logo
२०८० चैत्र १५ बिहीवार



जलविद्युत्मा दस अर्बको क्षति

अर्थ |


जलविद्युत्मा दस अर्बको क्षति


गोपालचन्द्र सुवेदी

काठमाडौँ, असार ७ गते । गत साताको अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण करिब डेढ दर्जन निजी र केही नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजना प्रभावित भएका थिए । प्राधिकरण स्वामित्वका सबै आयोजना अहिले सुचारु रहे पनि निजी क्षेत्रका आयोजना सुचारु हुन सकेका छैनन् ।
अविरल वर्षा र बाढीका कारण मादी मस्र्याङ्दी र दोर्दी करिडोरमा रहेका आयोजनाहरू बढी प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको सङ्घ (इप्पान)का अनुसार डेढ दर्जन आयोजनाले प्रत्यक्ष क्षति बेहोरेका छन् । बन्दाबन्दी मौसमी प्रतिकूलताका कारण कतिपय आयोजना स्थलमा नै पुग्न सक्ने अवस्था नहुँदा वास्तविक क्षतिको विवरण लिन समस्या परेको इप्पानका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुभयो ।
बाढीले सञ्चालनमा रहेका आयोजनाका बाँध, विद्युत् गृहमा समेत क्षति पुगेका कारण त्यस्ता आयोजनाको विद्युत् उत्पादन नै ठप्प छ भने कतिपय प्रसारण लाइन टुट्दा विद्युत् उत्पादन नै स्थगित गर्नुपरेको छ । ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी, २५ मेगावाटको अपर मादी, १३ मेगावाटको सिम्ले र १२ मेगावाटको नागार्जुन जलविद्युत् अयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसबाहेक राष्ट्रिय प्रणालीमा नजोडिएका केही आयोजना पनि अहिले ठप्प छन् ।
बाढीकै कारण प्राधिकरण मातहतका काली गण्डकी ए, मस्र्याङ्दी, मध्य मस्र्याङ्दीलगायतका आयोजना केही समय बन्द रहे पनि अहिले उत्पादन सुचारु भइसकेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । “पानीको बहाव घटेपछि हाम्रा आयोजना पूर्ण क्षमतामै सञ्चालनमा फर्किएका छन् तर केही निजी प्रवद्र्धकका केही आयोजनाबाट विद्युत् आपूर्ति हुन सकिरहेको छैन,” उहाँले भन्नुभयो, “कतिपय मर्मतसम्भारका लागि लामो समय लाग्छ भन्नुभएको छ । ”
बाढीका कारण इन्द्रावती तेस्रो (७.५ मेगावाट), राधी (४ मेगावाट) मिदिम करापु (३ मेगावाट) ५ मेगावाटको घलेम्दी (५ मेगावाट), तल्लो मोदी (१० मेगावाट), १३ मेगावाटको मद्क्यु खोला (१३ मेगावाट)लगायतका साना आयोजना पनि बन्द हुन पुगेको जनाइएको छ ।
निर्माणाधीन कतिपय आयोजनासमेत प्रभावित हुँदा प्रवद्र्धकहरूले क्षति बेहोर्नु परेको आचार्यको भनाइ छ । “यसै वर्ष व्यावसायिक उत्पादनमा जाने तय भएकादेखि निर्माण सुरु गरेका आयोजनासमेत नराम्ररी प्रभावित भएका छन्,” उहाँले भन्नुभयो, “भौतिक संरचनाको क्षति त भयो नै, निर्माण अवधि लम्बिँदा अन्य खर्च बढने र करोडौँको आम्दानीसमेत गुम्ने अवस्था देखिएको छ । ”
उहाँका अनुसार गण्डकी र बागमती प्रदेशमा रहेका आयोजना अधिकांश प्रभावित भएका छन् । प्रसारण लाइन बिग्रँदा कैयौँ आयोजनाको बिजुली खेर गइरहेका कारण पनि क्षति भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?