logo
२०८१ बैशाख ७ शुक्रवार



एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह

मुख्य समाचार |
समाज |


एकल पुरुषलाई भत्ता दिँदै स्थानीय तह


नगेन्द्र सापकोटा

काठमाडौँ, साउन ११ गते । समाजमा एकल पुरुषसमेत पीडित भएको महसुस गरिएपछि कतिपय स्थानीय तहले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका छन् । एकल पुरुषको जीविकोपार्जन सहज गराउने उद्देश्यसहित स्थानीय तहले आफ्नो नीति, कार्यक्रम र बजेटमा नै समावेश गरी एकल पुरुषलाई भत्ता प्रदान गरेका हुन् ।
स्थानीय तहले कार्यविधि निर्माण गरी मासिक पाँच सयदेखि एक हजार पाँच सय रुपियाँसम्म एकल पुरुषलाई भत्ता दिँदै आएका छन् । समाजमा लैङ्गिक समानता र सामाजिक न्याय स्थापना गर्न एकल पुरुषलाई मासिक भत्ता प्रदान गर्न थालेको पालिकाहरूले जनाएका छन् ।
ललितपुरको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले समाजमा एकल महिलाभन्दा एकल पुरुषलाई जीविकोपार्जन गर्न झनै कठिन भएकाले गाउँपालिकाबाट एकल पुरुषलाई चार वर्षदेखि भत्ता प्रदान गर्दै आएको जानकारी दिनुभयो । “यसअघि एक हजार रुपियाँ प्रदान गर्दै आएकोमा यस वर्षबाट सो रकमलाई बढाएर एक हजार पाँच सय रुपियाँ पु¥याएका छौँ”, लोप्चनले भन्नुभयो, “गाउँपालिकाले दिएको एकल पुरुष भत्ताले ती व्यक्तिको दैनिकीमा केही राहत मिलेको छ ।”
ताप्लेजुङको फुङलिङ नगरपालिकाले गत तीन वर्षदेखि ६० वर्ष पूरा भई ७० वर्ष पूरा नभएका एकल पुरुषलाई मासिक एक हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ । समाजमा एकल महिला जस्तै एकल पुरुषलाई पनि जीविकोपार्जन गर्न कठिन हुने भएकाले नगरपालिकाबाट एकल पुरुषलाई भत्ता प्रदान गर्दै आएको नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो ।
नवलपरासी बर्दघाट सुस्तापूर्वको बौदीकाली गाउँपालिकाले ६० वर्ष उमेर पूरा भएका एकल पुरुषलाई मासिक दुई हजार रुपियाँ भत्ता चालू आर्थिक वर्षदेखि प्रदान गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
“विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन वा घर छोडी गएका ६० वर्ष पूरा भएका विदुर एकल पुरुषलाई मासिक दुई हजार रुपियाँ भत्ता प्रदान गर्न लागिएको हो”, गाउँपालिका उपाध्यक्ष मायादेवी श्रेष्ठले भन्नुभयो, “समाजमा सामाजिक न्याय स्थापना गरी लैङ्गिक समानता कायम गर्न गाउँपालिकाले एकल पुरुषलाई भत्ता प्रदान गर्न लागेको हो ।”
सङ्घीय सरकारबाट अन्य प्रकारका भत्ता लिँदै आएका एकल पुरुषलाई भने गाउँपालिकाले प्रदान गर्ने एकल पुरुष भत्ता कार्यक्रममा समावेश गरिएको छैन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले श्रीमतीको मृत्यु भएको तर पुनः विवाह नगरेका सबै उमेर समूहका एकल पुरुषलाई मासिक एक हजार रुपियाँ भत्ता प्रदान गर्दै आएको छ । गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले समाजमा लैङ्गिक समानता कायम गर्नका लागि गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार राज्यले महिला र पुरुष समान भनेकाले व्यावहारिक रूपमै हामीले त्यसको सुरुवात गरेका हौँ । “समानताको नाराअनुसार नै एकल पुरुषलाई पनि भत्ता वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “एकल पुरुष भत्ता लिइरहेका ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक भत्ता लिन सुरु गरेपछि भने दोहोरो सुविधा पाउने छैनन् ।”
दार्चुलाको अपिहिमाल गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपियाँका दरले एकल पुरुष भत्ता प्रदान गर्दै आएको छ । गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले समाजमा एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा पर्ने गरेकाले गाउँपालिकाबाट एकल पुरुषलाई मासिक एक हजार रुपियाँ भत्ता प्रदान गर्न थालिएको जानकारी दिनुभयो ।
नेपाल नगरपालिका नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका अनुसार एकल पुरुषलाई प्रदान गरिने भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएपछि एउटा पालिकाले सुरु गरेको कार्यक्रम अन्य पालिकाले अनुसरण गर्न थालेको जनाएको छ ।
सङ्घीय सरकारले भने ७० वर्ष उमेर पुगेका सबै ज्येष्ठ नागरिक, ६० वर्ष पूरा भएका दलित र ६० वर्ष पूरा भएका कर्णाली क्षेत्रका नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । त्यस्तै पाँच वर्ष उमेर पूरा नभएका कर्णाली क्षेत्रका बालबालिका र दलित बालबालिका, विधवा महिला र अपाङ्गता भएका व्यक्तिलाई मासिक रूपमा भत्ता दिँदै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?