logo
२०८० चैत्र १६ शुक्रवार



इन्टरनेट साक्षरता र उपयोग

विचार/दृष्टिकोण |


इन्टरनेट साक्षरता र उपयोग


अजय शर्मा

विकासको अनिवार्य आवश्यकता बन्दै गएको इन्टरनेटको पहुँच विस्तारसँगै सामाजिक समस्या पनि उत्तिकै थपिएका छन् । दुर्गम क्षेत्रमा बाटोभन्दा पहिला सञ्चार सुविधा र इन्टरनेट पु-याउनुपर्ने आवश्यकता एवं दायित्व राज्यले बहन गर्नुपरेको छ । गाउँगाउँमा द्रुत गतिको इन्टरनेट सुविधा पु-याउने लक्ष्यसहित सरकारले ‘डिजिटल नेपाल’को अवधारणा अगाडि बढाएको छ । यद्यपि, इन्टरनेट साक्षरताको अभावमा यसले थुप्रै समस्याको चाङसमेत लगाएको छ । जसलाई समयमै निराकरण गर्न सकिएन भने यसका नकारात्मक असर ज्यादा देखिनसक्ने खतरा बढ्दै गएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०)लाई आधार मानेर तयार पारिएको प्रतिवेदनअनुसार नेपालका ९१ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा पुुगेको छ । सो प्रतिवेदनमा प्राधिकरणले कुल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ ।

प्राधिकरणकै तथ्याङ्कअनुसार जेठसम्म दुई करोड ७७ लाख छ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ । यो तथ्याङ्कले पनि के सङ्केत गर्छ भने इन्टरनेट सेवा हाम्रो दैनिकीको अनिवार्य आवश्यकता भइसकेको छ । कोरोना महामारीका कारण विद्यालय, सरकारी तथा निजी क्षेत्रका सेवा प्रदायक कार्यालयमा इन्टरनेट सेवा पु-याउनुपर्ने बाध्यतासमेत आइलाग्यो । जसका कारण पनि छोटो समयमा गाउँगाउँमा इन्टरनेट पहुँच विस्तार हुनपुग्यो । यद्यपि, इन्टरनेटले गाउँगाउँमा शिक्षा, स्वास्थ्य, विद्युतीय आर्थिक कारोबार र सूचनामा पहुँच मात्रै विस्तार गरेको छैन, प्रशस्त विकृति र विसङ्गतिसमेत पु-याएको छ । जसले गर्दा सामाजिक, आर्थिक र पारिवारिक समस्या पनि उत्तिकै थपिएका छन् ।

इन्टरनेटले गाउँगाउँमा पु-याएका सामाजिक समस्या र साइबर अपराधका घटना न्यूनीकरणका लागि इन्टरनेट शिक्षामा नै विशेषतः जोड दिनुपर्ने हुन्छ । कानुनी उपचारको पाटोबाट मात्र पनि यस्ता समस्याको समाधान खोज्न सकिँदैन । अज्ञानतावश अर्थात् इन्टरनेट सञ्जालमा के विषय राख्न मिल्छ ? के मिल्दैन ? भन्ने सामान्य ज्ञानको अभावमा ‘साइबर क्राइम’का घटना बढेका छन् । जसले गर्दा कतिपय मानिसका सामाजिक प्रतिष्ठासमेत समाप्त भइरहेका छन् । इन्टरनेटको माध्यम प्रयोग गरी हुने व्यक्तिगत लाञ्छना, आरोप–प्रत्यारोप, यौन हिंसा, आर्थिक अपराधजस्ता बढ्दो घटनाले समाजलाई बिस्तारै गिजोल्दै लगेको छ । जसको न्यूनीकरण गर्न इन्टरनेट कसरी प्रयोग गर्ने ? किन प्रयोग गर्ने ? सामाजिक सञ्जालमा कस्ता विषय सार्वजनिक गर्ने ? कस्ता विषय सार्वजनिक गर्न नहुने ? जस्ता विषयमा इन्टरनेटका आमउपभोक्तालाई सूचित गर्नु, साक्षर बनाउँदै इन्टरनेटको सदुपयोग बढाउन र दुरुपयोग घटाउन अत्यावश्यक हुन्छ ।

अहिलेका हरेक नागरिकलाई इन्टरनेट आवश्यक छ । सर्वसाधारण नागरिक, उद्यमी, व्यवसायी, अनुसन्धानकर्मी, विद्यार्थी, शिक्षक, नीति निर्मातासम्मले इन्टरनेट र डिजिटल स्पेसका माध्यम एवं सामग्रीको सही उपयोग कसरी गर्न सकिन्छ भन्ने जानकारी राख्नु आवश्यक हुन्छ । यतिबेला इन्टरनेट अधिकारका विषयसमेत उठिरहेका छन् । नागरिकको अधिकारका रूपमा स्थापित बन्दै गएको इन्टरनेट प्रयोग र उपयोगका विषयमा नागरिकका कर्तव्यसमेत जोडिएका छन् । इन्टरनेटका हरेक उपभोक्तालाई यो कर्तव्य बुझाउन आवश्यक छ । कृषि, व्यापार, शिक्षा, स्वास्थ्यलगायत हरेक क्षेत्रले इन्टरनेट सेवाबाट धेरै फाइदा लिन सकिने अवस्था छ । त्यसैले पनि इन्टरनेटको सही प्रयोगका विषयमा जान्नैपर्ने अवस्था पनि छ ।

