logo
२०८० चैत्र १६ शुक्रवार



काँग्रेस महाधिवेशन प्रक्रिया आज सुरु हुँदै

मुख्य समाचार |


काँग्रेस महाधिवेशन प्रक्रिया आज सुरु हुँदै


नारद गौतम/शेषकान्त पण्डित

काठमाडौँ, भदौ १८ गते । नेपाली काँग्रेसले सबैभन्दा तल्लो तहको वैधानिक निकाय वडा अधिवेशनको निर्वाचन शुक्रबारबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको नामावली पुुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन सुरु गरिने भएको छ ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लामा पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरिएकाले अब महाधिवेशन प्रक्रिया सुरु गरिएको बताउनुभयो । ती जिल्लामा निर्वाचन अधिकृत खटाइएको जानकारी उहाँले दिनुभयो । उहाँले काँग्रेसको विधानमा तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको प्रतिनिधि ३३ प्रतिशत सुनिश्चित गरिएको बताउनुुभयो । उहाँले संविधानले व्यवस्था गरेको प्रावधानलाई काँग्रेसले आफ्नो विधानमार्फत कार्यान्वयन गर्ने पहिलो पार्टी भएको दाबी गर्नुभयो । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले वडा तहमा निर्वाचन सम्पन्न गर्नका लागि हरेक वडामा एक जना मतदान अधिकृत खटाएको जानकारी दिनुभयो । जिल्लामा पार्टीको केन्द्रीय निर्वाचन समितिले खटाएको जिल्ला निर्वाचन अधिकृतले सबै वडामा एक एक जनाका दरले मतदान अधिकृत खटाइने छ ।
कुनै कारण भदौ १८ गते निर्वाचनको प्रक्रिया सुरु हुन नसकेको जिल्लामा बढीमा एक साताभित्र वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्देशन पार्टीले दिएको छ । पार्टीका प्रवक्ता शर्माले जिल्लाको आन्तरिक वस्तुस्थिति, कोरोना भाइरस सङ्क्रमण, जिल्लाका समस्यालगायतका आधारमा वडा अधिवेशनको कार्यतालिका केही दिन पर पर्न सक्ने अवस्था रहेको बताउनुभयो । निर्वाचन केही दिन पर सरे पनि जिल्लाभर वडा अधिवेशन भने एकै दिन गर्नुपर्ने छ । ढिलामा पनि भदौ २६ गतेभित्र वडा अधिवेशन अनिवार्य रूपमा गर्नुपर्ने छ । पार्टीले भदौ २७ गते ७५३ वटै स्थानीय तह (गाउँपालिका तथा नगरपालिका)को अधिवेशन गर्ने कार्यतालिका राखेको छ ।

वडाको संरचना
पार्टीको वडा अधिवेशनले पार्टीको वडा कार्यसमिति गठन गर्नेछ भने वडाबाट क्षेत्रीय प्रतिनिधिहरू चयन हुनेछन् । क्षेत्रीय प्रतिनिधि पार्टीको जिल्ला, क्षेत्रीय र नगरसमितिको निर्वाचनमा सहभागी हुन पाउनेछन् । क्षेत्रीय प्रतिनिधिले पार्टीको महाधिवेशन प्रतिनिधिको चयन गर्नेछन् । पार्टीको सबैभन्दा तल्लो तहको सङ्गठन गाउँ तथा नगरपालिकाको वडा समितिका सभापतिलगायतका प्रमुख पदहरू निर्वाचनकै माध्यमबाट चयन गरिँदैछ ।
विगतको प्रावधानमा परिवर्तन गर्दै काँग्रेसले यस पटक प्रमुख पदहरू क्रियाशील सदस्यताबाटै प्रत्यक्ष रूपमा निर्वाचित भएर आउनुपर्ने प्रावधान बनाएको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १४औँ महाधिवेशनबाट यो प्रावधान कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । सोअनुसार गाउँ तथा नगरमा वडा समितिका सभापति, दुई जना उपसभापति, दुई जना सचिव र दुई जना सहसचिव वडाभित्रका क्रियाशील सदस्यताबाटै प्रत्यक्ष रूपमा निर्वाचित भएरै आउनुपर्ने छ । वडा कमिटीको कोषाध्यक्ष पदमा भने सभापतिले निर्वाचित सदस्यमध्येबाट मनोनीत गर्ने व्यवस्था छ । यसअघि १३औँ महाधिवेशनमा काँग्रेसको गाउँ तथा नगर कमिटी वडामा सभापति, सचिव र कोषाध्यक्ष मात्र निर्वाचित हुने प्रावधान थियो ।
वडाको उपसभापति, सचिव, सहसचिवलगायतका पदमा सभापतिले मनोनीत गर्ने प्रावधान थियो । पार्टीको विधानअनुसार क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र नगर वा गाउँ वडा कार्यसमितिको सभापतिको निर्वाचनमा उम्मेदवार बन्न पाउने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?