logo
२०८१ बैशाख ८ शनिवार



अनलाइन सरुवा प्रणाली प्रभावकारी

मुख्य समाचार |


अनलाइन सरुवा प्रणाली प्रभावकारी


नगेन्द्र सापकोटा

काठमाडौँ, असार २४ गते । भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा हुनुभयो । बिनाभनसुन छोटो समयमा यति सजिलै सरुवा होला भन्ने आशा नगरे पनि सरुवा भएपछि उहाँले अनलाइन प्रणालीबाट गरिएको सरुवा प्रभावकारी भएको अनुभव गर्नुभयो । पार्धेले भन्नुभयो, “अनलाइनबाट सरुवाको निवेदन गर्दा बिनाझन्झट भनसुन नै नगरी सजिलै सरुवा हुँदो रहेछ, सरुवाका लागि अनलाइन प्रणाली प्रभावकारी भएको मैले महसुस गरेँ ।”
पार्धेजस्तै जिल्ला हुलाक कार्यालय महोत्तरीबाट राष्ट्रिय किताबखानामा सरुवा हुनुभएकी सरिता अधिकारीले पनि अनलाइन प्रणाली प्रभावकारी भएको बताउनुभयो । “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कसैलाई चिनेको छैन”, उहाँले भन्नुभयो, “अनलाइनबाट निवेदन दिएको चार दिनमै मन्त्रालयबाट पत्र बनिसकेको छ भनेर फोन आयो ।” उहाँका अनुसार अनलाइन फाराममा सेवा गर्न जाने कार्यालय रोज्ने अवसर दिइएको हुन्छ । “मैले आफूलाई पायक पर्ने र दरबन्दी खाली भएको निजामती किताबखानामा सेवा गर्न फाराम भरँे, आफूले रोजेकै कार्यालयमा चार दिनमै सजिलै सरुवा भयो”, उहाँले भन्नुभयो ।
गत मङ्सिरदेखि मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ । मङ्सिरदेखि हालसम्म अनलाइनबाट सरुवा हुन एक हजार ४३१ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएकामध्ये२५३ जनाको रोजेकै कार्यालयमा सरुवा भइसकेको छ ।
“अहिले दुर्गम क्षेत्रका कर्मचारी सरुवा निवेदन बोकेर मन्त्रालयसम्म पुगिरहनु पर्दैन”, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले भन्नुभयो, “अहिले जता छ त्यहीँ बसेर रोजेकै कार्यालयमा सरुवा हुन्छ । मन्त्रालयका कर्मचारीले पनि अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नैमा समय खर्चनु नपर्ने भएको छ ।”
मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवा प्रणाली सुरु गरेपछि कर्मचारीलाई समय र पैसाको बचत भई कर्मचारीलाई मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य भएको छ । दुर्गम क्षेत्रका कर्मचारी सरुवाकै लागि भनेर काठमाडौंँ आएर होटलमा बस्ने खर्च एकातिर कम भएको छ भने भनसुनका लागि हुने दौडधुप र लाग्ने समयको बचतले सेवा प्रवाह प्रभावकारी भएको पोखरेलले बताउनुभयो ।
“अनलाइनबाट निवेदन दिँदा मन्त्रालयमा भीडभाड कम भएको, कसैको भनसुन नचल्ने तर सरुवा गर्नैपर्ने व्यक्तिको सजिलै सरुवा हुने गरेको छ ।” पोखरेलले भन्नुभयो, “मन्त्रालय सधैँ सरुवा प्रणालीमै अल्झिनु पर्दैन । मन्त्रालयको इमेलमा आएको निवेदनलाई महिनाको २५ देखि ३० गतेभित्र सरुवाको काम गरे पुग्ने भएको छ ।” पहिला एक महिना नै सरुवा प्रणालीमा खटिनुपर्ने तर अहिले महिनाको पाँच दिन मात्र सो काम गर्दा पर्याप्त हुने मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?