logo
२०८१ बैशाख ८ शनिवार



काँग्रेसको आसन्न महाधिवेशन : समीकरण बनाउँदै नेता

मुख्य समाचार |


काँग्रेसको आसन्न महाधिवेशन  : समीकरण बनाउँदै नेता


शेषकान्त पण्डित

काठमाडौँ, असार १३ गते । नेपाली काँग्रेसको १४औंँ महाधिवेशनको मिति नजिकिएसँगै पार्टीका नेताहरूको आन्तरिक समीकरण, समूह तथा गुट–उपगुटको क्रियाशील बढ्न थालेको छ ।
महाधिवेशनमा नेतृत्वमा स्थापित हुन पार्टीका शीर्ष नेताहरूले सुरु गरेको राजनीतिक सक्रियताले पुराना आन्तरिक गुट भत्कँदै नयाँ समीकरण निर्माणतिर अग्रसर हुन थालेको छ । पार्टी महाधिवेशन हुने निधो भएपछि सभापति शेरबहादुर देउवाले सभापतिमा पुनः दोहोरिने घोषणा गर्दै आन्तरिक भेटवार्ता तीव्र पारेसँगै अन्य नेताहरू गुट–उपगुटको चियाचमेनामा क्रियाशील हुन थालेका हुन् ।
सभापति देउवाको यसअघिको समूहबाट पार्टी उपसभापति विमलेन्द्र निधि र पाका नेता गोपालमान श्रेष्ठले सभापतिमा उम्मेदवारी दिने दाबी गरेपछि त्यस गुटमा पराकम्प जान थालेको छ तर नेता श्रेष्ठको उम्मेदवारी बार्गेनिङका रूपमा मात्रै हो भन्नेहरू पनि छन् ।
यो अवस्थामा निधिबाहेक देउवाले आफ्नो पुरानो समूहलाई एकढिक्का राख्न सक्ने अरू गुटकै सदस्य भन्ने गर्छन् । निधि बाहिर भए पनि पुरानालाई समेट्दा देउवाको पल्ला तल नझर्ने विश्लेषण भीमसेनदास प्रधानको छ । उहाँ अघिल्लो महाधिवेशनमा पहिलो चरणमा कृष्णप्रसाद सिटौला र दोस्रो चरणमा देउवा नेतृत्वलाई सभापति बनाउनेमा पर्नुहुन्छ ।
ऐतिहासिक ‘लिगेसी’ जोडिएका तीन जना नेता निरन्तर भेट्न थालेपछि त्यसको चर्चा पनि बढ्न थालेको छ । बीपी कोइरालाका पुत्र महामन्त्री डा. शशाङ्क कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र नेता महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिबीच शुक्रबार कोइराला निवास महाराजगञ्जमा भेटवार्ता भएको छ । यो एक सातामा दोस्रो भेट हो ।
यसअघि निधिको निवासमा यसै साता मात्रै तीन जना नेताका बीच पार्टीको महाधिवेशनलाई केन्द्रबिन्दुमा राखेर लञ्च मिटिङ भएको थियो ।

अब छिट्टै नेता सिंहको निवासमा जुट्ने सहमति गर्दै नेताहरूले सोमबारको छलफल टुङ्गो  लगाएका छन् ।
कोइराला, सिंह र निधिको भेटलाई चियाचमेनामा मात्र सीमित मानिएको छैन । पार्टीका महामन्त्रीसमेत रहनुभएका कोइरालाले आफूहरूले सहमतिमा उम्मेदवारी दिने सम्भावना बढेको जानकारी दिनुभयो ।
उहाँले भनेझैँ सहमतिमा उम्मेदवार तय गरे पार्टीभित्रको यसअघिको गुट–उपगुटको समीकरणमा व्यापक फेरबदल हुनसक्ने छ तर सोचेजस्तो राजनीति नहुने उहाँहरू सम्बद्ध काँग्रेस नेताहरू बताउँछन् ।
“तीन नेता एकै ठाउँमा आउनु राम्रो हो तर उम्मेदवारीमा भनेजस्तो सजिलो छैन,” एक जना नेताको टिप्पणी छ ।

पौडेल पुरानो खोज्दै
वरिष्ठ नेता रामचन्द्र पौडेल अहिले पार्टीभित्रका विपक्षी मोर्चा कस्न पुराना खोज्दै हुनुहुन्छ । उहाँले शुक्रबार नै राजधानीको एक पार्टी प्यालेसमा पाका नेताहरूको भेला आयोजना गर्नुभयो । भेलामा अर्जुननरसिंह केसी, डा. रामशरण महतलगायत पुरानो संस्थापन पक्षको राम्रै जमघट थियो तर त्यस समूहबाट सभापतिका बहुदाबेदारीले आगामी बाटो चुनौतीपूर्ण बनाएको युवा नेता बद्री पाण्डे बताउनुहुन्छ ।

तेस्रो धार कता ?
पार्टीको १३औँ महाधिवेशनमा देखिएको तेस्रो धारले यसपटक सक्रियता जनाएको छैन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति र युवा नेता गगन थापा महामन्त्री भएर महाधिवेशनमा आएको यो समूह पर्ख र हेरको अवस्था रहेको बताइएको छ । यो समूहको नेतृत्व गर्नुभएका सिटौलालाई आफ्नो समूहमा समाहित गर्न सभापति शेरबहादुर देउवा इच्छुक रहेको विश्लेषण काँग्रेसभित्र गरिए पनि मुख कसैले खोलेको छैन ।
काठमाडौँ काँग्रेसका पूर्वसभापति भीमसेनदास प्रधान आउँदो महाधिवेशनमा पनि नेता सिटौलाको तेस्रो धार निर्णायक हुने तर औपचारिक भेटवार्ता नभइसकेको बताउनुहुन्छ । “कोरोनाको चाप छ । क्रियाशील सदस्यताको पनि टुङ्गो लागेको छैन । अहिल्यै गुट–उपगुटको भेला गर्नु हतार हुन्छ,” उहाँले बढी मुख खोल्न जाँगर देखाउनुभएन । सोही समूहका उदाउँदो युवा नेता गगन थापाले अघिल्लो महाधिवेशनमा दिएको महामन्त्रीको उम्मेदवारीलाई समीकरण मिलाएर नवीकरण गर्न सक्ने तेस्रो धारका सदस्यको सङ्केत छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?