सेवा विस्तारसँगै छनोट
इन्टरनेट र सूचना तथा सञ्चार पहुँच विस्तारकै कारण उपभोक्ताले छानीछानी सूचना प्राप्त गर्ने परिस्थिति निर्माण भएको छ । जसले गर्दा पछिल्लो समय दर्शक, पाठक तथा श्रोता शक्तिशाली बनेका छन् । अहिले पाठक तथा श्रोताको हातहातैमा सूचना छ । उनीहरूले के कुरा पढ्ने ? हेर्ने र सुन्ने ? सबै कुराको नियन्त्रण उनीहरूकै हातमा छ । छिनछिनका सूचनाबाट नागरिक आफूलाई ‘अपडेट’ गरिरहेको हुन्छ । पाठकले आफ्नो रुचिका सामग्री मात्र छानेर लिन सक्छन् । मानौँ– सूचना कालीमाटी तरकारी बजारमा राखिएका फलफूल र तरकारी हुन् ।

तरकारी बजारका ग्राहकले जस्तै पाठकले कुन सूचना लिने, कुन नलिने भन्ने कुरा स्वयं तय गर्न सक्छन् । यति भनिरहँदा पाठकलाई पनि अहिले कुन सूचना लिने, कुन नलिने भन्ने तय गर्न निकै सकस र अन्योलपूर्ण अवस्था पनि छ । सूचनाको बाढीमा कसरी पौडिने भन्ने ज्ञानको कमी हुँदा, सही सूचनाको छनोटमा समस्या देखिएको छ । वास्तवमा भन्ने हो भने दर्शक, पाठक तथा श्रोतामाझ यति धेरै सूचना र जानकारी छन् कि कुन सूचना छनोट गर्ने भन्ने कुरा चुनौतीका रूपमा खडा भएको छ ।
राज्यले ठूलो लगानीसहित गाउँगाउँसम्म फोरजी, अप्टिकल फाइबरसम्मका दु्रत गतिको इन्टरनेट सेवा पु-याएको छ तर यसको प्रयोग प्रायः समय कटाउन र मनोरञ्जनका लागि मात्र भएको देखिन्छ । त्यसैले इन्टरनेट प्रयोगको साक्षरता बढाउँदै डिजिटल स्पेसलाई समेत आफ्नो वृद्धि विकासका साथै यसबाटै स्थानीय स्तरमै आम्दानीको स्रोत बढाउने माध्यमका रूपमा कसरी प्रयोग गर्र्ने भन्ने ज्ञानको बाटो खुलाउन आवश्यक छ ।

इन्टरनेट साक्षरता
नागरिकमा कुन कुरा हेर्ने, सुन्ने र पढ्ने भन्ने विषयको पर्याप्त जानकारी नहँुदा झुटा सूचना, समाचार र इन्टरनेटको गलत प्रयोगको सिकार हुनुपर्ने स्थिति छ । के खोजिएको हो ? आवश्यकता के हो ? त्यो छान्ने र खोज्नेभन्दा पनि मोबाइलमा जे आयो त्यो हेर्ने, त्यो पढ्नुपर्ने परिस्थिति छ । इन्टरनेटको प्रयोगका सन्दर्भमा चुनौती र अवसर दुवै छन् । त्यसमध्ये अवसरलाई सदुपयोग गर्न इन्टरनेट साक्षरतालाई अभियानका रूपमा अघि बढाउन आवश्यक देखिन्छ । यसमा सरकार र सरोकारवालाले विशेष चासो र पहल लिन त आवश्यक छ नै, जानकार नागरिकले पनि आफ्नो घरपरिवार र समुदायमा इन्टरनेट साक्षरताका बारेमा छलफल र बहस लैजान आवश्यक छ ।

