logo
२०८१ बैशाख ७ शुक्रवार



जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट

मुख्य समाचार |


जनकपुर–जयनगर रेल सेवा यसै महिनाबाट


भउचप्रसाद यादव

काठमाडौँ, असार १३ गते । जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत सरकारको मातहतमा रहेको भारतीय रेलवे कम्पनी कोन्कणबीच सम्झौता भएको जानकारी दिनुभयो ।
सो रेल सेवा असारभित्रमा नै सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको बताउँदै उहाँले रेल सञ्चालनका लागि अहिले जनशक्ति नेपालमा उपलब्ध हुन नसकेकोले रेल चालक (लोको पाइलट)सहित २६ जना जनशक्ति उपलब्ध गराउन भारतीय कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो ।
सम्झौताअनुसारको भारतीय जनशक्ति नेपाल आई जनकपुरमा नेपाली रेलवे कर्मचारीहरूलाई तालिम दिइरहेको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, प्रविधि र उपकरण उपलब्ध गराउने, मेसिन, ट्र्याक मर्मतलगायतका काम गर्ने तथा नेपाली रेलवे कर्मचारीलाई तालिम दिनका लागि नेपाल रेलवे कम्पनी र कोन्कणबीच एक वर्षका लागि सर्भिस कन्ट्याक्ट भएको
जानकारी दिनुभयो ।
सम्झौताअनुसार भारतीय कर्मचारीको तलब–भत्ता, दुवै रेलको सर्भिसिङ र मर्मत, रेलवे ट्र्याकको मर्मत, नेपाली कर्मचारीलाई प्रशिक्षण भारतीय पक्षले दिने छन् । त्यसैगरी रेल सञ्चालनका लागि सुरुको एक महिनाको डिजेल भारतीय पक्षले नै दिने र त्यसपछि नेपाल रेल कम्पनीले आफैँ खरिद गर्ने छ ।
सो सेवा उपलब्ध गराएबापत नेपालले भारतीय कम्पनीलाई ३५ करोड १२ लाख रुपियाँ उपलब्ध गराउने छ । नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले भन्नुभयो, “नेपाली प्राविधिकले रेल सञ्चालनसम्बन्धी सीप सिकिसकेपछि नेपाल रेलवे कम्पनीको खर्च घट्ने छ र नेपालमा नै जनशक्ति उत्पादन सुरु हुने छ । ” अहिले जनकपुरमा ७५ जना नेपाली प्राविधिकलाई भारतीयले तालिम दिइरहेका छन् ।

प्रक्रिया पूरा
रेल सेवा सञ्चालनका लागि कुनै पनि कानुनी अड्चन र समस्या नरहेको बताउँदै नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले सो रेल सेवा सञ्चालन गर्न नेपाल र भारतबीच तयार पारिएको ‘स्ट्यान्डर्स अपरेटिङ प्रोस्युडर’ (एसओपी)मा समेत भारतले सहमति जनाइसकेको जानकारी दिनुभयो । यसअघि भारतले सहमति जनाएको थिएन । रेल सञ्चालनसम्बन्धी कानुन अध्यादेशबाट आइसकेको हुनाले अब कुनै कानुनी प्रक्रिया बाँकी नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार रेलवे कम्पनीले रेल सञ्चालनका लागि टिकट र भाडादरसहितका कार्य पूरा गरिसकेका छन् । सो रेलवेको न्यूनतम टिकट १५ रुपियाँ (एक स्टेसनबाट अर्को स्टेसनसम्म), जनकपुरदेखि जयनगरसम्मको साधारण भाडा ७५ रुपियाँ र वातानुकूलित (एसी) कक्षको भाडा दर तीन सय रुपियाँ तोकिएको छ ।
उहाँले भन्नुभयो, “सुरुमा बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनपटक रेल सेवा सञ्चालन गरिने छ । सुरुमा एउटै रेल चलाइने छ । यात्रुको सङ्ख्या बढ्दै गएपछि दुइटै रेल सञ्चालनमा ल्याइने छ । ” तत्काल सो रेल सेवा नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३४ किलोमिटरमा
सञ्चालन हुनेछन् । सो खण्डमा आठवटा स्टेसन हुने छन् । सरकारले बर्दिवासदेखि भारतको जयनगरसम्म ६९ किलोमिटर रेल सञ्चालन गर्ने लक्ष्यसहित काम
गरिरहेको छ ।

कर्मचारीको व्यवस्थापन
नेपाल रेलवेका महाप्रबन्धक भट्टराईले सो रेल सञ्चालन गर्न तत्काल जनकपुर–जयनगर रेलवेका सेवानिवृत्त कर्मचारी ७५ जना, भारतीय कर्मचारी २६ जना भारतीय र प्रशासनका लागि १० जना कर्मचारीलाई करारमा नियुक्त गरिएको जानकारी दिनुभयो ।
सञ्चालनमा आउन लागेको सो रेल डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) प्रणालीको छ । एक पटकमा एक हजार तीन सय यात्रुले यात्रा गर्न सक्ने सो रेलको अधिकतम गति प्रतिघण्टा ७० देखि ८० किलोमिटर हुनेछ ।
सरकारले जीटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रियामार्फत ८४ करोड ६५ लाख ९५ हजार रुपियाँमा भारतसँग खरिद गरेको दुईवटा रेल गत वर्ष असोज २ गते जनकपुर रेलवे स्टेसनमा आइपुगेको थियो । अगाडि र पछाडि गुड्न सक्ने सो रेलहरू अहिले जनकपुरको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा पालले छोपेर राखिएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?