logo
२०८१ बैशाख ७ शुक्रवार

एलिजाबेथले उपहार दिएको बग्गी प्रदर्शनीमा (फोटो फिचर)

खुला |
फोटो फिचर |


2021-09-06-46045



काठमाडौँ, भदौ २१ गते । तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकमा प्रयोगमा ल्याइएको सुवर्ण बग्गी अब सार्वसाधारणले अवलोकन गर्न पाउने भएका छन् ।
नारायणहिटी दरबार सङ्ग्रहालयमा सोमबार यसको प्रदर्शनीको औपचारिक शुभारम्भ गरिएको छ । गत वर्ष हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको कारलाई प्रदर्शनीमा राखेको सङ्ग्रहालयले यस वर्ष बग्गीलाई प्रदर्शनीमा ल्याएको छ ।
सो बग्गी बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिनुभएको थियो । उहाँ पहिलो पटक २०१६ सालमा नेपाल भ्रमणमा आउनुभएका बेला उपहारस्वरुप बग्गी प्रदान गर्नुभएको थियो । २०३१ साल फागुन १२ गते राजा वीरेन्द्रको राज्याभिषेकका बेला पहिलो पटक बग्गी प्रयोगमा ल्याइएको थियो । २०४२ सालमा बेलायतकी महारानी पुनः नेपाल भ्रमणमा आउनुभएका बेला उहाँको नागरिक अभिनन्दन गरिएको थियो । त्यस क्रममा उहाँलाई वसन्तपुरदेखि नारायणहिटी दरबारसम्म सोही बग्गीमा राखेर ल्याइएको थियो ।
नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वराजाहरुले प्रयोग गर्नुभएका सामग्री प्रदर्शनीमा थप्दै जाने बताउँदै नेपाली सेनासँग मागेर बग्गी ल्याइएको बताउनुभयो । चार दिनअघि ल्याइएको सो बग्गीलाई पूर्वराजाहरुको ग्यारेजमा राखिएको छ ।
उहाँले यस्तो बग्गी संसारमा दुई वटा रहेको र बेलायतको बकिङ्घम दरबारमा एउटा रहेको दावी गर्नुभयो । बेलायतमा रहेको बग्गी अहिले पनि बेलायती महारानीले प्रयोग गर्दै आउनुभएको छ ।
२०७२ सालको भूकम्पमा परेर बग्गी क्षतिग्रस्त भएपछि दरबारले पाँच लाख रुपियाँ खर्चिएर मर्मत गराएको थियो । असुरक्षित हुने देखेर त्यसलाई नेपाली सेनाको क्याबलरीलाई हस्तान्तरण गरेको थियो । नेपाली सेनाबाट अहिले नारायणहिटी दरबार सङ्ग्रहालयले बग्गीलाई फिर्ता ल्याएको छ ।

तस्बिर : प्रकृति अधिकारी