logo
२०८१ बैशाख १३ बिहीवार



मेट्रोसिटी निर्माण प्रक्रिया अगाडि बढेन

खुला |


मेट्रोसिटी निर्माण प्रक्रिया अगाडि बढेन


नगेन्द्र सापकोटा

काठमाडौँ, भदौ १६ गते । काठमाडौँ उपत्यकाको एकीकृत विकासका लागि प्रमुख आधार मानिएको उपत्यका सहर (मेट्रोसिटी) निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । साबिक स्थानीय तह पुनर्संरचना आयोगले पाँच वर्षअघि उपत्यकाको एकीकृत विकासका लागि उपत्यका मेट्रोसिटी निर्माण गर्न सरकारलाई सुझाव दिएको थियो ।

उपत्यकाको एकीकृत विकास गर्न, आर्थिक रूपान्तरणसहित सबै किसिमका सरकार र निकायका बीचमा समन्वय, सहकार्य र साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्न आयोगले उपत्यका मेट्रोसिटीको प्रस्ताव गरेको थियो । उपत्यकाका सबै नगरपालिकाको भूगोल एक आपसमा जोडिएका, यहाँका साझा समस्या सामूहिक रूपमा समाधान गर्न उपत्यका मेट्रोसिटी आवश्यक भएको महसुस गरी तत्कालीन आयोगले सरकारलाई उपत्यका मेट्रोसिटी निर्माण गर्न सिफारिस गरेको थियो ।

तत्कालीन स्थानीय तह पुनर्संरचना आयोगका सदस्य डा. श्याम भुर्तेलले मेट्रोसिटीबाहेक काठमाडौँ उपत्यका विकासको अन्य विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपत्यकाका सबै नगरप्रमुख रहेको उपत्यका नगर परिषद् निर्माण गर्ने, उक्त परिषद्लाई प्रदेश सरकार बराबरको अधिकार प्रदान गर्ने, उपत्यकाका नगरप्रमुखले नै छनोट गरेका व्यक्तिलाई उक्त संरचनाको प्रमुख बनाई सो संरचनालाई प्रशासनिक तथा राजनीतिक अधिकार प्रदान गर्नुपर्छ ।”
आयोगको सुझावअनुसार संविधान संशोधन गरी मेट्रोसिटी निर्माण गर्नुपर्ने उहाँको सुझाव छ । उहाँका अनुसार उपत्यकाका नगरपालिकाले उपत्यका नगरपालिका फोरम निर्माण गरे पनि मेट्रोसिटी निर्माण गर्नेतर्फ भने ध्यान दिएका छैनन् । मेट्रोसिटी निर्माण भएपछि उपत्यकाको समग्र विकासका लागि अन्तरपालिका योजना निर्माण भई व्यवस्थित सहर निर्माण गर्न सहज हुनेछ ।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले उपत्यकाको प्राकृतिक, भौगोलिक, सांस्कृतिक वातावरणसमेत समान भएकाले उपत्यकाको दीर्घकालीन विकासका लागि मेट्रोसिटी निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले उपत्यकावासीलाई महानगर स्तरीय सेवा सुविधा प्रदान गर्न, पूर्वाधार व्यवस्थापन गर्न, वैदेशिक लगानी आकर्षण गर्न, स्रोतको उचित रूपमा व्यवस्थापन गर्न नेपालमा मेट्रोसिटी आवश्यक रहेको बताउनुभयो । त्यस्तै अनियन्त्रित बसोबास नियन्त्रण गर्न, अन्तर्राष्ट्रिय स्तरको खेलमैदान, रङ्गशाला, विमानस्थल निर्माण गर्न उपत्यकामा मेट्रोसिटी निर्माण गर्नुपर्छ ।

उहाँले भन्नुभयो, “यहाँका नगरपालिकाको आयस्रोत र भूगोल सानो भएकाले एक्लैले सामूहिक समस्या समाधान गर्न नसकिने हुँदा उपत्यकामा मेट्रोसिटी निर्माण गर्नुपर्छ ।” उपत्यकामा नदी, सहरी यातायात, ढल निकास, अन्य पूर्वाधारको विकास पूर्वाधारको योजनालाई दिगो र एकीकृत मापदण्डअनुसार कार्यान्वयन गर्ने उपयुक्त संरचना छैन । उपत्यकामा हरेक पालिकाको योजना छ तर यसले समग्र उपत्यकालाई समेट्न सक्दैन ।
कतिपय सेवा र विकासका काम अन्तरपालिका समन्वय हुन नसक्दा उपत्यकावासी आधारभूत सुविधाबाट पनि वञ्चित छन् । सङ्घका कार्यकारी निर्देशक देवकोटाले सङ्घीय व्यवस्था भएका मुलुक अमेरिका, भारत, मेक्सिको, अर्जेन्टिना, जापान, फिलिपिन्समा राजधानी सहरको एकीकृत विकास गर्न मेट्रोसिटी निर्माण गरिएको बताउनुभयो ।

उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले काठमाडौँ उपत्यकाको एकीकृत विकास गर्ने उद्देश्यले नै उपत्यका नगरपालिका फोरम निर्माण गरिए पनि त्यसले सो रूपमा कार्य गर्न नसकेको स्वीकार गर्नुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल करिब अन्तिम चरणमा पुगेकाले अबका जनप्रतिनिधिले भए पनि उपत्यकाको एकीकृत विकासका लागि मेट्रोसिटीको अवधारणालाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?