logo
२०८० चैत्र १६ शुक्रवार



फोहोरबाट कम्पोस्ट मल

खुला |


फोहोरबाट कम्पोस्ट मल


नगेन्द्र सापकोटा

भक्तपुर, भदौ १५ गते । काठमाडौँ र ललितपुर महानगरका सडक, गल्लीमा फोहोरको डङ्गुर देखिने गरेको भए पनि मध्यपुर थिमीको पुरानो बस्ती भने सफा हुने गरेको छ ।
काठमाडौँ र ललितपुरमा जस्तै घना बस्ती भएको मध्यपुर थिमी नगरपालिकाले गत तीन वर्षदेखि सुरु गरेको जापानिज प्रविधिबाट फोहोरलाई कम्पोस्ट मल बनाउँदै आएपछि यहाँको फोहोर समस्या होइन, फाइदाको साधन बन्न थालेको छ ।
यहाँको पुरानो बस्तीका पाँच हजार घरधुरीका लागि फोहोर मोहर बन्न थालेको छ । सातादेखि काठमाडौँ उपत्यकाको फोहोर विर्सजन स्थल ल्यान्डफिल्ड साइड पुग्ने सडक अवरुद्ध भएपछि काठमाडौँ र ललितपुरका सडकमा फोहोर थुपिँ्रदै गएको छ ।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले तीन वर्षदेखि नगरपालिकाले जापानिज प्रविधिबाट फोहोरलाई कम्पोस्ट मल बनाउँदै आएकाले सिसडोलमा रहेको ल्यान्डफिल्ड साइड जाने बाटो अवरुद्ध हुँदा पनि थिमीको पुरानो बस्तीको फोहोर व्यवस्थापनमा समस्या खासै नदेखिएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले जापानिज प्रविधिबाट रसायन प्रयोग नगरी घरघरबाट उत्पादन हुने कुहिने फोहोर स्थानीय स्तरमै प्राङ्गारिक मल उत्पादन गर्दै आएको छ ।
अहिले मल प्रतिकिलो २० रुपियाँमा धमाधम बिक्री भइरहेको छ । मध्यपुर थिमी नगरपालिकाको आर्थिक लगानी र रिकिसी कम्पोस्ट प्रालिको प्राविधिक सहयोगमा फोहोरबाट कम्पोस्ट मल उत्पादन हुँदै आएको हो ।
रिकिसी प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले नेपालजस्तो कृषिप्रधान र सहरउन्मुख देशमा जापानिज प्रविधिको मल उत्पादन विधि वरदान साबित भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले काठमाडौँको फोहोर सिसडोलसम्म पु¥याउन नसक्ने अवस्थामा त्यसको विकल्प खोजिरहेको बेला घरबाट उत्पादित फोहोरलाई मध्यपुर थिमी नगरपालिकाले सजिलै कम्पोस्ट मल उत्पादन गरी कृषि उत्पादनसमेत वृद्धि गर्दै आएको छ ।” अहिले वार्षिक १० टन मल उत्पादन हुने गरेको छ । सो मल काभ्रे, सिन्धुपाल्चोक र धनकुटामा व्यावसायिक तरकारी खेतीमा बढी प्रयोग हुने बताइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?