएको थियो । “एमसीसीबारे जुन खालको यो विवाद आयो, यो नहुनु पर्थ्याे । हाम्रो पोजिसन सुरुदेखि नै तपाईंहरूलाई थाहा छ”, छलफलमा उपाध्यक्ष सुमारले भन्नुभयो । यसैबीच जसपाका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग उपाध्यक्ष सुमार नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?