logo
२०८१ बैशाख ११ मंगलवार



६२१ वटा झोलुङ्गे पुल निर्माण

झोलुङ्गे पुल निर्माणले स्थानीय बासिन्दामा आधारभूत सेवा विस्तार तथा आर्थिक अवसर र स्रोतमा पहुँच पुगेको छ ।

मुख्य समाचार |


६२१ वटा झोलुङ्गे पुल निर्माण


नगेन्द्र सापकोटा

काठमाडौँ, भदौ १ गते । स्थानीय पूर्वाधार विभागले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी झोलुङ्गे पुल निर्माण गरेको छ ।
गत वर्ष छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको विभागले २१ वटा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हो । लामो तथा छोटो गरी ६२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । गत वर्ष ३२ वटा सडक पुल निर्माण भएका छन् । चालू आर्थिक वर्षमा भने ७२० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य विभागको छ ।
विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले नदी, खोल्साखोल्सी तरितराउका लागि निर्माण भएका झोलुङ्गे पुलले स्थानीय नागरिकका लागि यातायात सुविधा उपलब्ध भई हाटबजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको बताउनुभयो ।

उहाँका अनुसार झोलुङ्गे पुल निर्माणले स्थानीय बासिन्दामा आधारभूत सेवा विस्तार तथा आर्थिक अवसर र स्रोतमा पहुँच पुगेको छ । बालबालिकालाई तुइन तरेर विद्यालय जानुपर्ने परिस्थिति अन्त्य भई पुलबाटै आवतजावत गर्न सकिने अवस्था बनेको छ । उहाँले भन्नुभयो, “नेपाल भौगोलिक विकटता र ठूला नदी र खोल्सामा तरितराउका लागि झोलुङ्गे पुल निर्माण गर्नु आफैँमा चुनौती रहे पनि झोलुङ्गे पुल निर्माण अघि बढिरहेको छ ।”


झोलुङगे पुल निर्माणले नेपालमा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन भई आर्थिक र सामाजिक रूपान्तरणमा थप टेवा पुगेको छ । सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा विकासका दृष्टिले पछाडि परेका क्षेत्रलाई प्राथमिकता दिँदै सन्तुलित, वातावरण अनुकूल, गुणस्तरीय तथा दिगो रूपमा पूर्वाधार विकास गर्न प्राविधिक विषयमा प्रदेश र स्थानीय तहलाई सक्षम, सबल र सहयोग गर्नका लागि स्थानीय पूर्वाधार विभागको महìवपूर्ण भूमिका रहेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता एवं उपमहानिर्देशक अशोककुमार शाहले झोलुङ्गे पुल निर्माणले तरितराउका लागि सहज हुनुका साथै आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनमा समेत थप टेवा पुगेको बताउनुभयो । विभिन्न विकास साझेदारको सहयोगमा सञ्चालित आयोजनाको उचित समन्वय, परिचालन र कार्यान्वयन गर्न तथा संविधानको परिकल्पनाबमोजिम सङ्घीय एकाइबीच जिम्मेवारी, स्रोतसाधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्ध विकास गरेको उहाँले बताउनुभयो ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?