इन्टरनेटमा सही समाचार र जानकारीभन्दा सनसनीपूर्ण र झुटा समाचार भाइरल बनिरहेका हुन्छन् । भाइरल सामग्री हुँदैमा त्यो डिजिटल सामग्री पठनीय या उपयोगी हुन्छन् त ? भाइरल बनाउने नाममा तयार पारिएका डिजिटल सामग्रीको सिकार त हामी बनिरहेका छैनौँ ? समाजमा गलत मुद्दाको बीजारोपण, उत्प्रेरित त गरिरहेका छैनौँ ? यो प्रश्न यतिबेला गम्भीर रूपमा उठ्न थालेको छ । यसरी लोकप्रिय बन्ने नाममा सोसल मिडियाको दुरुपयोग बढ्दा मूलधारको पत्रकारितामा समेत विश्वासको चुनौती थपिएको छ । अर्कोतर्फ इन्टरनेटमा सम्प्रेषण गरिने सामग्री लैङ्गिक समता, महिलामैत्री, अपाङ्गमैत्री, अल्पसङ्ख्यक अनुकूलनका साथै समाजमा भएका सबै वर्ग समुदायमैत्री हुनु आवश्यक छ । त्यस सँगसँगै उनीहरूको समेत इन्टरनेटमा समान पहुँचको सुनिश्चितता हुनु आवश्यक छ । त्यसो भए इन्टरनेट साक्षर कसरी बन्ने त ? यसको सहज उत्तर चाहिँ छैन ।

अब कम्प्युटर र इन्टरनेट चलाउने सीप जानेर मात्र पुग्दैन । इन्टरनेटको सञ्जाल, सूचनाको विशाल जालोबाट आफूलाई चाहिने सही सूचना लिनु र त्यस्ता सूचना आफ्नो लागि, घरपरिवार र समाजको हितका लागि प्रयोग गर्न जान्नु नै सही अर्थमा इन्टरनेट साक्षरता हो । यति गरेर मात्र पुग्दैन, आफूले ठानेको सूचना सही हो वा होइन, जाँच्न सक्ने क्षमता छैन भने जतिसुकै कम्प्युटर र इन्टरनेट चलाउन जाने पनि गलत सूचनाको सिकार हुने सम्भावना र जोखिम उत्तिकै रहन्छ । पहिला हामी अक्षर चिन्ने, आफ्नो नाम लेख्न सक्ने र आफ्नो साधारण हिसाबकिताब राख्न सक्ने व्यक्तिलाई साक्षर भन्थ्यौँ भने अहिले कम्प्युटर चलाउन जान्नेलाई कम्प्युटर साक्षर र इन्टरनेटमा आफूलाई चाहिने सही सूचना छानेर लिन सक्ने र त्यस्ता सूचना आफू र समाजका लागि प्रयोग गरी त्यसबाट लाभ लिन सक्ने व्यक्तिलाई इन्टरनेट साक्षर भन्छौँ । त्यसैले अब सूचना साक्षर हुनलाई पहिला कम्प्युटर साक्षरका साथै आफूलाई चाहिने सूचना प्राप्त गर्ने, प्राप्त सूचनाको सही रूपमा विश्लेषण गर्ने र सूचनालाई उपयोग गर्ने सीप हुनु आवश्यक छ ।

गाउँगाउँसम्म पुगेका टेलिफोन सेवा, इन्टरनेट सेवालाई ग्रामीण क्षेत्रमा रहेका सर्वसाधारणमा आधुनिक सूचना प्रविधिको फाइदा कसरी लिन सकिन्छ भन्ने कुराको जानकारी दिनसके गाउँको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्नेछ । गाउँका किसानलाई बस्तुभाउ र बालीनालीमा देखिने विभिन्न खाले रोग तथा नवीन प्रविधिका बारेमा इन्टरनेटका माध्यमबाट जानकारी दिनसके समृद्ध नेपाल बनाउन सूचना साक्षरताले उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ । त्यसो त नेपाल सरकारले बेलामौकामा डिजिटल नेपालका लागि डिजिटल नेपाल फ्रेसवर्क, सूचना प्रविधिमैत्री नेपाल निर्माणका लागि सरकारले अनलाइनबाटै सबै सरकारी सेवा नागरिकलाई प्रदान गर्न नागरिक एप तथा वेब पोर्टल र विद्यालय शिक्षाका लागि अनलाइन कक्षालगायतका सेवा सञ्चालन गर्दै आएको छ तर यी र यस्ता कुरा पूर्ण रूपमा कार्यान्वयनमा आएको देखिँदैन ।

अहिले पनि नेपाली नागरिक सरकारले दिने अधिकांश सेवामा अनलाइनको साटो लाइनमै बस्न बाध्य छन् । यसरी केही सरकारी सेवा इन्टरनेटमा आधारित भएर सञ्चालन भएका छन् । यस विषयमा जनस्तरमा जानकारी नहुँदा र सेवाग्राही इन्टरनेट साक्षर नहुँदा यस्ता सेवाबाट फाइदा लिनबाट वञ्चित हुन पुगेका छन् । अबको शिक्षा प्रणालीमा इन्टरनेट साक्षरतालाई समेत अनिवार्य बनाइनुपर्छ । अबका दिनमा सरकारले सबै शिक्षण संस्थामा अनिवार्य सूचना तथा इन्टरनेट साक्षरताको योजना बनाएर लगानी गर्नु आवश्यक छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?