logo
२०७८ मंसिर १५ बुधवार



बल्छीमा पर्न थाले दुर्लभ डल्फिन

मुख्य समाचार |


बल्छीमा पर्न थाले दुर्लभ डल्फिन


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, साउन २९ गते । मानिसपछिको सबैभन्दा बढी चेतनशील र चलाख प्राणी मानिएको डल्फिन मानिसबाटै बढी जोखिममा पर्न थालेको छ । मानिसले थापेको बल्छी र जालमा फसेर डल्फिन मर्न थालेपछि नेपालमा यसको अस्तित्व झन् सङ्कटमा परेको छ ।
नेपालमा कोसी, नारायणी तथा कर्णाली र यसका सहायक नदीमा डल्फिन पाइने गरेको छ । कोसी तथा नारायणीमा सहजै देख्न नसकिने भए पनि कर्णालीका सहायक नदीहरूमा बर्खाका बेला डल्फिन सहजै देख्न सकिन्छ । पहिलो पटक २०५८ सालमा कर्णाली नदी र यसका सहायक नदीमा डल्फिन पाइने कुरा प्रमाणित गरिएको थियो । डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले हाल बर्खाका बेला यी नदीमा १२० वटासम्म डल्फिन देख्न सकिने बताउनुभयो ।
डाइनोसरको युगदेखि हालसम्म पृथ्वीमा अस्तित्वमा रहेको यो जीवलाई नेपाल सरकारले संरक्षित प्राणी घोषणा गरेको छ । सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन (साइटिस)ले यसको व्यापार कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)ले अति सङ्कटापन्न जीवका रूपमा सूचीकृत गरेको छ ।
बर्खामा डल्फिनले बच्चा हुर्काउने गर्छ । यो बेला कर्णाली नदीमा ठूलो बाढी आउने भएकाले बच्चा हुर्काउन वयस्क डल्फिनहरू मोहना, पथरैया, कान्द्रा नदीमा विचरण गर्ने तथा आहार खोज्ने गर्छन् । यही बेला स्थानीय तहबाट मोहना, पथरैया तथा कान्द्रा नदीलाई माछा मार्नका लागि ठेक्कामा लगाउने गरिँदा ठेकेदारको लापरबाहीले डल्फिन जाल तथा बल्छीमा परेर मर्ने गरेको उहाँले बताउनुभयो ।
सरकारले सङ्कटापन्न स्तनधारी जीव डल्फिनको संरक्षणका लागि पाँच वर्षे कार्ययोजना पनि ल्याएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार सन् २०२१ देखि २०२५ सम्म डल्फिनको बासस्थान सुधार, सचेतना अभिवृद्धि, डल्फिन पाइने नदी प्रणालीको पानी प्रदूषण नियन्त्रण, स्थानीय समुदायको सक्रिय र प्रभावकारी सहभागी तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्थासँग समन्वय एवं साझेदारी बढाउने कार्यक्रमका साथ कार्ययोजना ल्याइएको हो ।
कार्ययोजनाअनुसार डल्फिनको सङ्ख्या, आहार प्रजाति माछाको उपलब्धतालगायतका विषयमा अध्ययन पनि गरिने भएको छ । विभिन्न नदी प्रणाली छेउछाउमा स्थापित उद्योगबाट निस्किने रासायनिक विषादी सोझै नदीमा मिसाउने प्रवृत्ति तथा नदी किनारमा नयाँ विकास हुन थालेका औद्योगिक ग्राम, सहरी विकासलगायतका कार्यले नदी दिन प्रतिदिन प्रदूषित हुने क्रम बढिरहेको छ । इकोलोजिस्ट आचार्यले माछा मार्न विषादी प्रयोग गर्ने र पानीमा करेन्ट छाड्ने क्रियाकलापले डल्फिन धमाधम मर्ने गरेकोले यस्ता कार्य रोक्न सचेतना आवश्यक भएको बताउनुभयो ।
माझी समुदायले डल्फिनलाई कुलदेवता तथा देवीका रूपमा पनि लिने गरेका छन् । जाल तथा बल्छीमा फसेर मरे पनि माझी समुदायमा डल्फिनको मासु खाने प्रचलन छैन । सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले रानीजमरा–कुलरिया सिँचाइ आयोजनाले डल्फिन पाइने कैलालीका नदीहरूमा डल्फिनमैत्री तटबन्ध निर्माण गरिरहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?